०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मुसहर बस्तीमा अभावै अभाव

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् ।

चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम गर्न गएनन् भने घरमा चुल्हो बल्दैन् । एक घरमा ७ देखि १५ जनासम्म परिवार छन् । मुसहर बालबालिका विद्यालय जाँदैनन् । गरिबी र चेतनाको कमीले अभिभावकले पनि विद्यालय पठाउँदैनन् । कमाइ खाने एक टुक्रा जग्गा छैन । अर्काको खेतीमा ज्याला गर्नुपर्छ । बिहान ७ देखि बेलुकी ५ बजेसम्म काम गरेपछि पुरुषले ४ सय र महिलाले ३ सय रुपैयाँ कमाउँछन् ।

स्थानीय जुगल मुसहरले काम नभएको सिजनमा भोकै बस्नुपरेको पीडा सुनाए । ‘दिनभरि काम गरेको ज्यालाले बिहान बेलुका मात्र खानपुग्छ,’ अर्का स्थानीय इनरदेव माझी भन्छन्, ‘कमाउन नगएको बेला भोकै बस्नुपर्छ ।’ सबैजसो मुसहरबस्तीमा शौचालय छैन । बाहिर शौचादी गर्न जान्छन् । अधिकांशले पोलबाट चोरेर बत्ती बाल्छन् । बस्तीका वीरेन्द्र माझी ९मुसहर० का ८ छोराछोरी छन् । १५ वर्षको उमेरमा बिहे गरेर १७ वर्षको उमेरमा दोंगा ९बेहुली भित्र्याउने० गरेका वीरेन्द्र दम्पतीले त्यसपछिका १४ वर्षमा ८ सन्तान जन्माए । सात छोरी जन्माएर दुई वर्षअघि मात्रै छोरा जन्मेपछि श्रीमती शकुन्तलाले स्थायी परिवार नियोजन गरिन्  । यो समुदायका धेरैलाई परिवार नियोजनबारे थाहा छैन ।

७० घर परिवार रहेको बस्तीमा ३ वटामात्र धारा छ, जसले गर्दा खानेपानीको समस्या छ । बर्खाको बेलामा बस्ती डुब्ने जोखिम पनि छ । गुजरा ९ स्थित नदीको आडैमा रहेको अर्को मुसहर बस्ती छ । बस्ती छिचोलेर लाइनै विद्युत्को पोल लगिएको छ । पूर्वतिर उपल्लो जातिको बसोबास रहेको गाउँ राति झिलीमिली देखिन्छ । टाँसिएको मुसहरका घरहरू अन्धकार हुन्छन् । बस्तीमा १ सय १९ घर छन् । गुजराको जुगौलीया, लक्ष्मीपुरमा पनि मुसहर समुदायको बसोबास छ । स्थानीय तहले कुनै पनि सहयोग नगरेको उनीहरूको गुनासो छ । देशमा जस्तोसुकै परिवर्तन आए पनि मुसहर समुदायको जीवनशैली भने जस्ताको त्यस्तै रहेको अगुवा अकलु मुसहरले सुनाए । ‘विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सेवासुविधाबाट मुसहर समुदाय टाढा छ,’ उनले भने, ‘हामीलाई राज्यले कहिल्यै वास्ता गरेन् ।’ गुजरा नगरप्रमुख शन्तलाल चौधरीले मुसहर समुदायको जीवनस्तर उकास्न बजेट छुट्ट्याइएको दाबी गरे ।

रौतहटमा मुसहरका २ हजार ५० वटा घर छन् । १५ हजार ३ सय करिब उनीहरूको जनसंख्या छ । मधेसका दलितमाथि अध्ययन र अनुसन्धानमा संलग्न भोला पासवानले मुसहरहरूको जन्मदर औसतभन्दा उच्च रहेको जानकारी दिए । देशभर करिब चार लाख जनसंख्या भए पनि सय जना जतिले मात्रै एसईई उत्तीर्ण गरेको उनले बताए । पासवानका अनुसार कमजोर आर्थिक अवस्था, चरम गरिबी, शिक्षा र स्वास्थ्य अभावका कारण मुसहरहरू बग्रेल्ती सन्तान जन्माउँछन् ।

पूर्वी तराईमा बसोबास गर्ने पिछडिएको र मधेसी दलित समुदायमध्येको एक मुसहर हो । धेरैजसो मुसहरले आफ्नो थर सदा लेख्ने गर्छन् । माटो काट्ने, अन्नबाली रोप्ने र माछा मार्ने काम उनीहरूले गर्दै आएका छन् । मुसहर समुदाय जातीय विभेदको चपेटामा समेत परेको पासवानले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]