१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कथित समाजवादको भ्रमपूर्ण गोलचक्कर

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

मोहन तिम्सिना
आज-भोलि नेपालका दलहरूमा ‘समाजवादी’ बन्ने होडबाजी चलिरहेको छ । कांग्रेस र कम्युनिष्ट पुरानै ‘समाजवादी’ परिहाले । अहिले ‘पहिचानवादी’ पनि समाजवादी भएका छन् । नयाँ खुलेका कम्युनिष्ट दलहरू पनि यही होडबाजीमा सामेल छन् ।

आफ्नो सिद्धान्तलाई थप ‘औचित्यपूर्ण’ बनाउन समाजवाद शब्दका अगाडि अनेक फुर्को जोड्न थालिएको छ । कोही वैज्ञानिक समाजवादी, कोही प्रजातान्त्रिक समाजवादी, कोही समुन्नत समाजवादी, कोही पर्यावरणीय समाजवादी आदि ।

तर रोचक कुरा के हो भने, वैज्ञानिक समाजवाद, समुन्नत समाजवाद, प्रजातान्त्रिक समाजवाद वा पर्यावरणीय समाजवाद जे भनौं-यो ‘तातो हिउँ’ भने जस्तै कुरा हो । जसरी हिउँ तातो हुन सम्भव छैन, त्यसरी नै समाजवाद वैज्ञानिक, समुन्नत, प्रजातान्त्रिक र प्राकृतिक हुन सम्भव छैन ।

        लेखक : मोहन तिम्सिना

समाजवादी विचारधारा विज्ञानको शास्त्रीय युगको चेतना हो । आजको आधुनिक विज्ञानको कसीमा हेर्दा यो कुनै सिद्धान्त नै होइन वा यो अप्राकृतिक, अवैज्ञानिक, अलोकतान्त्रिक र विपन्न धारणा हो, जसलाई लागू गर्ने प्रयत्न गर्दा क्षणिक सामाजिक उपद्रव त पैदा हुन्छ; दिगो र समुन्नत समाज कहिल्यै बन्दैन ।

आज विज्ञानमै क्रान्ति भइसकेको छ । विज्ञानका सबै विधामा ‘पाराडाइम सिफ्ट’ भइसकेको छ । जसका कारण समाजवाद मात्र होइन, शास्त्रीय विज्ञानको जगमा बनेका उदारवाद, राष्ट्रवाद, कल्याणवाद र यिनीहरूलाई सन्तुलित गर्नुपर्छ भन्ने सबैखाले विचारधाराहरूको वैज्ञानिक खण्डन भइसकेको छ ।

तर हाम्रा नेताहरूले यो कुरो बुझेका छैनन् । हाम्रा नेताहरूले विज्ञानको क्रान्ति नै बुझेका छैनन् । त्यसैले उहाँहरूलाई लागिरहेको छ- ‘समाजवाद शब्दमा फुर्को जोडेर हामीले गतिलो काम गर्‍यौं । अब राजनीतिमा नयाँ यात्रा प्रारम्भ भयो । समाजवाद शब्दकै सहारामा अब गतिलो राजनीति गरिन्छ ।’

आजको विज्ञान, शास्त्रीय चेतनामै सीमित हुन्थ्यो भने यो कुरो स्वाभाविक हुन्थ्यो । तर विगत सय वर्ष यता मनुष्य जातिको चेतनाले निर्णायक फड्को मारिसकेको छ । यो बेला पनि तथाकथित समाजवादी गीत गाउँदै हिंड्नु भनेको रुढीग्रस्त र पछौटेपन बाहेक केही होइन । यस्तो बुद्धिले केवल अज्ञानता र आडम्बरको मायाजालमा फसाउँछ । व्यर्थमा जीवनको उर्वर समय बर्बाद बनाउँछ ।

रोचक कुरा के हो भने; वैज्ञानिक समाजवाद, समुन्नत समाजवाद, प्रजातान्त्रिक समाजवाद, पर्यावरणीय समाजवाद जे भनौं- यो ‘तातो हिउँ’ भने जस्तै कुरा हो । जसरी हिउँ तातो हुन सम्भव छैन, त्यसरी नै समाजवाद वैज्ञानिक, समुन्नत, प्रजातान्त्रिक र प्राकृतिक हुन सम्भव छैन ।
यस सम्बन्धमा अर्को रोचक कुरा पनि छ । समाजवाद र व्यक्तिवाद (उदारवाद) परस्पर विपरीत धारणा नै होइनन् । उदारवाद जति गलत हो, समाजवाद पनि त्यति नै गलत हो । यो कुरो पनि हाम्रा नेताहरूले बुझेका छैनन् । परिणामतः उदारवादलाई गाली गरिरहेका छन् र समाजवादको मूर्खतापूर्ण महिमामण्डन गरिरहेका छन् ।

वास्तविकतामा उदारवाद र समाजवाद एउटै रूखका दुई हाँगा हुन् । त्यसैले, समाजवादको आलोचना गर्दा उदारवादको पनि आलोचना हुन्छ । उदारवादको आलोचना गर्दा समाजवादको पनि हुन्छ । जुनसुकै फुर्को जोडौं, उदारवाद वा समाजवाद अवैज्ञानिक सोचको उपज हो ।

विभाजनमुखी दृष्टिकोण

पदावलीका दृष्टिले व्यक्तिवाद शब्द जति गलत हो, समाजवाद शब्द पनि त्यति नै गलत हो । व्यक्तिवाद शब्दको अर्थ हो, ‘व्यक्ति’ र ‘समाज’ मध्ये व्यक्तिको मूल्य उच्च र समाजको मूल्य गौण छ । समाजवाद शब्दको अर्थ हो- समाजको मूल्य उच्च र व्यक्तिको मूल्य गौण छ ।

यो मामिलामा दुवैथरी चिन्तकहरूले व्यक्ति र समाजलाई आपसमा टुक्रा पारेका छन् । व्यक्ति र समाजको तुलना गरेका छन् र व्यक्ति वा समाजमध्ये कुनै एकलाई उच्च महत्व दिने प्रयास गरेका छन् । जुन व्यक्ति र समाजको प्राकृतिक स्वभावको विपरीत छ ।

अठारौं र उन्नाइसौं शताब्दीका पाश्चात्य चिन्तकहरूमा एउटा लहर चलेको थियो- उनीहरू सामाजिक विषयलाई पनि तत्कालीन भौतिकशास्त्रीय नियमको अधीनमा राखेर हेर्दथे । अर्थात् समाजलाई यन्त्रको बिम्वमा हेर्दथे, समाजमा पनि आधारभूत इकाइको खोजी गर्दथे । वैज्ञानिक निर्धारणवादको सिद्धान्त समाजमा पनि लागू हुने विश्वास गर्दथे र समाजलाई बोधगम्य विषय मान्दथे ।

यही पद्धति पक्रिएर उदारवादी चिन्तकहरू हब्स, लक र रुसोले व्यक्ति केन्द्रित विचारधारा विकास गरे । उनीहरूले भने- ‘व्यक्ति’ पहिले जन्मियो, अनि त्यसपछि व्यक्तिहरूले आपसी सम्झौताद्वारा समाज (राज्य) जन्माएका हुन् । त्यसैले समाज (राज्य) जहिले पनि व्यक्तिको अधीनमा हुनुपर्दछ । समाजभन्दा व्यक्तिको मूल्य उच्च हुनुपर्दछ ।

समाजवादी चिन्तक कार्ल मार्क्सले पनि ‘पहिले व्यक्ति अनि त्यसपछि समाज (राज्य) जन्मिएको’ कुरा स्वीकार गरे । तर उनले सम्झौताद्वारा होइन संघर्षद्वारा समाज (राज्य) जन्मिएको कुरा गरे । साथै व्यक्तिभन्दा समुदाय/राज्यको मूल्य उच्च हुनुपर्ने कुरा गरे ।

उनको तर्क अनुसार निजी धन नहुन्जेल ‘व्यक्तिहरू’ थिए, राज्य थिएन । जुन दिन निजी धन जन्मियो, त्यसपछि निजी धनलाई संरक्षण गर्न वा गरीबमाथि शासन गर्न धनीले बलजफ्ती राज्य जन्माए । त्यसैले निजी धन नै सारा शोषणको कारण हो ।

मार्क्सको बुझाइमा निजी धन नष्ट गरेर सारा धनमाथि सामाजिक स्वामित्व कायम गर्दा मात्र यो अवस्थाको अन्त्य हुन्छ । त्यसका लागि एउटै उपाय हो, व्यक्ति भन्दा समाज (राज्य÷समुदाय) को मूल्य उच्च हुने सोच र कार्यक्रम । यसैलाई उनले समाजवाद नाम दिए ।

उदारवादी र समाजवादी दुवैखाले चिन्तकका माथिका प्रस्थापना अप्राकृतिक र यान्त्रिक छन् । उनीहरूले व्यक्ति, समाज र राज्यलाई अलग-थलग देखाउने जुन प्रयत्न गरेका छन् यो नै त्रुटिपूर्ण छ । साथै निजी धन र राज्यविहीन आदिम समाजको कल्पना पनि त्रुटिपूर्ण छ ।

व्यक्ति भन्नु नै मन, बुद्धि र अहंकारसहितको प्राणी हो । बाँदरमा यी तीनै चिज हुँदैन । बाँदर, व्यक्तिमा रूपान्तरण हुनु भनेको नियम, सम्पत्ति, स्वामित्व, प्रविधि आदि चेतना र क्षमता भएको प्राणी पैदा हुनु हो । यसको अर्थ हो, जुन दिन बाँदरबाट ‘व्यक्ति’ जन्मियो, तत्क्षण समाज, वर्ग र राज्य संयुक्त हिसाबले जन्मियो । अर्थात् व्यक्तिको जन्मसँगै आदिम राज्य (राज्यको भ्रूण) संयुक्त जन्मियो । राज्यविहीन ‘आदिम साम्यवाद’ कहिल्यै पैदा भएन ।

तर, स्मरणीय कुरा यो छ कि बाँदरबाट ‘व्यक्ति’ बन्ने प्रक्रियाको कुन बिन्दुमा यस्तो परिघटना पैदा भयो ? कार्य-कारण सम्बन्धको विश्लेषण गरेर वा रासायनिक विश्लेषण गरेर यसको ‘स्थान-समय’ बताउन असम्भव छ ।

आधुनिक विज्ञान भन्छ- बाँदरबाट मानिस बनेको विषय मात्र होइन, यस पृथ्वीमा मात्रात्मक विकासको कुन बिन्दुमा ‘निर्जीव’ बाट ‘सजीव’ पैदा भयो भन्ने विषयको ठोस स्थान-समय देखाउन सकिंदैन । किनकि यस्ता परिघटनाहरू ‘स्थानीय परिघटना’ नै होइनन्, ‘ब्रम्हाण्डीय परिघटना’ हुन् । अर्थात् यी निरपेक्ष परिघटना हुन् ।

हाम्रा ‘वैज्ञानिक समाजवादी’हरू प्रविधि बदलिएको मात्र कुरा गर्दछन्, विज्ञान बदलिएको कुरा गर्दैनन् । उनीहरूले विज्ञान बदलिएको तथ्य ठम्याउनै सकेका छैनन् । त्यसैले उनीहरूले जे विषयमा जोड दिनुपर्ने हो, त्यो छुटाइरहेका छन् । जे विषय त्यति महत्वको होइन, त्यसको बढाइँचढाइ गरिरहेका छन् ।
हामी यति भन्न सक्छौं; व्यक्ति, समाज र राज्य अलगथलग जन्मिएको होइन, बरु संयुक्त जन्मिएको हो । जुन दिन बाँदरबाट व्यक्ति (मनुष्य) जन्मियो त्यही दिन राज्य पनि जन्मियो । वा जुन दिन राज्य जन्मियो, त्यही दिन व्यक्ति पनि जन्मियो ।

सारमा व्यक्ति विनाको समाज (राज्य) र समाज विनाको व्यक्ति सम्भव छैन । व्यक्ति र राज्य परिपूरक हुन् । व्यक्ति, समाज र राज्यलाई अलगथलग देखाउने र यिनीहरूमध्ये कुनै एकलाई उच्च महत्व दिनुपर्दछ भन्ने उदारवादी वा समाजवादी पदावली यसकारण गलत छ ।

भविष्यको गणितीय प्रक्षेपण

उदारवादी र समाजवादी दुवै खाले चिन्तकले समाज विकासको प्रक्रिया ‘फूलको माला उने जस्तै’ एकलरेखीय हुने बताएका छन् । फरक यति हो, उदारवादीहरूले यसलाई तीन चरणमा देखाएका छन्, समाजवादीले ६ चरण देखाएका छन् ।

मार्क्सको भनाइ अनुसार समाज विकासको निश्चित चरणमा समाजवाद आउँछ । क्रमशः आदिम साम्यवाद, दास युग, सामन्ती युग, पूँजीवादी युगपछि समाजवादी युग आउँछ ।

मार्क्सले न्यूटनको ‘गतिका तीन नियम’ समाजमा पनि लागू हुन्छ भनेर देखाउने प्रयत्न गरेका छन् । समाजवादको व्याख्या गर्दा सर्वहारालाई ‘क्रिया गर्ने शक्ति’ र पूँजीवादी राज्यलाई ‘प्रतिक्रिया गर्ने शक्ति’ का रूपमा देखाएका छन् ।

मार्क्सको व्याख्या अनुसार पूँजीवादी समाजको सर्वहारा वर्ग जब संगठित हुन्छ तब यसको वरिपरि निश्चित शक्ति सिर्जना हुन्छ । जति सर्वहारा वर्गको शक्ति बढ्दै जान्छ, त्यही अनुपातमा पूँजीवादी राज्यको शक्ति घट्दै जान्छ । अन्ततः एउटा यस्तो समय आउँछ, सर्वहारा वर्गको शक्ति प्रबल हुन्छ र पूँजीवादी राज्यको शक्ति क्षीण हुन्छ, तब सर्वहारा वर्गले सत्ता कब्जा गर्दछ । त्यो सत्ता समाजवादी हुन्छ ।

यसरी मार्क्सले न्यूटनका गतिका नियमलाई आधार मानेर समाजको गति गणितीय हुन्छ भनेर देखाउने प्रयत्न गरेका छन् । तर न्यूटनका गतिका नियम स्थूल प्रकृतिकै लागि अधुरा थिए । त्यहाँ गतिमा घर्षणको प्रभावबारे विचार गरिएको थिएन । फलतः त्यसले स्थूल पदार्थमै पनि पूरा काम गर्न सक्दैनथ्यो । त्यसैले ती नियममाथि न्यूटनकै समयमा आलोचना भएको थियो । आधुनिक विज्ञान भन्छ- पदार्थको सूक्ष्म तहमा, जीवनमा र समाजमा न्युटनीय नियम असान्दर्भिक छन् ।

तर यस्ता नियमलाई नै पूरा सत्य मानेर मार्क्सले समाजवाद÷साम्यवादको यान्त्रिक र अवैज्ञानिक परिकल्पना गरे । मार्क्सका हकमा यो स्वाभाविक मान्न सकिन्छ । किनकि उनको समयमा विज्ञानका नाममा तिनै न्यूटनका नियम नै उपलब्ध थिए ।

तर आजको आधुनिक विज्ञानको जमानामा पनि ती शास्त्रीय नियममा आधारित समाजवादको वकालत गरिरहनु भनेको अज्ञानता र रुढीग्रस्तताको परिचय दिनु मात्र हो ।

निजी धनमाथिको पूर्वाग्रह

आदिम समाजमा ‘व्यक्ति’ मात्र थिए, निजी धन थिएन । जुन दिन निजी धनको चेतना आयो, त्यो बेलादेखि मानिसले मानिसमाथि शोषण गर्न थाल्यो । मानिसले मानिसमाथि गर्ने शोषणको अन्त्य गर्न निजी धन मास्नुपर्छ । व्यक्तिवादी समाजलाई समाजवादीमा बदल्नुपर्छ । यो मार्क्सका सिद्धान्तको अर्को आधारभूत प्रस्थापना हो ।

झट्ट हेर्दा मार्क्सको यो निष्कर्ष ठीकै हो जस्तो लाग्छ । तर यो बिल्कुलै त्रुटिपूर्ण निष्कर्ष हो, जसका कारण उनको समाजवादी सिद्धान्त पनि त्रुटिपूर्ण हुनगयो ।आदिम समाजमा ‘व्यक्ति’ मात्र थिए, निजी धन थिएन भन्ने मार्क्सको प्रस्थापना नै गलत छ । वास्तविकतामा सम्पत्तिको चेतना बेगर व्यक्तिको जन्म हुँदैन ।

बाँदरबाट व्यक्ति जन्मनु भनेकै सम्पत्तिको चेतनासहितको प्राणी जन्मनु हो । व्यक्तिका अनेकन् पहिचान चिन्हमध्ये सम्पत्तिको चेतना हुनु पनि एक हो । त्यसैले साँचो कुरा त यो हो कि जुन दिन ‘व्यक्ति’ जन्मियो, सम्पत्तिको चेतना समाज वा राज्य संयुक्त जन्मियो ।

दोस्रो कुरा, निजी धन र सामूहिक धन ‘विपरीत तत्व’ होइनन्, परिपूरक हुन् । अर्थात्, सामूहिक धनको चेतना नभई निजी धन जन्मिंदैन वा निजी धनको चेतना नभई सामूहिक धन पनि जन्मिंदैन । व्यक्तिको जन्मसँगै निजी र सामूहिक दुवै धन संयुक्त जन्मिए । जुन दिन यो धर्तीबाट व्यक्ति (मनुष्य जाति) लोप हुन्छ, तब मात्र दुवै धन संयुक्त लोप हुन्छन् । त्यो बाहेक अरू कुनै अवस्थामा यी दुई खाले धनमध्ये कुनै एकले अर्कोको निषेध गर्न सक्दैन ।

राज्यको सवालमा पनि कुरा यही हो । जबसम्म ‘व्यक्ति’ रहन्छ, तबसम्म राज्य रहन्छ । व्यक्ति नहुँदा मात्र राज्य हराउँछ । राज्य नहुँदा व्यक्ति पनि हराउँछ । त्यसैले व्यक्ति, सम्पत्ति र राज्य परिपूरक तत्व हुन् ।

तेस्रो कुरा- निजी धन नै शोषणको आधार थिएन । किनकि सामूहिक धन जति प्राकृतिक थियो, निजी धन पनि त्यति नै प्राकृतिक । मात्र श्रमचोर निजी धन शोषणको आधार थियो ।

तर मार्क्सको पद्धति यान्त्रिक भएकाले उनले सम्पत्तिका सम्बन्धमा पनि गलत निष्कर्ष निकाले । यही गलत प्रस्थापनाले मार्क्सलाई निम्न गलत निष्कर्षमा पुर्‍यायो-पहिलो गल्ती यो भयो कि उनले ‘व्यक्ति’ र निजी धनलाई अलगथलग पार्नुपर्छ, अर्थात् वर्ग मास्नुपर्छ भने । दोस्रो, सामूहिक धनले निजी धनलाई निषेध गर्नुपर्छ भने र तेस्रो राज्यलाई नै निषेध गर्नुपर्छ भने । जुन अप्राकृतिक कुरा थियो ।

आधुनिक मनोविज्ञानले भन्छ- मानिस शरीर र सामाजिक चेतनाका हिसाबले समान छ तर गुणवत्ताका हिसाबले भिन्न । जब मानिसको बीचमा गुणगत भिन्नता हुन्छ, तब वर्ग जहिल्यै रहिरहन्छ । राजनीतिको काम वर्ग मास्ने होइन, वर्गहरूबीच शोषणको अवस्था हटाएर सहकार्यको अवस्थामा रूपान्तरण गर्ने हो ।

राज्यलाई असल व्यवस्थापकमा रूपान्तरण गर्ने हो । तर मार्क्स वर्ग र राज्य मास्ने अप्राकृतिक कुरा गर्दछन् । त्यसैले उनको समाजवादी कार्यक्रम अप्राकृतिक र अवैज्ञानिक छ ।

आवश्यकता र स्वतन्त्रताको विभाजन

मार्क्सले समाजवाद स्थापना भएपछि ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा फड्को हान्ने’ आधार तयार हुने बताएका छन् । अर्थात् उनी मनुष्यका लागि ‘आवश्यकता’ मुख्य हो भन्ने पक्षमा छन् । उदारवादीहरू भने ‘स्वतन्त्रता’ मुख्य हो भन्ने पक्षमा छन् । यो विषयमा उदारवादीको मान्यता जति गलत हो, समाजवादी मान्यता त्यति नै गलत हो ।

व्यक्ति भनेकै आवश्यकता र स्वतन्त्रता दुवैको बोध गर्ने प्राणी हो । पशुमा यी दुवै बोध हुँदैन । त्यसैले पशुले संग्रह पनि गर्दैन । अहंकार पनि देखाउँदैन । जुन दिन बाँदरबाट ‘व्यक्ति’ पैदा भयो, आवश्यकता र स्वतन्त्रता बोध संयुक्त जन्मियो ।

आवश्यकता र स्वतन्त्रता विपरीत तत्व वा अलगथलग तत्व नै होइनन् । स्वतन्त्रता भएन भने व्यक्ति, व्यक्ति रहँदैन । आवश्यकता पूरा भएन भने पनि व्यक्ति बाँच्न सक्दैन । त्यसैले आवश्यकता र स्वतन्त्रता बोधको संयुक्त अभिव्यक्ति नै ‘व्यक्ति’ हो । यसमध्ये कुनै एक प्रधान र अर्को गौण हुनै सक्दैन ।

यदि हुन सक्थ्यो भने आज उदारवादीहरूको ‘स्वतन्त्रता’ ले व्यक्तिलाई समृद्ध पारेको देखिनुपथ्र्यो, वा भौतिक आवश्यकता पूरा भएका व्यक्तिहरू आनन्दित र स्वतन्त्र भएको देखिनुपथ्र्यो । तर यस्तो त देखिएन ।

यसको अर्थ हो, राजनीतिमा ‘आवश्यकता’ र ‘स्वतन्त्रता’ विभाजित हुने वा प्रधान र गौण हुने चिज नै होइनन् । यिनीहरूले शुरुआतदेखि नै संयुक्त यात्रा गर्दछन् । तर मार्क्स यसको विपरीत कुरा गर्दछन् । त्यसैले उनको समाजवादी कार्यक्रमको दिशा गलत छ ।

वास्तविकतामा उदारवाद र समाजवाद एउटै रूखका दुई हाँगा हुन् । त्यसैले, समाजवादको आलोचना गर्दा उदारवादको पनि आलोचना हुन्छ । उदारवादको आलोचना गर्दा समाजवादको पनि हुन्छ । जुनसुकै फुर्को जोडौं, उदारवाद वा समाजवाद अवैज्ञानिक सोचको उपज हो ।
भ्रमको खण्डन

आफूलाई ‘वैज्ञानिक समाजवादी’ भन्नेहरू भनिरहेका छन्, मार्क्सको सिद्धान्त सही थियो, त्यसलाई लागू गर्दा स्टालिन र माओले चाहिं गल्ती गरेका हुन् । मार्क्सले सम्पत्ति समुदायको मातहतमा राख्नुपर्छ भनेका थिए, तर राज्यको मातहतमा राखियो । त्यसैले विगतमा कम्युनिष्ट राज्यहरू निरंकुश भए र ढले । सम्पत्ति समुदायको मातहतमा राखेपछि मार्क्सकै सिद्धान्तले काम गर्छ । अर्थात् गल्ती सच्चिन्छ ।

यो एकदमै कच्चा कुरा हो । यो धारणाले व्यक्ति (निजी धन) लाई निषेध गर्ने मार्क्सको अप्राकृतिक प्रस्थापनालाई त पक्रिएकै छ । अर्कोतिर समुदाय र राज्यलाई फरक देखाउने केटाकेटी कुरा गरेको छ । समुदाय भनेकै राज्यको स्थानीय रूप हो भने राज्य समुदायको केन्द्रीकृत रूप । राज्य बेगरको समुदाय र समुदाय बेगर राज्य पनि हुँदैन ।

सम्पत्ति समुदायको मातहतमा राख्ने भनेको प्रकारान्तरले त्यो राज्यकै मातहतमा राख्ने भनेको हो । सम्पत्ति जस्तोसुकै समुदायमा राखे पनि त्यहाँ व्यवस्थापक र उपभोक्ता गरेर दुई खालको पद वा तहबद्धता त सिर्जना हुन्छ । अर्थात् कथित समाजवादमा पनि पद हुने र नहुने, ठूलो पद र सानो पद, पार्टी सदस्य र गैरपार्टी सदस्य आदिको नयाँ वर्ग सिर्जना हुन्छ ।

सूक्ष्म अर्थमा त्यही नै शासक शासित सम्बन्ध हो । जसो गरे पनि वर्ग र राज्य आउँछ । मूल कुरा मार्क्सको प्रस्थापनामै समस्या थियो । त्यसकारण विगतका ‘समाजवादी’ सत्ताहरू ढलेका थिए । सम्पत्ति समुदायको अधीनमा राख्नुपर्छ भन्ने कुरा आफैंमा भ्रम हो । यस्ता कुराले आजको राजनीतिक संकटलाई सम्बोधन गर्न सक्दैन ।

यो समूहले भन्दै गरेको अर्को कुरा ‘प्रविधि उत्पादक शक्ति भयो, अब समाजवादी क्रान्तिमा प्रविधि मुख्य भयो’ भन्ने छ । हाल उत्पादन प्रक्रियामा प्रविधिको भूमिका बढेको कुरा सही हो । तर प्रविधि कहिल्यै पनि ‘मानव तत्व’ भन्दा महत्वपूर्ण हुन सक्दैन ।

मानव जाति (व्यक्ति) र प्रविधि पनि अन्तरसम्बन्धित र परिपूरक विषय हुन् । पशुसँग प्रविधि क्षमता हुँदैन । जुन दिन बाँदरबाट ‘व्यक्ति’ जन्मियो, त्यही दिन प्रविधि पनि संयुक्त जन्मियो । प्रविधि छ त व्यक्ति छ, व्यक्ति छ त प्रविधि छ । यिनीहरू कुनै मुख्य र कुनै सहायक हुनै सक्दैनन् ।

जतिसुकै चामत्कारिक प्रविधि आओस्, मानवीय भूमिका र प्रविधिको भूमिका बराबर नै हो । यदि कसैले प्रविधि मुख्य भयो भन्छ भने त्यो ‘प्राविधिक निर्धारणवादी’ कुरा हो । जुन अप्राकृतिक र अवैज्ञानिक कुरा हो ।

दोस्रो कुरा प्रविधि आफैंमा सही र गलत हुँदैन । प्रविधि हतियार हो । प्रविधि मात्र बदलिंदैमा राजनीतिका आधारभूत नियम बदलिंदैनन् । विज्ञान बदलियो भने चाहिं राजनीतिका नियम बदलिन्छन् । हो, अहिले विज्ञान बदलिएको छ । विज्ञानको क्रान्तिले चिन्तन वा विश्व दृष्टिकोण नै बदलेको छ । विज्ञानको क्रान्तिले राजनीतिका नियम बदल्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

तर हाम्रा ‘वैज्ञानिक समाजवादी’हरू प्रविधि बदलिएको मात्र कुरा गर्दछन्, विज्ञान बदलिएको कुरा गर्दैनन् । उनीहरूले विज्ञान बदलिएको तथ्य ठम्याउनै सकेका छैनन् । त्यसैले उनीहरूले जे विषयमा जोड दिनुपर्ने हो, त्यो छुटाइरहेका छन् । जे विषय त्यति महत्वको होइन, त्यसको बढाइँचढाइ गरिरहेका छन् ।

अब कुरा गरौं- ‘समुन्नत समाजवादी’ को । यिनीहरू आफूलाई ‘मार्क्सवादी-समाजवादी’ होइन, नयाँ प्रकारको समाजवादी भएको दावी गर्दछन् । तर यिनीहरूको पद्धति र धारणा पनि परम्परागत उदारवादी/समाजवादीहरूको भन्दा भिन्न छैन ।

उनीहरूको भनाइ अनुसार मार्क्सको आर्थिक सिद्धान्त र उदारवादीहरूको राजनीतिक सिद्धान्त अपर्याप्त छ । मार्क्सको आर्थिक सिद्धान्तबाट निजी धनको पूर्वाग्रह हटाउनुपर्छ र उदारवादीहरूको राजनीतिक सिद्धान्तमा ‘सहभागितामूलक लोकतन्त्र’ थपेर दुवैलाई जोड्दा ‘समुन्नत समाजवाद’ हुन्छ ।

यो समूहले उदारवादी र समाजवादीहरूको ‘सामाजिक प्रविधि’ मा भएको दोषलाई त बोध गरेको छ तर ‘अवधारणा’ र ‘जीवन मूल्य’ मा भएको दोषलाई ठम्याउन सकेका छैनन् । यही कारण उनीहरू कथित समाजवादको भ्रममै चक्कर काटिरहेका छन् ।

अवधारणा भन्नाले इतिहास र भविष्यको प्रक्षेपण र त्यसको पद्धति हो । यस विषयमा उदारवादी र समाजवादीको दोषबारे माथि संक्षिप्त चर्चा गरिसकियो । यो कुरा समुन्नत समाजवादीहरूमा पनि लागू हुन्छ ।

जीवन मूल्य भन्नाले राजनीतिमा के विषयलाई साधन र केलाई लक्ष्य मान्ने भन्ने हो । यो विषयमा उदारवादी र समाजवादीहरूको धारणा मानवीय स्वभावको ठीक उल्टो छ । हुनुपर्ने चाहिं भौतिक सुख (धन सुख, पद सुख र शरीर सुख) लाई साधन र आत्मिक सुखलाई लक्ष्य मान्ने हो । तर यिनीहरू भौतिक सुखलाई नै लक्ष्य मान्दछन् ।

यो धारणालाई समुन्नत समाजवादीहरूले पनि पछ्याइरहेका छन् । जब भौतिक सुखलाई राजनीतिको लक्ष्य मानिन्छ, तब आवश्यकता र इच्छा (महत्वाकांक्षा) बीच भेद गर्न असम्भव हुन्छ । तब राज्य र व्यक्ति, दुवैलाई अनावश्यक महत्वाकांक्षी बन्ने बाटो खुल्छ । तब समाजमा धनमोह, पदमोह, प्रकृतिको दोहन र असीमित आर्थिक वृद्धि जस्ता पागलपनयुक्त धारणाले स्थान पाउँछन् । राज्य र राजनीतिको दिशा अप्राकृतिक र उल्टा हुन जान्छ ।

सारमा, जब राजनीतिको ‘अवधारणा’ र ‘जीवनमूल्य’ नै गलत हुन्छ, तब ‘सामाजिक प्रविधि’ मात्रैले सही काम गर्न सक्ने कुरै हुँदैन । अर्थात्, ‘सामाजिक प्रविधि’ सच्चिंदैमा राजनीतिको दिशा सच्चिंदैन । बरु पुरानो ‘अवधारणा’ र ‘जीवन मूल्य’ ले नयाँ ‘सामाजिक प्रविधि’लाई पनि आफू अनुकूल बदलिदिन्छ ।

तर यो कुरो ‘समुन्नत समाजवादी’ हरूले बुझेका छैनन् । त्यसैले उनीहरू राजनीतिमा अझै शास्त्रीय ‘अवधारणा र ‘जीवनमूल्य’ कै वकालत गरिरहेका छन् । समाजवाद जस्तो गलत र भ्रमपूर्ण पदावलीप्रति मोह राखिरहेका छन् ।

यसरी जे फुर्को जोडे पनि उदारवाद वा समाजवाद कहिल्यै पनि वैज्ञानिक, समुन्नत, प्रजातान्त्रिक र प्राकृतिक विचारधारा हुन सक्दैनन् । आजको जमानामा समाजवादी हुनु भनेको कि त अज्ञानता कि त आडम्बरको मायाजालमा फस्नु मात्रै हो ।

वैज्ञानिक, समुन्नत, प्रजातान्त्रिक र प्राकृतिक समाज व्यवस्थाका लागि त आधुनिक विज्ञानको क्रान्ति बुझ्न जरूरी छ । राजनीतिमा ‘पाराडाइम सिफ्ट’ को अर्थ बुझ्न जरूरी छ । जैविक दर्शन, जैविक विचारधारा र जैविक राजनीतिका माध्यमबाट स्थापना हुनसक्ने ‘जैविक समाज’ को अवधारणा बुझ्न जरूरी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]