०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

विद्रोही स्वभावका प्रतिमूर्ति राम अशिष सर !

Logo
रामरिझन यादव प्रकाशित आइतबार, पुष ०८, २०८०

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! यसलाई अर्को ढंगले पनि अथ्र्याउन सकिन्छ । अंग्रेजीमा रिल्याक्सड वा केयरफ्री पनि भनिन्छ । अस्सीको दशकमा भारतीय अभिनेता अनिल कपूरले अभिनय गरेको फिल्म हो बिन्दास ! जसमाउनले खेलेको भूमिकालाई दाँज्ने हो भने शिक्षक, आध्यापक,सामाजिक व्यक्तित्व रामअशिष यादवको झझल्को पाइन्छ । उनी बचपनदेखि नै यस्तै स्वभावका व्यक्ति थिए ।

गणितको कुनै हिसाव बनाउन थालेपछि त्यसैमा लीन हुन्थे ।किताव पढ्न थालेपछि पढ्दा पढ्दै सुत्थे । त्यसैले आफ्नो गाउँमा सबैभन्दा पहिले कुनै खास विधामा मास्टर डिग्री हासिल गरे र विशिष्ट व्यक्ति कहलाए । सामान्यतया स्कूलमा पढाउने शिक्षकलाई समाजले स्थापित गरेको थेगो हो- मास्टर! जो अन्डर मैट्रिक, मैट्रिक पास, आईए, बिएसम्म पढेकाहरुले स्कूलमा पढाउन थालेपछि समान ढंगले उनलाई भन्नेगरिन्छ ।तर, रामअशिष सर विषयत रुपमा पनि गणितमा मास्टर डिग्री हासिल गरेका थिए । त्यसैले उनी डब्बल मास्टर थिए ।

सामान्यभन्दा ठूलो मास्टर ! र, भए सबै मनका धुकधुकी जसको उपस्थिति नै कुनै बैठक, भेला वा समारोहलाई गरिमा प्रदान गर्दथ्यो ।म पार्टीगत राजनीतिबाट अलग भएपछि रामअशिषबाबूसंग धेरै नजिकिएको थिएँ वा उनी पनि मेरो नजिक आएका थिए । यसको मूलकारण के थियो भने उनी विद्रोही स्वभावका थिए ।ज-जसले विद्रोह गरे वा गर्न साहस गरे सबैलाई उनले सघाए । चाहे रामराजा प्रसाद सिंह होस् वा जनयुद्ध, जनआन्दोलन वा मधशे जनविद्रोह वा मातृका यादवको पार्टीगत विद्रोह वा पार्टी राजनीतिबाट अलग भएपछि स्वयं मलाई नै जसरी उनले सघाए त्यसले पनि के पुष्टि गर्दछ भने उनी विद्रोही मनको रखबाला थिए । विद्रोह उनको मनमा थियो । जेहनमा थियो । त्यसैले कहिल्यै पनि कुनै किसिमको लोभ लालचमा परेन । एक शब्दमा भन्ने हो भने रामाशिष यादव वामपंथी विद्रोही थिए । जसको ध्येय सामाजिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक विकासको परिधिभित्र फन्को काटिरहेको हुन्थ्यो ।

स्वाभिमानी शिक्षक ः
उनी विन्दास थिए भन्ने कुरा म अघि लेखिसकेको छु । उनीमा ठूलो जुनून थियो भन्ने कुरा पनि म भनिसकेको छु । अर्थात कुनै डर, धाक, धम्की र त्रासबाट भयभित नहुने व्यक्ति जब कुनै उद्येश्य प्राप्तिका लागि निरन्तर संघर्षरत रहन्छन् त्यस्तो व्यक्तिलाई जुनूनले भरिएको भनेर उपमा दिइन्छ । र, प्रायः त्यस्तै प्रकारका व्यक्ति विद्रोही पनि हुने गर्छन । यस अर्थमा भन्ने हो भने रामअशिष सर विद्रोही स्वभावका व्यक्ति थिए । जो कहिल्यै पनि कुनै किसिमको लोभ र लालचमा लागेनन् । उनको शैक्षिक इतिहासलाई पल्टाउने हो भने उनी सदैव नेपाल राष्ट्रिय शिक्षक संगठनलाई साथ दिएको देखिन्छ । जो पंचायतकालदेखि नै आफ् नो पेशागत हकहितका लागिमात्र होइन, मानवीय मूल्य र मान्यतालाई मुलुकमा स्थापित गर्नु पर्छ भन्ने उद्येश्यका साथ काम गरेको पाइन्छ । पंचायती व्यवस्थाको पतनपश्चात् यो संगठनलाई कतिपय वामपंथी पार्टीहरुले आफ्नो भातृ संगठन बनाउन खोजे पनि रामअशिष सर, मातवर सर, बेचू सर, धनवीर सरजस्ता जिल्लाका वरिष्ट शिक्षक र शैक्षिक व्यक्तित्वहरुको उपस्थितिले गर्दा नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाले आफ्नो गरिमा लाई कायम राख्न सफल भएको देखिन्छ । यसरी के देखिन्छ भने राजनीतिक चेत भएको व्यक्तिले मात्र विचार र सिद्धान्तलाई बचाएर राख्न सक्छन् । चाहे उनी जुनसुकै पेशासंग किन-न-आबद्ध होस् । जो संग त्यो चेत छैन ती व्यक्ति विभिन्न लोभ लालचमा परेर समाजलाई गलत दिशा प्रदान गर्ने गर्दछन् ।

उदाहरणका लागि विभिन्न शैक्षिक संगठनहरुको निर्माणले के देखाउछ भने त्यसमा लागेका व्यक्तिहरु विविध प्रकारको लोभ लालचमा परेर आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि त्यसको झण्डा समाते र अद्याबधि समातिरहेका छ्न।बहादुरी  व्यवस्थाको पुनस्र्थापना हुन वित्तिकै पार्टीगत राजनीतिले शिक्षण संघसंस्थामा कार्यरत शिक्षकहरुलाई राजनीतिकरण गर्न थाल्यो । सैद्धान्तिक रुपमा आफ्नो पार्टी नजिक रहेका शिक्षकहरुलाई संस्थागत रुपमा पार्टीको भातृसंगठनजस्तै संगठन निर्माण गर्यो । लाग्थ्यो शिक्षकहरुले नै राजनीति हाँकिरहेका छन् । जसको सख्त विरोधी थिए रामअशिषसर ।उनी पेशागत हकहितप्रति कति समर्पित थिए भन्ने कुरा अहिलेको पुस्ताको लागि एउटा नजिर बन्न सक्दछ ।त्यसैले बहुदलीय व्यवस्थाको लामो अभ्यासपश्चात् शैक्षिक संघसंस्थाहरुलाई पार्टीगत राजनीतिबाट अलग राख्नु पर्छ भन्ने मान्यता सर्वस्वीकार्य भएको छ ।

राम अशिष सर सही ठाउँमा थिए भन्ने कुरा अहिले तिनै राजनीतिक दलहरुलाई स्वीकारेको तथ्यबाट पुष्टि हुन्छ । तर, दुःखको कुरा के छ भने राजनीतिक दलहरुले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि निर्माण वा गठन गरेका शैक्षिक संगठनहरु भने अहिलेसम्म खारेज गरेको छैन । अद्यबधि ती अस्तित्वमा छन् । जबसम्म यो खारेजी हुँदैन तबसम्म विशुद्ध शैक्षिक वातावरण निर्माण हुन सक्दैन भन्ने सोच रामअशिष सरको थियो । शैक्षिक आन्दोलनमा लागेका मुलुकका तमाम शिक्षकहरुले के बुझ्नु पर्छ भने रामअशिष सर वा उहाँजस्तै हजारौ शिक्षक जो पंचायतकादेखि नै नेपालमा एउटा उन्नत शैक्षिक वातावरण निर्माणमा दत्तचित भएर लागेका थिए (तीमध्ये जो हामीबीच छैनन् ) उनीहरुको लागि सच्चा श्रद्धान्जली यी संगठनहरुको खारेजी नै हो ।

त्रिभूवन विश्वविद्यालयलाई विगत चार दशकदेखि गाँजेको राजनीतिले शिक्षालाई नै तहसनहस परेपछि अस्ति प्रधानमंत्री पुष्पकमल दहालले यसलाई राजनीतिविहीन बनाउने जुन उद्घोष गरेका छन् त्यो अहिलेको परिस्थितिमा समीचीन देखिन्छ । रामअशिष सर यिनै दिनको प्रतिक्षमा थिए । तर त्यो दिन देख्नुभन्दा पहिलै नै उनी सदाका लागि अस्ताए ।

विद्रोही स्वभावका प्रतिमूर्ति ः
शिक्षण पेशामा रहँदा उनले देखाएको विद्रोहीपन जीवनको अन्त्यसम्म कायम रह्यो । यही नै उनको ठूलो पहिचान बन्यो । उनी धार्मिक रुपमा कवीर पंथी मतलाई मान्दथे । जो अहिलेको हिन्दू समाजमा आफै एउटा विद्रोह हो । त्यतिमात्र होइन, उनको विगतलाई केलाउन हो भने आफ्नो विद्यार्थी जीवनदेखि शैक्षिककाल र त्यसपश्चात् बाँचेका जीवनमा समातेका धार र धाराबाट उनको विचार प्रष्ट रुपमा दृष्टिगोचर हुन्छ । अझ यसलाई मसिनो ढंगले व्याख्या र विश्लेषण गर्ने हो भने उनीमा प्रचूर मात्रामा विद्रोही स्वभाव रहेको देखिन्छ । २०३६ सालमा पेशागत हकहितका लागि स्थापना गरिएका शिक्षक संगठनको संरक्षण तथा सम्बद्र्धनका लागि उनले खेलेको भूमिकाले नै के देखाउछ भने उनी विद्रोही स्वभावका थिए ।तत्कालीन निरंकुश पंचायती व्यवस्थाले कुनै पनि प्रकारको संघ संगठन खोल्न प्रतिबन्ध लगाएको थियो । यस्तो विषम र प्रतिकूल अवस्थामा २०३६ सालको खुकुलो वातावरणलाई उपयोग गर्दै मुलुकका केही सचेत शिक्षकहरुले बद्रीप्रसाद खतिवडाको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण गरेका थिए ।

जसमा रामअशिषसरको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । उनी स्वयं पनि सिरहा जिल्लामा त्यसको उपाध्यक्ष र अध्यक्ष भएर नेतृत्व सम्हालेका थिए । पंचायतकालमा सिरहा जिल्लाको अध्यक्ष भएका बेचू प्रसाद साह तथा उपाध्यक्ष भएका रामअशिष यादवलाई तत्कालीन पंचायती सरकारले कति दुख र यातना दिएका थिए भन्ने कुरा प्रायः सबैजसो सचेत सिरहावासीलाई थाहा हुनु पर्छ । यदि उनी विद्रोही स्वभावको नभएको भए तात्कालीन अवस्थामा यसप्रकारको कार्यभार सम्हाल्नै थिएनन् । किनकि शिक्षक संगठनको कुनै पदमा आसिन हुन वित्तिकै प्रशासनिक रुपमा उनी आँखाका कसिंगर बन्थे ।

मेरो नजरमा उनी कति विद्रोही थिए भन्ने कुराको पुष्टि गर्नका लागि शिक्षक संगठनबाहेक अन्य कैयौ उदाहरणहरु छन् । खासगरि गणतन्त्रका प्रणेता क्रान्तिकारी व्यक्तित्व रामराजा प्रसाद सिंहलाई मात्र होइन, जतिबेला मातृका प्रसाद यादवले माओवादीबाट विद्रोह गर्दा बखत उनलाई सघाउनुजस्ता कार्यले के पुष्टि गर्दछ भने उनी विद्रोही स्वभावका थिए । म पनि जतिबेला पार्टी राजनीतिबाट अलग भएपछि मलाई पनि जिल्लामा सबैभन्दा बढी साथ दिने रामअशिष सर नै हुन् । यसरी के देखिन्छ भने कुनै पनि राजनीतिक दलको झोले कार्यकर्ता बन्नुभन्दा स्वतन्त्र रुपमा बस्नु र आफ्नो सुविचारको माध्यमबाट समाजलाई अग्रगति प्रदान गर्नु उनको प्रमुख ध्येय हुन्थ्यो भन्ने कुरा म स्वयं पनि अनुभव गरेको छु ।

विद्रोहीको विप्लवी सम्मान ः
कुनै पनि व्यक्ति आफ्नो जीवनकालमा गरेका सुकार्य अनुसार उनको मृत्युपश्चात् त्यही अनुरुप दाहसंस्कार,काजकिरिया, प्राणप्रतिष्ठा, भोजभतेर गरे त्यसलाई सही अर्थमा उनीप्रति सच्चा श्रद्धान्जली मानिन्छ । तर, हाम्रो समाज प्रायः त्यसको विपरित दिशातर्फ उन्मुख भएको पाइन्छ । जीवनकालमा आवश्यकता अनुरुप सेवा प्रदान नगर्ने तर, मृत्युपश्चात् त्यही बुबाआमाको संस्मरणमा गरिएको काजकिरिया र भोजभतेरमा लाखौलाख खर्च गर्ने परम्पराले समाजलाई विकृत बनाएको छ । झन थेग्नै नसकिने बनाएको छ । ऋण बोकाउने बनाएको छ । यस अर्थमा रामअशिष सरका संतान सवर्था भिन्न देखिए । उनीहरुले जसरी आफ्नो बुबालाई सेवा प्रदान गरेका छन् त्यो अपवाद हो । सम्भवतः सिरहा जिल्लामा नमूना हो । यसको बारेमा जतिवखान गरे कम हुन्छ । दुइटै चिकित्सक संतान साधुवादका पात्र हुन् ।

तर, समाज डा.कृष्णा र डा.रामजस्तो छैन । खासगरि पढेलेखेका सचेत व्यक्तिहरुको जुन भूमिका हुनु पर्ने हो त्यो सर्वथा गौन भएको देखिन्छ । यसले गर्दा समाजमा राजनीतिक परिबर्तन भए पनि सामाजिक रुपान्तरण दिनप्रतिदिन कठीन हुँदै गैरहेका छन् । रामअशिष सर वैचारिक रुपमा वामपंथी थिए । एउटा वामपंथी विचार वोकेको व्यक्ति धार्मिक रुपमा कट्टर मानिदैन । त्यसैले उनी आफ्नो विचार अनुकूल कवीर पंथ मतलाई आत्मसात गरेका थिए जो आफैमा एउटा प्रगतिशील धार हो । उनको दाहसंसकार पनि दुइटै विचारको आधारमा भयो । यस भेकका सबैभन्दा विद्वान कविर पंथका अनुयायी सत्यनारायण आलोकले मंत्रउच्चारण गर्दै दाहसंसकार गराएका थिए । तर, त्यसपश्चात् उनीहरुको सहभागिता न्यून देखियो जसलेगर्दा कमाकाण्डी अधिपत्य जमाउन सफल भए । यद्यपि आफ्नो जीवनकालमा नै रामअशिष सरले ब्राह्मणवादलाई विरोध गर्दै पुरोहितको सन्दर्भमा केही सुधारात्मक भूमिका चालेका थिए ।

जसलाई उनका संतान तथा परिवारजनले बाखुबी अनुसरण गरेको देखिन्छ । तर, जतिसुकै अग्रगामी सोच अंगाले पनि समष्टिगत रुपमा स्वामी विवेकानन्दको विचारविरुद्ध नै कर्मकाण्डी सोच हावी भएको देखियो । जसमा सुधार हुनु आवश्यक देखिन्छ । र, यही सुधारात्मक सोच नै राम अशिष सरप्रति सच्चा श्रद्धान्जली हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन । “छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”, उहाँले भन्नुभयो, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।” उहाँका चार […]

सिरहा । जिल्लाको लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरण, जनशक्ति व्यवस्थापन तथा विद्यालयको भौतिक स्तरोन्नतिमा जोड दिएको छ । नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र कक्षा कोठा सुधारका लागि आर्थिक वर्ष २०७९÷८० मा रु छ करोड र यस […]

नवलपरासी । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट […]