१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी

Logo
प्रकाशित शुक्रबार, मंसिर १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ मङ्सिर । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ ।

प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् ।

मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन् । जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जितेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी कुल आठ सिट जितेको छ ।

त्यसैगरी एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ । जसमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट र जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा छ गरी १५ जितेको छ ।

प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात सिट सङ्ख्या छ । सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको जनमत पार्टीसँग प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिट सङ्ख्या छ भने प्रदेशमा छ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन आठ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ । तर हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच सत्ता गठबन्धनमा आउनका लागि सहमति भएसँगै सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढेको छ ।

यसैबीच राजनीतिक दलहरुबीच को मुख्यमन्त्री हुने भन्नेमा पनि चर्चा सुरु भएको छ । नेकपा (एमाले)का मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेल पहिलो दलका हिसाबले आफ्नो पार्टीको सरकार बन्नुपर्ने बताउनुहुन्छ । एमालेभित्र मुख्यमन्त्रीका लागि डा सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ ।

त्यस्तै, नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताउनुभयो । यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने गुप्ताको दाबी छ । यद्यपि कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ ।

यस्तै, जनता समाजवादी पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]