१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

मधेश राजनीतिको श्यामश्वेत:चन्द्रकिशोर

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

राजनीतिमा धूमिल संक्रमणकाल सुरु भएको छ । मधेश राजनीतिले लोकतान्त्रिक, जनप्रिय तथा सामाजिक न्यायको बाटो बिराएकाले यस्तो भएको हो । माछा जसरी पानीबेगर बाँच्न सक्दैन, त्यसै गरी मधेशी दल भनेर चिनिने राजनीतिक पंक्ति पनि सत्ताभन्दा टाढा बस्नुपर्दा छटपटाउन थाल्छ ।

अहिले नै हेरौं न, उपेन्द्र यादव संघीय सरकारबाट बाहिरिने सुइँको पाएबित्तिकै अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा) ले सत्तारूढ दलसँग हिमचिम बढाउन थालेको छ । राजपाको यो हतारोपनमा तदर्थवाद झल्किन्छ । बालुवाटार पक्षलाई रिझाउँदा होओस् वा सत्ता समीकरणको हतारोले, धेरै वर्षसम्म समाज, राजनीति र अर्थतन्त्रलाई गिजोलिराख्नेछ । स्वभावतः प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मधेशी दलसँग सहकार्य गर्न रुचाउँछन् । किनभने सबैभन्दा बढी संवेदनशीलता मधेशतिर रहेको यथार्थ उनीबाहेक कसले बुझ्न सक्छ र

आन्दोलनकारीले नैतिक धरातल राख्नुपर्छ । महात्मा गान्धीले असल परिणामका लागि असल प्रक्रिया र प्रतिबद्ध पात्रहरूमाथि जोड दिन्थे । उनका अनुसार, सत्तासँगको संघर्षमा न्यायोचित मानवीय अधिकारप्राप्तिका लागि हुने कुनै पनि आन्दोलनले सफलता पाउनुअघि उपहास, उपेक्षा, तिरस्कार र दमन गरी चार चरण पार गर्नुपर्ने हुन्छ । मधेश आन्दोलनको उत्तराधिकारी ठान्ने शक्तिले आफूहरू कहाँ छौं भन्ने सोच्नुपर्ने हो । यस्तो आत्ममन्थनले नै उनीहरूलाई राजनीतिक बाटो देखाउन सक्थ्यो । तर दक्षिणावृत्तिमा रमाउनेलाई बाली लगाउने रहर कहाँ हुन्छ !

पुरानो नेपाल राज्यको स्वरूप सामन्ती, नोकरशाही र केन्द्रीकृत थियो । राज्यको चरित्र जाति, धर्म र भाषाजस्ता सांस्कृतिक पाटोमा पनि अभिव्यक्त हुन्थ्यो । त्यसै गरी, अहिलेको संविधानमा जे लेखिएको भए पनि संघीय सरकारको रवैया फरक छैन । विगतमा ‘साझा फूलबारी’ को प्रचार वा अहिले ‘सयौं फूलका थुँगा’ को संकथनले व्यवहारमा अर्थ र महत्त्व नपाएकाले त्यसले सांस्कृतिक हिंसाको रूप र अर्थ ग्रहण गर्दै छ । समावेशी एवं न्यायपूर्ण समाज निर्माणको बाटो अझै फराकिलो हुन सकेको छैन । मधेशी समुदाय उच्च पदमा पुगे पनि त्यो व्यक्तिविशेषको क्षमता नठहरिने परिपाटी अझै छ । यस्तोमा सामान्य स्वीकार्यताका लागिसमेत सत्ताको प्रशस्ति गाउने चरणदास प्रवृत्ति मधेशी समुदायमा हुनु आश्चर्यको विषय होइन । सत्तामा नपुगुन्जेल आफ्नो नेतृत्वको वैधानिकता नहुने बुझाइ मधेशी नेतृत्ववर्गमा त्यसै उब्जिएको होइन ।

मधेशी आन्दोलनमा पुरानो राज्यसत्ताद्वारा विभेद र उत्पीडनमा पारिएका थारू, दलित, मुस्लिम, महिलाहरूको प्रत्यक्ष सहभागिता चुलीमा पुग्नुको अर्थ थियो— सार्थक संघीयता र न्याययुक्त समावेशीकरणको स्थापना । आन्दोलनको त कुरै छाडौं, अहिले संविधानको मर्म अनुरूप ढाँचा निर्माणको इमानदार कोसिससम्म भएन । निर्वाचनपछि नेपाली राष्ट्रियता र मधेशी अस्मिताको आन्दोलन एकअर्काका पूरकका रूपमा उभिए । प्रत्येक मधेशीसँग आफ्नो पहिचान त छँदै छ, सँगसँगै ऊ नेपाली पनि हो । मधेशी पहिचान नेपालभित्र नै स्वयंसिद्ध हुन्छ ।

नेपाली राष्ट्रियता स्विकार्ने उदार मनोविज्ञान मधेशको मूलधारमा विद्यमान छ । यो विकसित अवस्था संस्थापनका लागि अनुकूलता थियो, तर सत्ताले आन्दोलनकारी शक्तिहरूबीच दूरी निर्माण र विभाजनको खेल खेलिरह्यो । यसको पहिलो औजार उपेन्द्र यादव भए, जसले आन्दोलनकै बीचमा ‘बुलेटको जवाफ ब्यालेटले दिने’ रणनीति ल्याए र यसकै कारण आन्दोलनको अर्को शक्ति राजपा पनि निर्वाचनमा आउन बाध्य भयो । आन्दोलनको आँधीबेहरी ल्याउने गफ दिइरहेका उपेन्द्रको अचानकको रणनीति परिवर्तनले गर्दा संविधान संशोधनको सम्भावना तुहियो । फेरि निर्वाचनमा उपेन्द्रले राजपासँग गठबन्धन गरे । चुनावमा संविधान संशोधनका लागि भनेर मत मागे, जसलाई जनमतले अनुमोदन गर्‍यो । तर उपेन्द्र संविधान संशोधनको निहुँ बनाई सुटुक्क संघीय सरकारमा छिरे । यसबीच राजपाले संसदमा मधेशको सरोकार उठाउँदासमेत उपेन्द्र टुलुटुलु हेरेर बसिरहे ।

सरकार नेकपाको, प्रशासनयन्त्र उसकै । अनि त बजारमा वर्चस्व हुने भइहाल्यो ! त्यसैले पूर्णतः नेकपामय भएको छ नेपालको राजनीति । पक्ष पनि उही, प्रतिपक्ष पनि उही ! यस्तोमा संघीयता र समावेशीको प्रक्रिया रद्दीको टोकरीमा मिल्काउन राजपाको छवि धूमिल पार्नु आवश्यक थियो । राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि भनिएको सहमतिले त्यो परिस्थिति पनि चाँडै आयो । राजनीतिलाई वैयक्तिक लाभहानिको कारोबार ठान्ने राजपाभित्रका वर्चस्वशालीहरूले त्यो पनि पूर्ण गरिदिए । भिक्षापात्र लिएर बालुवाटार छिरेको राजपा अब संघीय सरकारमा सहभागी हुन्छ कि हुँदैन भन्ने सवाल नै गौण भैसक्यो । प्रधानमन्त्री ओलीले आफ्नो आभामण्डलले यिनीहरूका आँखा तिरमिराइदिएका छन् ।

मधेश आन्दोलनको उपेक्षा नेपाली कांग्रेसबाट समेत भएको छ । नेपाली कांग्रेस अझै मधेशी शक्तिलाई ‘स्पेस’ दिन चाहँदैन । सधैं मधेशका भरमा राजनीति गर्ने, तर मधेशीहरूलाई पृष्ठभूमिबाट अगाडि आउन नदिने कुरामा नेपाली कांग्रेस अरू कुनै दलभन्दा कम छैन । राजपा यतिखेर विपक्षीको कित्ताबाट सरकारी ओतमा पुग्नु भनेको उसको रणनीतिक चूक मात्र हो । यो भनेको राज्यसत्ताको दोहनकारी चरित्रलाई अनुमोदन गर्नु हो । नेकपाका शक्तिशाली अध्यक्ष एवं प्रधानमन्त्री ओली मधेशमा प्रतिरोधका सबै सम्भावनालाई क्षीण बनाउँदै आउने चुनावका लागि मधेशमा आफ्नो दलको आधार बलियो बनाउन सत्ताका सबै दाउ खेल्दै छन् र सफल पनि देखिएका छन् ।

नेकपाले मधेशको मुद्दालाई साम्प्रदायिक रूपमा नभएर राष्ट्रिय सवालका रूपमा हेर्नुपर्ने थियो । तर मधेश आन्दोलनको अस्तित्व स्विकार्नसमेत अनिच्छुक प्रधानमन्त्रीबाट त्यो अपेक्षा गर्नु नै दिवास्वप्न भयो । संघीय सरकारका बेथितिहरू गनिसाध्य छैनन् । यस्तोमा राजपाले विपक्षको भूमिका खेल्ने अवसर थियो, ऊ मुखर हुँदा कांग्रेसको अलमल दूर हुन सक्थ्यो । राजपाको बालुवाटारमा बढ्दो हिमचिमले उसैले विगतमा कोरेको लक्ष्मणरेखाको उल्लंघन गर्‍यो । लोकतन्त्रको आधारभूत मूल्यको सवालमा मधेशका नेताहरूले समग्र देशको नेतृृत्व गर्नुपर्ने होइन र ? अहिलेको राजनीतिक गम्भीरतालाई बुझेर यस्तो बाटो अपनाउनुपर्ने थियो, जसबाट मधेशका संवैधानिक र राजनीतिक समस्या सधैंका लागि समाधान गर्न बल पुगोस् अनि बेलगाम हुँदै गएको सरकारलाई जवाफदेही बनाओस् ।

मधेशी दल भनेर चिनिने दलहरूको सामाजिक आन्दोलनसँग सामीप्य रहेन । त्यहांँ आन्तरिक लोकतन्त्रको अभाव छ । जसरी विगतमा सत्ता राजनीति र सत्ता प्रतिष्ठानका आन्तरिक स्वरूप र संरचनालाई झकझकाउने काम मधेशको कोणबाट भयो, अहिले त्यस्तो परिस्थिति रहेन । मधेशी नेतृत्ववर्गले आफैले निर्माण गरेको गलपासोमा आफ्नो घांँटी कस्दै गएको छ । उपेन्द्र यादव सरकारमा बसेर पनि केवल कारतुस भए भन्दैमा मधेशी नेतृत्वको सधैं यही नियति हुने गर्छ भन्ने निष्कर्ष निकाल्नु मनासिब हुन्न ।

राजपा र समाजवादी पार्टीको एकीकरण हुनुपर्ने सपना बेच्ने खेल लामो समयदेखि चलिरहेको छ । निकै पहिलादेखि थाती छ, यो काम । पछिल्लो आन्दोलनका बेला भुइँतहको दबाब हुँदासमेत ती एकसूत्रमा बाँंधिएनन् । निर्वाचनको त्रासका कारण बेमनले भए पनि गठबन्धन गरे पनि लुकामारी चल्दै रह्यो । समाजवादी पार्टीले सरकार छाडे एकता गर्ने राजपाको सूत्र थियो । तर, समाजवादी पार्टीले सरकार छाड्नु भनेको राजपा र बालुवाटारको घुलमिल बढ्दै जानु पनि हो । जहाँं एकता हुनुपूर्व नै छलछाम छ, त्यहांँ नामको एकता भए पनि नेताविशेषको स्वार्थ त पूरा होला, तर एकीकृत मधेशी शक्ति बन्न गाह्रो छ ।

सरकारमा बसेर उपेन्द्रले के गरे ? राजपाले संसदमा मधेशको सवाल उठाउँदा उनी सत्ताको मह चाट्दै रहे, अनि अहिले मधेशीजनको भावनात्मक दोहन गर्न संशोधनको प्रस्ताव मन्त्रिमण्डलमा लग्ने नाटक गरे । एउटै फर्मुलाले सधैं फिल्म हिट हुन्न भन्ने गुह्य कुरा उनले बिर्से । अर्कातिर, राजपा पछिल्लो एक वर्षमा देखाएको अलमलले उसलाई सांगठनिक आघात त पुर्‍यायो नै, लोकतान्त्रिक नेपालीजन पनि निराश भए । आफ्नो मूल भोट बैंकमाथि शिथिल हुँदै गरेको पकड, घमन्डी दृष्टिकोण र कमजोर हुँदै गरेको राजनीतिक ब्रान्डले गर्दा अहिले संसदभित्रका मधेशी दललाई सहज छैन ।

मधेश राजनीति फगत सत्तामा प्रवेश र बहिर्गमनको खेल होइन । हो, सत्तामा बसेर केही गर्न सकिन्छ तर संघर्ष हुन सक्दैन । उपेन्द्र यादव हिजोसम्म केपी ओली प्रवृत्तिमा विलय भएका थिए । यसका बावजुद दलमाथि उनको नियन्त्रण बनिरह्यो, उनको बोली पार्टीको लाइन र निर्णय भइरह्यो ।

क्षेत्रीय दलहरूको एउटा विशेषता के हुन्छ भने, यिनीहरू कुनै एक नेताको इसारामा चल्छन्, जसलाई दलभित्र कसैले चुनौती दिँदैन । त्यहाँं सामूहिक निर्णयभन्दा पनि नेताविशेष दलमाथि हावी हुन चाहन्छ । राजपाभित्रको अहिलेको अन्तरविरोध त्यही हो । यस्ता दलहरूले आफूलाई सच्याउन चार काम गर्नुपर्ने हुन्छ । पहिलो, एकले अर्कालाई छक्याउने राजनीतिक शैलीमा विराम । दोस्रो, मतादेशको प्रस्ट सन्देश बमोजिम प्रदेश २ मा मिलेर प्रादेशिक अभ्यासलाई आकार दिने र संघीय संसदमा मिलेर भुइँयाको आवाज राख्ने । तेस्रो, आन्तरिक लोकतन्त्रलाई फैलाउने । चौथो, केन्द्रीयताभन्दा प्रदेशवादलाई प्रश्रय दिने । विडम्बना, यस्ता सुझाव सुन्न पनि यिनलाई फुर्सत छैन ।

मधेशमा एउटै दल रहँदैन । मधेशको आन्तरिक विविधताले पनि त्यो छुट दिँदैन । उसो पनि कोही मधेशी केवल मधेशी मात्र हुँदैन । उसको कुनै न कुनै जात र समुदाय हुन्छ । उसको यो पहिचान मधेशी पहिचानभन्दा बढी टिकाउ हुन्छ । ‘मधेशी’ पहिचान त राज्यसँगको सम्बन्ध र संघर्षको बेला मात्र प्रभावी हुन्छ ।

डा.सीके राउतको समर्पण, उपेन्द्रको द्वैध भूमिका र राजपाको ढुलमुले चरित्रले मधेश आन्दोलनको मर्म मर्दै गएको छ । आन्दोलनमा उपेन्द्र र महन्थ–महतोबीच क्रेडिट लिने प्रतिस्पर्धाले गर्दा आन्दोलन उचाइमा पुग्दा पनि पराजित मनोभावले ठाउँ पायो । एउटा अरबी लोककथामा भनिएको छ, ‘पराजित नायकलाई कहिल्यै उपेक्षा गर्नु हुँदैन । उसलाई सलाम गर्नुपर्छ । किनकि भविष्य विजितको होइन, बरु पराजितको हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]

नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । मलाई भने संविधान बन्नु अघिको ८ वर्ष पहिलेको पृष्ठभूमि केलाउन मन लागेको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन–३ का एजेण्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म […]

नेपाल राजनीतिक रूपमा इतिहासमा कहिल्यै उपनिवेश भएन। तर शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीका साथै सांस्कृतिक उपनिवेशीकरण भइरहेको छ। यो आजको यथार्थ हो। यो लेखमा शैक्षिक उपनिवेशीकरणको मुद्दालाई मुख्य रूपमा चर्चा चलाउनमात्र खोजिएको छैन्, शिक्षा व्यवस्थामा आमूल परिवर्तनको आवश्यकतालाई सरोकारवाला समक्ष पुर्याउन पनि खोजिएको छ। हामीले बुझ्नुपर्छ, “हामी हाम्रो शिक्षा प्रणालीमा उपनिवेशीकरणलाई निरन्तरता दिन दाताहरूबाट […]