• राजकिशोर रजक 

महिला आन्दोलनको जगमा उत्पन्ननारीवादी विमर्शले लैङ्गिक विभेदीकरण तथा महिला अधिनीकरणको सिद्धान्त हाम्रो सन्दर्भमा के हो भन्ने ठोसरूपमा बहसमा आएको छैन्। जब–जब महिला–पुरुष समानता, महिला अधिकारको मुद्दामा बहस हुन्छ त्यसको पछाडि निश्चित अवधारणाले काम गरेको हुन्छ। त्यसका लागि निश्चित शब्द प्रयोग भएको हुन्छ।‘पितृसत्ता’ त्यसमध्येको एउटा हो। यो शब्द महिलासँग सम्बन्धित विषयमा सजिलै सुन्न र पढ्न सकिन्छ। पितृसत्ता केवल एउटा शब्दमात्र होइन, विचारधारा पनि हो।

पितृसत्ता के हो ?
नारीवादी विमर्शको पहिलो काम महिलालाई नियन्त्रण गर्ने जटिल संरचनालाई पहिचान गर्नु र त्यसलाई न्वारन गर्नु थियो। नारीवादी विशेषज्ञले २०औँ शताब्दीको आठौँ दशकमा पितृसत्ता शब्द प्रयोग र परिभाषा गर्न सुरु गरे। गर्डा लर्नरका अनुसार पितृसत्ता परिवारमा महिला र बच्चामाथि पुरुषको वर्चश्वको अभिव्यक्ति तथा संस्थागतकरण र सामान्यरूपमा महिलामाथि पुरुषको सामाजिक वर्चश्वको विस्तारकारूपमा व्याख्या गरेका थिए। उनी भन्छन्– यसको मतलव यो होइन कि महिला पूर्णरूपमा शक्तिहीन, अधिकारविहीन, प्रभाव तथा संसाधनबाट वञ्चित छन्। यो व्यवस्थाको मुख्य कुरा विचारधारा हो। यही विचारधाराले पुरुष महिला भन्दा श्रेष्ठ, महिलामाथि पुरुषको नियन्त्रण कायम हुन्छ।

छोराको होइन, पिताको शासनलाई पितृसत्ता भनिन्छ। पिटर लेसलेटले ‘द वल्र्ड वि लास्ट’ मा औद्योगिकीकरण भन्दा पहिला इंग्लैन्ड समाजको परिवार व्यवस्थाको पहिलो विशेषता पितृसत्तात्मक रहेको निष्कर्ष निकालेका थिए। तर के इंग्लैन्डको पितृसत्तात्मक परिवार व्यवस्था जस्तै हाम्रो परिवार व्यवस्था छ ? हाम्रो समाजमा क्रमिक असमानताको मूल संरचना जात र लिंगमा देख्न सकिन्छ। यस्तो संरचना इंगलैन्डमा थिएन। हाम्रो विशिष्ट सामाजिक संरचनालाई अम्बेडकरले ब्राह्मणवादी पितृसत्तात्मक व्यवस्था भनेका थिए।

के हो ब्राह्मणवादी पितृसत्ता ?
मेरी एक साथीरेखा सुनुवार (नाम परिवर्तित) जनजाति (राई) समुदायकी हुन्। उनले ब्राह्मण केटासँग प्रेम विवाह गरेकीछिन्। छोरा पाएकी छिन्।तर विडम्बना,सासू–ससुराले भान्सा र पूजा कोठामाछिर्न दिएका छैनन्। उनीहरूलाई छोरा र नातिसँग खेल्न कुनै समस्या छैन तर बुहारीलाई भने सँगै बस्न पनि दिएका छैनन्। यो काठमाडौँकै घटना हो।महिला, जात अर्थात केले रोकेको छ उनलाई भान्सामा छिर्न ?

ब्राह्मणवादी पितृसत्ताको मूल आत्मा ब्राह्मणवादी विवाह पद्धतिमा छ। पिताले कन्यादानबाट छोरीको विवाह सजातीय पुरुषसित गरिदिन्छन्। महिलाको यौनिकताको नियन्त्रण केवल पुरुषले गर्दैन, पुरुषको जातले पनि गर्छ। यस विषयमा भारतीय इतिहासकार उमा चक्रवतले १९९३ मा ब्राह्मणवादी पितृसत्तालाई लेखमार्फत बहसमा ल्याएका थिए। उनका अनुसार महिलामाथि प्रभावकारी यौन नियन्त्रण  गर्न पितृसत्ताले मात्र पुग्दैन, जातिवाद बनाइराख्न पनि उत्तिकै जरुरी हुन्छ। सजातीय विवाहपछाडि लुकेको रहस्य यही हो।

प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन बनाइराख्नयौन कर्तव्यमा हुने भिन्नतालाई छाडेर जुन कर्तव्य निर्धारण ग-यो त्यसको समानान्तरमा पुरुषको पनि कर्तव्य निर्धारण ग-यो।

जाति शुद्धता कायम राख्नसजातीय विवाह पद्धति कडाइपूर्वक लागु गरियो। हिन्दु धर्म ग्रन्थले जातिभन्दा बाहिर विवाहको अनुमति दिँदैन। जाति र विवाह एउटै सिक्काको दुई पाटा हुन्। जसले रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ। बेटी व्यवहारमा पाबन्दीको मतलब सामाजिक परिधि संकुचित गर्नु हो। जातको चौखटभित्र सामाजिक अन्तरघुलनलाई पूर्णतः निषेध पनि गर्नु हो। सामाजिक परिधिलाई संकुचित गर्नुको मतलब अन्तरजातीय विवाह र सहभोजमाथि धार्मिक प्रभाव रहेको ब्राह्मणवादी पितृसत्तालाई वैधानिकता प्रदान गर्नु हो।

समाजमा प्रचलित सजातीय विवाह, जाति–शुद्धता, छाउ–प्रथा, कन्यादान, बालविवाह, विधवा विवाहमाथि रोक, सती–प्रथा, लाज–होम अनुष्ठान, सप्तपदी आदि व्यवहार ब्राह्णवादी पितृसत्ताको हो। यी मौलिक व्यवहार संसारमा अभ्यास गरिएका पितृसत्ताको होइन। तर यी मुद्दा मूलधारको मनुवादी नारीवादीले कहिले उठाएनन्। उठाए पनि इन्टरसेक्सनालिटीको शब्द जार्गनमा मात्र सीमित गरिदिए।

पितृसत्ता यति लामो समय कसरी टिक्यो?
पितृसत्ता सामाजिक व्यवस्थाकारूपमा कसरी काम गर्छ भन्ने कुरा बुझ्न यसपछाडि लुकेको विचारधाराको प्रमुख योगदान हुन्छ। पितृसत्ताका माध्यमबाट महिलामा सहमति पैदा गर्छन्। सहमति दिएर वर्चश्व स्वीकार गर्नु हो। यही विचारधाराअन्तर्गत महिला पितृसत्तालाई जीवित राख्न मद्दत गर्छ। यी सम्पूर्ण कार्य सामाजिकीकरणको प्रक्रियाबाट पुरुष वर्चश्वलाई आत्मसात गरी उसका प्रतिसहमति दिन्छ।

पुरुष वर्चश्वलाई दिएको सहमति सहजै बुझ्न महिलाको उत्पादनको स्रोतमाथि पहुँचमा कमी हुनु, आर्थिकरूपमा पुरुषमाथि निर्भर हुनु, पैतृक सम्पत्तिमा पहुँच नहुनु आदि विभिन्न रूपबाट सहमति कायम भएको हुन्छ। यसबाट के बुझ्नुपर्छ भने पितृसत्ता एउटा विचारधारा मात्र नभएर यसको भौतिक आधार पनि हुन्छ। महिलालाई शक्ति र वर्चश्वको साधनबाट वञ्चित गरेको अवस्थामा उसको सहमति सजिलै हासिल हुँदोरहेछ। यही कारण महिलामाथि जति नै हिंसा भए पनि उनीहरू सजिलै घर छाड्न सक्दैनन्। आर्थिक परनिर्भरताले गर्दा सहमति दिएर वर्चश्व स्वीकार्न बाध्य हुन्छ।

जसले पितृसत्ताका आधारमा जीवन जिउन थाल्छन् उनीहरूले वर्गीय सुविधा पनि पाउन थाल्छन्। पतिव्रता, सुशील, संस्कारी तथा मान–सम्मानको तक्मा पनि पाउन थाल्छन्। अर्कोतर्फ जसले पितृसत्ताको कायदा–कानुन तथा तौरतरिकालाई सहमति दिँदैनन् उसलाई खराब महिला भनेर सामाजिक बहिष्कार गर्छन्। उसलाई पुरुषको सम्पत्ति तथा सुविधादेखि बेदखल गराइन्छ।यसरी सजिलै महिलाको बीचमा ध्रुवीकरण गरी कहिल्यै नसकिने प्रतिस्पर्धाको खेल सुरु हुन्छ। यही कारण आजसम्म पितृसत्ता अस्तित्वमा रहन सकेको हो।

विकल्पमा बहुजन नारीवाद
मनुवादी नारीवादमा पुरुषको अतिरिक्त महिलामा पनि महिला विरोधी भावना सहजै देख्न–सुन्न सकिन्छ। यो कुरा माथि उल्लिखित रेखाको घटनाले प्रमाणित गरेको छ। हामीमनुवादी नारीवादी इतिहास बदल्न सक्दैनौँ तर उक्त इतिहासलाई हेर्ने र बुझ्ने दृष्टिकोण बदल्न सक्छौँ। मनुवादी नारीवादीले बहुजन नारीको नारित्वलाई कहिलै बुझ्ने कोसिस गरेन। बहुजन नारीवादी दृष्टिकोणका अनुसार नारित्वको परिधि गुण, व्यवहार, त्यससँग जोडिएको भूमिका तथा कर्तव्यबाट समाजमा निर्मित हुन्छ। हामीलाई वास्तविक नारित्वको संज्ञान निष्पक्ष दृष्टिकोणबाट गर्नु आवश्यक छ। बहुजन नारीवादले समाजमा नारित्वको निर्धारण प्राकृतिक अवस्थाबाट हुनुपर्नेमा वकालत गर्छ।

अलग–अलग समाजिक समूहमा पनि सामाजिक सम्झौता भयो तर मनुवादी विचारकहरूले नारीको नारित्वको व्यवस्था आफ्नो फाइदाअनुरूप गरे। मनुवादीहरू त्यो सामाजिक सम्झौताको पक्षधर हुन् जसले महिला पुरुषको तुलनामा प्राकृतिक दृष्टिकोणवाट निम्न हुन्छ भने मान्छन्। यो विचारलाई जे.एस. मिलले ‘सबजुगेसन आफ ओमेन’ मा विरोध गर्दै भनेका छन्– ‘प्रकृतिक भिन्नताका आधारमा महिलालाई असमान मान्नु उचित हुँदैन।’ कारण– यो भिन्नता सामाजिकीकरणको परिणाम हो। यही विन्दुमा मनुवादी नारीवादको विकल्प बहुजन नारीवाद हुन जान्छ।

बहुजन नारीवादी आन्दोलनमा मानवताको परिधिको निर्माण दुई समाजिक त्रिज्याओं (स्त्री–पुरुष) को योगको व्यासबाट मात्र हुन्छ। बहुजनको इतिहासको केन्द्र न मातृसत्तात्मक थियो न त पितृसत्तात्मक नै। दुवैमा समतुल्य थियो। मातृसत्तात्मक र पितृसत्तात्मकमध्ये कुनै एउटा हुनु भनेको असमानतालाई नै प्रतिनिधित्व गर्नु हो। मूल निवासी नारीवादले समता, बन्धुत्व र स्वतन्त्रताको बुनियादमा जातिको विनाश, जातिवादी पितृसत्ताको अन्त्य र महिलालाई पूर्ण सक्षम तथा कुनै पनि हिसाबले पुरुषभन्दा कम छैन भन्ने सोच र व्यवहारको विकास गर्छ। बहुजन नारीवाद पुरुषवाद जो प्रत्यक्षरूपमा ब्राह्मणवादसँग जोडिएको छ त्यसको विनाश गरी समतामूलक समाज निर्माण गर्न वकालत गर्छ। त्यो समाज नयाँ महिला र नयाँ पुरुषसहितको नयाँ संसारको संकल्पनामा निहित छ।
(अम्बेडकरी तथा बहुजन अध्येता)


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh