०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

वीरगञ्जमा कोरोना संक्रमण कसरी फैलियो ?

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

दुर्गा दुलाल
वीरगञ्ज ,१९ श्रावण । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अहिले कोरोना संक्रमणको हटस्पट बनेको छ। वीरगञ्जमा मात्र १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने हाल ६ जना संक्रमितको अवस्था गम्भीर छ। वीरगञ्जमा अन्य जिल्लाका ४ जनाले ज्यान गुमाएका छन्। कुनै समय नियन्त्रण उन्मुख रहेको भनिएको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको हटस्पट बनेको छ।

सरकारले लकडाउन गरेको समयमा वीरगञ्जमा संक्रमितको संख्या विस्तारै कम हुँदै गएको थियो। तर लकडाउन खुलेसगै यहाँ भारतबाट श्रमिक, भारतमा रहेका नेपाली र भारतीय नागरिकहरू भित्रन थालेपछि संक्रमण बढ्दै गयो।

शुक्रबार प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ३ जना महिला ६१ जना पुरुष रहेका छन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका थप २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेस्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ।

वीरगञ्ज नगरपालिका वडा नम्बर १३ राधेमाई बस्ने ४० वर्षीय सांसद प्रदीप यादवसँगै उनका सवारी चालक र पिएसओ पनि संक्रमित भएका छन्। रौतहटको चन्द्रनिगाहपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जको व्यस्त मिना बजारमा कन्ट्र्याक्ट ट्रेसिङका क्रममा परीक्षण गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ। मास टेस्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो।

बढ्दै मृतक
वीरगञ्जमा कोरोना संक्रमणका कारण पछिल्ला तीन दिनमा ६ जनाको मृत्यु भएको छ। बिहीबार वीरगञ्ज महानगरपालिका–१६ का ३५ वर्षीय युवक, वीरगञ्जको जगदम्बा इन्टरप्राइजेजका सिइओसमेत रहेका ५६ वर्षीय पुरुष र वीरगञ्ज २ का ७० वर्षीय वृद्धको मृत्यु भएको थियो।

बुधबार वीरगञ्जमा नै दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो। शुक्रबार पनि त्यहाँ एक जनाको मृत्यु भएको छ। पर्सामा साउनमा मात्र ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

असार अन्तिम साता संक्रमितहरू निको हुँदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी थिए। तर साउन सुरु भएलगत्तै पर्सामा संक्रमित थपिँदै गएका छन्। दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगञ्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ।

खुल्ला सीमा, बेपर्वाह नागरिक र उद्योगी
असारको अन्तिममा ३ जनामा मात्र अस्थायी कोभिड अस्पलामा उपचाररत रहेका थिए। साउनबाटै समुदायमा कोरोना संक्रमण देखिन थाल्यो। संघीय सरकारले लकडाउन अन्त्य गरेपछि वीरगञ्जमा संक्रमण थप बढ्न थालेको हो।

सरकारले साउन ७ गते लकडाउन अन्त्य गरेको घोषणा गरेपछि भारतीय सीमाबाट पनि प्रवेश खुल्ला भयो। यही मौकाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट नागरिक वीरगञ्जको बाटो हुँदै नेपाल प्रवेश गरे। योसँगै व्यापारीहरूको समेत सीमापार आवतजावत हुन थाल्यो। उनीहरूलाई व्यवस्थित गर्ने काम कमजोर भयो।

जगदम्बा उद्योगले भारतमा रहेका आफ्नो सिइओलाई कम्पनीमा बिनापरीक्षण भित्राएको थियो। कम्पनीमा आएपछि क्वारेनटाइनमा राख्नुपर्नेमा उनी क्वारेन्टाइन बसेनबसेको खुलेको छैन। उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिमा पनि फैलिएपछि उद्योग अहिले सिल गरिएको छ। त्यस्तै अन्य भारतबाट आएका व्यक्तिलाई खुलमखुल्ला छोडिएको थियो।

विस्तारै समुदायमा स्तरमा पुगेपछि बजारमा मानिसहरू खुल्ला हिँड्दा सबैमा सरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए। सडकमा र किनमेलमा निस्केकाहरू मास्कसमेत नलगाउने गरेको भन्दै उनले सबैलाई सुरक्षाका उपाय अपनाउन आग्रह गरे।

१ सय ८२ जना होम आइसोलेसनमा
पर्सामा मात्र १ सय ८२ जना कोरोना संक्रमित अस्पताल बाहिर छन्। ५० बेड मात्र रहेको नारायणी कोभिड९१९ अस्पतालमा बेड खाली नहुँदा पछिल्लो पटक संक्रमण फेला परिरहेकालाई घरमै होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रतिनिधिसभामा सांसद प्रदीप यादव पनि होम आइसोलेसनमा छन्। सांसद यादवसँगै शुक्रबार पुष्टि भएका सबै संक्रमित होम आइसोलेनमा छन्। पर्सा जिल्लामा शनिबारसम्म ४७८ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। यीमध्ये ९४ जना महिला हुन् भने ३८४ जना पुरुष हुन्।

स्वास्थ्यकर्मी अभाव
वीरगञ्जमा कोरोना परीक्षण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ। केही समयअघि महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आइसोलेसनमा उपचारमा खटिने र स्वाब संकलनमा जाने स्वास्थ्यकर्मीको अभाव भएपछि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद् व्यवस्थापन केन्द्रसँग माग गरेको थियो। महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो। सूचीमा ४ जना स्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब, ५ अहेब र ४ अनमीको नाम थियो। तर, साउन १५ गतेसम्म स्वास्थ्यकर्मी नआएपछि नियन्त्रणमा लिइएको बताइएको छ। उनीहरु रिहा भइसकेका छन्। जोखिमको काम गर्नुपर्ने तर सुविधा तथा उपकरण नभएको भन्दै स्वास्थ्यकर्मीले विरोध जनाउँदै आएका छन्।

संक्रमित सांसद वीरगञ्जमा, मेयर काठमाडौंमा
प्रतिनिधिसभामा सांसद प्रदीप यादवसहित अन्य दुई जनाका कोरोना संक्रमण भएको शुक्रबार राती पुष्टि भयो। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भयो। उनीहरु होम आइसोलेनमा छन्। अस्पतालमा सिट खाली हुन बितिकै सांसद यादवलाई सारिने अस्पतालका मेसु डा उपाध्यायले बताए।

वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। काठमाडौंमा आएका बेला गरिएको पिसिआर परीक्षणमा मेयर सरावगीमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुुष्टि भएका मेयर सरावगी हाल काठमाडौं टंगालस्थित आफ्नै घरको आइसोलेसनमा छन्। स्वास्थ्यमा समस्या भएपछि सरावगी गत सोमबार वीरगञ्जबाट निजी सवारीमा काठमाडौं आएका थिए। बिहीबार संक्रमण पुष्टि भएपछि साँझ उनले फेसबुक पेजमा आफूलाई कोरोना संक्रमण भएको खुलाउँदै सुरक्षित हुन आग्रह गरेका थिए।साभार : स्वाथ्यखबर पत्रिका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]