२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

‘रोग भन्दा भोकको पीडा सहन सकिएन ’

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

नानीमैया कटवाल
सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो ।

२५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा चाहियो भनेर पटक पटक ताकेदा गरेर धम्क्याए , अर्कोपटक उधारो नदेला भन्ने भयले रु १०० भए पनि बुझाउन निस्केए ।”उहाँले रासससित भन्नुभयो ।

काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमा चुलो अगाडि टोलाएकी छन् । उनीले भनिन्, “कसैले असहायका लागि चामल बाँडेको छ कि खाना खुवाउँदैछ भनेर भौतारिरहेका होलान् । गएको चार घण्टा भयो , अहिलेसम्म फर्किएका छैनन् । ”

घरका सबैजना राधेश्यामको पर्खाइमा छन् । सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरी सहित सबैलाई खाना चाहिएको छ । चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो । “एकछिन् भोक सह, खाना आइहाल्छ”, मनोरमाले छोरीहरूलाई आश्वासन दिइन् । यो सुनेर माइली छोरी घर अगाडि बुवा आउने बाटोमै गएर पर्खिन थालिन् ।

सुख त यिनलाई पहिले पनि थिएन । विषहरिया गाउँबाट उठिवास भएपछि राजविराज आएका उनीहरूले बजारकै साहुजीसँग रु दुई÷तीन सयको तरकारी किनेर बेच्न थाले, कहिले केरा बेच्थे । तर लकडाउन शुरु भएपछि राम्ररी बेच्न पाएका छैनन् । लुकीछिपी बेचेको थाहा पाएर आउने प्रहरीको सङ्केत पाएपछि भागाभाग गर्नु पथ्र्याे । भाग्न नसके लाठीको कुटाइ खानुपथ्र्यो । मनोरमा भन्छिन्, “बिहान, दिउँसो पोशाकमा आएर लघाथ्र्यो, साँझ सादा पोशाकमा तरकारी किन्न आउँथ्यो ।”

लकडाउन नहुँदा हातगोडा चलाएर जसोतसो दिन बितिरहेकै थिए । यसोउसो गरेर छोरीहरूको मुखमा माड लागेको थियो । ठ्याक्कै देशमा लगडाउन शुरुभएसँगसँगै उनको पेटमा पनि लकडाउन भइदियो । घरभाडा तिर्न नसकेर राजविराज–७ थानगाछीबाट निकालिएपछि मनोरमा सपरिवारका साथ सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित माइत आएर बसेकी छन् । माइतमा एक्ली वृद्ध आमामात्र छिन् । अप्ठ्यारो परेका बेला आमाले छोरी र छोरीले आमाको साथ त पाएका छन् तर ‘जोगीका घरमा सन्यासी पाहुना’ जस्तो ।

देव दम्पतीले हातमुख जोड्नका लागि सङ्घर्ष गर्न राजविराजबाहेक अर्को ठाउँ देखेका छैनन् । राधेश्यामले बल्ल मुख खोले, “हाम्रो त जाने ठाउँ पनि छैन, अर्को सीप पनि छैन, भोकले मरे पनि रोगले मरे पनि अब यहीँ मर्ने हो ।”

मनोरमा यसैबेला सुत्केरी भएकी छन् । वर्षेनी दुई छोरी भएको चार वर्षपछि फेरि छोरी भएको छ । सुत्केरी भएको एक सातामै निकै बिरामी परेर अस्पताल भर्ना भइन् । अस्पतालको १० दिनको बसाइपछि झोलाभरि चिकित्सकले लेखिदिएको पुर्जा लिएर फर्केकी छिन् । भोको पेटसँग अब धेरै जुध्न सकिन्न भन्ने लागेको उनले हरेश खाएकी छिन् । मनोरमाको नागरिकता, विवाह दर्ता छैन, छोरीहरूको जन्मदर्ता पनि छैन । यसको जरुरी नै परेको छैन उनीहरूलाई । एकमुठी स्वास र सँगै हुर्किरहेका छोरीको जीवन बचाउने अभिभारा नै पूरा गर्न नसक्ने अवस्थामा छन् देव दम्पती । मनोरमाको तरकारी बेच्ने काम रोकियो तर रोग र भोक रोकिएन ।

“शुरु शुरुमा त सँगै फोटो खिचिदिएवापत राहत दिनेहरू पाइएको थियो”, एकपटक आफूले पनि राहत थापेको स्मरण गर्दै राधेश्याम भन्छन्, “‘खाली हात घर जान मन नलागेर त्यस्ता मानिस भेटिन्छन् कि भनेर बजारमा भौँतारिएको थिएँ, पाइएन ।”

गाउँमै सरकार र सिंहदरबारको कुरा उनले पनि सुनेका छन् । स्थानीय सरकारले वडामा रहेका गरिब मजदुरको लगत सङ्कलन ग¥यो । सरकारले बाँडेको राहत सबैलाई दिनुपर्छ भनेर धनीले पनि मागेपछि वडाका एक हजार १९१ परिवारलाई १५ किलो चामल, दुई किलो दाल, एक÷एक किलो नुन र खानेतेल वितरण हुने भयो । वडाका १५ परिवारबाहेक धनी–गरिब सबैले राहत लिँदा वास्तविक गरिबको भागमा थोरै राहत पर्न गएको राहत वितरण सर्वदलीय समितिका सदस्य अशोककुमार यादवले बताउनुभयो । लकडाउनको ७६ दिनको अवधिमा एकपटक राहत वितरण भएपछि दोस्रोपटक राहत वितरण भएको छैन ।

बाँसको टाँट र माटोले बनेको सानो झुपडीको एउटा कोठामाथिको छानो छैन । बर्खाको झरी र हिउँदको घामले चुहिने अर्को एउटा कोठामा रहेको खाटमा सपरिवार सुत्छन् । सुत्केरी मनोरमालाई पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । गरिबी, बेरोजगारी त्यसमाथि सुत्केरी र बिरामीले खुबै सताएको छ । काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमाले आँखाभरि आँसु लिँदै भनिन्, “भोकको पीडा त खप्नै पो नसकिने हुन्छ ।”-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]