३१ आषाढ २०८१, सोमबार
15-07-2024 , Mon
×

७० को वय : नागरिकलाई भत्ता, नेतालाई सत्ता

Logo
ज्ञानु घिमिरे प्रकाशित सोमबार, माघ ०१, २०८०

काठमाडौं । असल कर्मका लागि उमेर साधक कि बाधक ? उमेरको श्रीबृद्धि कार्यकौशलको मापक हो या हैन ? शास्त्रले राजनीतिलाई नीतिहरुको राजा मान्छ । त्यसैले राजनीति गर्नुपर्ने व्यक्तित्व सधैं खुल्ला, सक्रिय, पारदर्शी, आकर्षक मात्र हैन, जनताको सर्वोपरी हितका लागि समर्पित हुनुपर्छ भन्ने मान्यता छ । अझ सधैं व्यस्त रहनुपर्ने राजनीतिक नेतृत्वका लागि उमेरको प्रसंगले कति अर्थ लाग्छ ? नेपालमा ६० माथि र ८० वय बीचको नेतृत्व राजनीतिको मैदानमा सक्रिय छ ।

गरिमाका दृष्टिले मुलुकको पहिलो नेतृत्वमा रहेको राष्ट्रपति मात्र हैन, मूलधारको राजनीतिक पार्टीको सारथी ७० माथिको छ । त्यो उमेर समूहलाई विस्थापित गर्न कम्मर कसेको समूह नै ६० नाघिसकेको छ । ५० र त्यो माथिको नेताको पंक्ति त नेतृत्वको सम्भावित रिङमै चढ्न सकेको छैन ।

अझ पुराना नेता मिलको फित्ताजस्तो एउटै गतिमा चलेको आक्षेप लगाएर युवा नेतृत्वको आवश्यकता महसूस गरिएको विषय सामाजिक सञ्जाल रंगाउन मात्र कामयाव भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा चामत्कारिक उपस्थिति र त्यस पार्टीबाट चुनिएकाहरुको अनुहारले अरु दलमा पनि विचारको तरंग आउने गरे पनि नयाँ गोरेटो कोरिएको छैन ।

नफेरिएको चरित्र

राजनीति भनेको नीतिहरूको मूल नीति भएकाले यसले नै राज्यको भूत, वर्तमान र भविष्य चरित्र चित्रण गर्ने हो । राजनीति बिग्रने बित्तिकै पूरै समाजले दुःख पाउँछ । त्यसैले राजनीतिमा आउने पात्रको जीवनका अनेक पक्षमा ध्यान दिन जरूरी हुन्छ, जसमा उमेरलाई पनि महत्व दिनुपर्छ भन्ने तर्क एकथरिको छ ।

डिमेन्सिया (बिर्सने रोग), किड्नी प्रत्यारोपण, मुटुको गम्भीर रोग लागिसकेका नेताहरु मुलुकको कार्यकारी पदमा पुगेर दीर्घ रोगको उपचारमा सरकारी कोष दोहन गरेको आरोप पुष्टि भइरहँदा फेरि पनि त्यही मनोविज्ञान राजनीतिमा हावी बन्ने सुरसारले समग्र राजनीतिक प्रणालीमाथि नै प्रश्न उठाउनेको स्वर ठूलो हुन थालेको छ ।

केही वर्षअघि नेपाल विद्यार्थी संघको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थर्काउने शैलीमा भनेका थिए– ‘म पाँच पटक प्रधानमन्त्री भइसकें । पटक पटक सरकार र पार्टीको नेतृत्वमा पुग्नु मेरो क्षमता हो । लौ त म भन्दा म भन्दा खरो उत्रिने को छ युवा ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पनि यस्तै भाव पटक–पटक प्रकट हुने गरेका छन् । यो विशिष्ट क्षमता नभएर ज्येष्ठताले पैदा गरेको अहंकार हो । चाणक्य नीतिमा भनिएको छ– ‘एउटा असल नेतृत्वले जतिसुकै कठिन परिस्थिति आए पनि विचलित हुनुहुँदैन र आफ्नो मूल्य, मान्यता र सुशासनलाई भंग हुन दिनुहुँदैन ।

यसैगरी झलनाथ खनालले आफूमा ३० वर्षे युवा जोसका साथ काम गर्ने जाँगर पलाएको खबरहबलाई बताएका छन् । उनले राजनीतिबाट अवकाश लिनुको साटो अरु काम गर्ने तिर्खा रहेको स्पष्ट गरे ।

७० नाघेकाको नालीबेली

राष्ट्रपति रामचन्द्र पौडेलले ८० को घेरो छोएका छन् । ७० नाघेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, छैटौं पटक प्रधानमन्त्री हुने साइत कुरेर बसेका छन् । केपी ओली, माधव नेपाल, झलनाथ खनाल यही मेसोमा उभिएका छन् ।

ज्येष्ठ नारिक भत्ता खाने उमेरका हकदार पशुपति शमशेर राणा, महन्थ ठाकुर, महेन्द्र राय यादव, झलनाथ खनाल, अर्जुननरसिंह केसी, लक्ष्मणलाल कर्ण, जालिम मियाँ मन्सुरी, डा नारायण खड्का, शेखर कोइराला, चित्रबहादुर केसी, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूमा कार्यकारी पदमा एकपटक पुग्ने भोक हराएको छैन ।

नागरिकलाई ६८ मै अशक्तको पदवी !

वृद्ध भत्ता पाउने उमेर अहिले ६८ वर्ष हो । अहिले ६८ वर्ष उमेर काटेका व्यक्तिहरूले मासिक ४ हजार रुपियाँ भत्ता पाइरहेका छन् । भदौ ३०, २०७५ सालमा बसेको संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका विषयमा व्यवस्था गर्न बनेको विधेयकमा ७० वर्ष उमेर कायम गर्ने निर्णय भएको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट सङ्घीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका थिए ।

एकल महिला र दलितले भने ६५ वर्षकै उमेमा वृद्ध भत्ता पाइरहेका छन् । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७५ वर्ष उमेर पुगेका वृद्ध वृद्धालाई प्रतिमहिना १ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेका थिए ।

२०६१ मा वृद्ध भत्ता १ सय ७५ रुपैयाँ पुर्‍याइएको थियो । त्यसपछि २०६७ सालमा ज्येष्ठ नागरिकको परिभाषा परिमार्जन गर्दै ७० वर्षमा झारिएको थियो । दलित वृद्ध वृद्धालाई ६० वर्षमै भत्ता वितरण सुरु गरिएको थियो । अब दलित वृद्धवृद्धाले भत्ताका लागि थप ५ वर्ष कुर्नुपर्नेछ । २०६९ सालमा वृद्ध भत्ता ५ सय पुगेको छ । २०७२ सालमा नेपाली कांग्रेस सरकारले एक हजार पु¥याएको थियो भने २०७३ सालमा तत्कालीन एमाले सरकारले २ हजार पुर्‍याएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा मन्त्रिपरिषदबाट वृद्ध भत्ता पाउने उमेर ६५ कायम गरेको थियो । लगत्तै बनेको केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय प्रमाणीकरण नभएको भन्दै कार्यान्वयनबाट पन्छाइ दिएको थियो ।

आर्थिक वर्ष २०७२–०७३ मा एमालेका विष्णु पौडेलले दोब्बरले बढाएर वृद्ध भत्ताको रकम २ हजार पुर्‍याएका थिए । नेकपा सरकारका पालामा अर्थमन्त्री डा. युवराज खतिवडाले ३ हजार रुपैयाँ पुर्‍याएका थिए ।

एमालेका अर्थमन्त्री विष्णु पौडेलले १ हजारले बढाएर ४ हजार रुपैयाँ पुर्‍याएका थिए । हाल पनि आम नागरिकले ४ हजार रुपियाँ मासिक भत्ता खाइरहेका छन् ।

कर्मचारीलाई उमेरकै बन्धन

बैंकको हिसाब किताबमा गोलमाल होला भनेर बैंकका कर्मचारी, दौडधुपको सास्तीबाट मुक्ति दिन फौजी सेवामा ३० वर्षे र ५८ वर्ष बाँधिएको छ । फौजीमा त जति ठूलो पदमा पुग्दै गयो, जागिरको आयु छोटिँदै जान्छ । अनुभव र ज्ञानको उपयोग हुन नपाएको गुनासो फौजीका उच्चाधिकारीले गर्दै आएका छन् ।

निजामती कर्मचारीले ५८ वर्षमै घर फर्किनुपर्छ । शिक्षकलाई ६० वर्षपछि कानुनले नै आराम गर्न भनेको छ । जिल्ला न्यायाधीशको ६० बाट सुरु भएको अवकास हद, उच्च ६३ हुँदै सर्वोच्चमा ६५ मा पुगेर टुंगिन्छ ।

नेता हिँड्दैछ, पाइला मेट्दैछ

नेपालको संविधान तथा कानुनमा कति वर्षसम्म राजनीति गर्न पाउने भन्ने विषय लेखिएको छैन । यस्तै, पार्टीहरूका विधानमा पनि यसको अभ्यास भएको छैन । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले यसको केही अभ्यास गर्न खोजेको देखिएपनि दलहरू पछि हटेका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘राजनीति भनेको सक्रियता हो यसमा उमेर हदले फरक पार्दैन ।’ यस्तै कांग्रेसले माघमा महासमिति बैठक गर्दैछ । यसलाई कांग्रेसले नीति महाधिवेशनमा समेत भनेको छ । तर, त्यसमा पनि उमेर हद नतोकिने कांग्रेस नेता तथा प्रवक्ता मीन विश्वकर्मा बताउँछन् । उनले खबरहबलाई भने, ‘यो लोकसेवा र शिक्षा सेवा आयोग जस्तो होइन नि । नेतृत्व हो । हाम्रो पार्टीले यसको कुनै निर्णय तत्काल गर्दैन ।’

यसैबीच कांग्रेस दोस्रो पुस्ताका नेताहरु भने उमेर हद कायम हुनुपर्ने पक्षमा बेल्दै आएका छन् । यस्तै, जसपा, राप्रपा, लोसपा जस्ता पार्टीको विधानमा पनि उमेर हदको कुरा लेखिएको छैन । सबै पार्टीले उमेर हदको कुरा केही समय चर्चामा ल्याएको भएपनि कार्यान्वयका लागि नेताहरु पछाडि हटेका देखिन्छन् ।

जंगबहादुरले तोडेको रेकर्ड

नेपालको राजनीतिक रोचक उहापोह खेपेका जंगबहादुर राणा ३१ वर्षकै उमेरमा प्रधानमन्त्री भएका थिए । पञ्चायत व्यवस्थामा तुलसी गिरीलाई ३३ वर्षकै उमेरमा नामका अघिल्तिर प्रधानमन्त्री विशेषण थप्ने संयोग जुरेको थियो । २०१९ सालमा उनी प्रधानमन्त्री भएका हुन् ।

यसैगरी, पञ्चायतका खम्बा सूर्यबहादुर थापा ३५ र पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियत बीपी कोइरालालाई ४५ वर्षमा प्रधानमन्त्री भए । प्रजातन्त्र पुनस्र्थापना पश्चात्का प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ६६ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री भए । यस्तै, गिरिजाप्रसाद कोइराला ६७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि २०६५ सालमा पहिलोपल्ट प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालको उमेर ५४ थियो । लोकतन्त्र आएपछि कम उमेरमा प्रधानमन्त्री हुनेमा दाहालको नाम लेखिएको छ ।

माधवकुमार नेपाल र बाबुराम भट्टराई समान ५७ वर्षमा प्रधानमन्त्री बनेका थिए । खिलराज रेग्मी ६३ र झलनाथ खनाललाई ६१ को वर्षमा मुलुकको कार्यकारी पदमा पुग्ने संयोग जुरेको थियो ।

विदेशी नेता : उमेर छैन बाधक

दक्षिणतर्फको छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७४वर्षका भए । सरकार प्रमुखको दोस्रो कार्यकाल बिताइरहेका उनी तेस्रोका लागि पनि निर्विकल्प नेता देखिएका छन् । तेस्रो कार्यकालका लागि संयोग जुर्‍यो भने पदमै रहँदा उनी आठ दशकका हुने छन् ।

यसैगरी, चीनका शक्तिशाली राष्ट्रपति सि जिनपिङ ७१ को उमेरमा दौडदै छन् । ८० वर्ष नाघ्दासम्म पनि उनी त्यही पदमा रहे भने आश्चर्य हुने छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उमेर ७२ भयो । उनले आफ्नो नेतृत्वलाई अकण्टक राख्ने मेलो मिलाइसकेका छन् ।

विश्वको समृद्ध राष्ट्र अमेरिका हाँक्ने जो बाइडेन ८१ मा चलिरहेका छन् । उमेरका कारण उनको कार्यगतिमा रोकावट आएको समाचार छैन । ७७ वर्षीया शेख हसिना बाजेद बंगलादेशमा चौथो पटक फेरि सरकारको नेतृत्व आफ्नो कमाण्डमा लिएकी छन् । विपक्षीलाई थुनेर गरिएको चुनावबाट नेतृत्व लिएको आरोप लागे पनि बंगलादेशको आर्थिक समृद्धिमा गरेको योगदानको कदर गर्दै त्यहाँका जनताले फेरि आफ्नो भाग्य निर्माता बनाएका छन् ।

यसैगरी ७५ वर्षीय श्रीलंकाली रनिल विक्रमासिंघेको काँधमा धराशायी अर्थतन्त्र उकास्ने जिम्मेवारी छ । उमेर घर्किएकाहरुको सूचीमा ४६ वर्षीय राष्ट्रपति मोहम्मद मुइझुसमक्ष सामुद्रिक छालले निल्न लागेको माल्दिभ्सलाई उतार्ने जिम्मेवारी छ ।

अपवादका नागरिक….

राजनीतिमा उमेर हदको बहस छेड्दा एउटा जबर्जस्त तर्क अघि आउने गर्छ– मानिस उमेरले नभई मानसिकताले युवा या वृद्धको कोटीमा उक्लिने, ओर्लिने हो । उमेर फगत नम्बर हो ।

शताब्दी आयुका केही नागरिक तहको उमेरले धेरै नेपालीलाई लोभ्यायो । संस्कृतिविद् सत्यमोहन जोशीले शताब्दीको आयुसम्म लोभलाग्दो क्रियाशिलता देखाए । ठमठमी हिँडेर काठमाडौं उपत्यकाका कार्यक्रममा सक्रिय रहे ।

भाषा र संस्कृतिमा कालजयी पदचाप छोडेर १०३ वर्षको उमेरमा उनी धर्तीबाट विदा भए । जीवित छँदै आफ्नो मृत शरीर चिकित्साशास्त्रका विद्यार्थीको अध्ययनका लागि दान गरेका उनलाई लोकले शताब्दी पुरुषको विशिष्ट सम्मान दिएको छ ।

यसैगरी १०१ वर्षसम्म बाँचेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्य आकासलाई यति फराकिलो बनाए कि सिर्जनाको त्यो शैली उनीसंगै अन्त्य भएको छ ।

मृत्यु शैय्यामा रहँदा समेत उनी महाकाव्य सिर्जनामा व्यस्त थिए । हरेक साहित्यिक गतिविधिमा दोस्रो हुन नजान्ने उनकाका लागि उमेर साधक ठहरियो । शताब्दी उमेरमा पनि उनको सक्रियताका अगाडि युवाहरु हार खान्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी […]

काठमाडौँ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुनुुहुन्छ । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको […]

अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा […]