०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

के हो रक्षाबन्धन ,किन मनाइन्छ ?

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ श्रावण । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

आज जनै पूर्णिमा पनि हो । जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।

यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]