३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

नेपालमा कोरोना : ८० प्रतिशत मृत्यु अस्पतालमा, कुन उमेर समूहमा बढी जोखिम ?

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ भाद्र । पछिल्लो केहि हप्तायता नेपालमा कोरोना भाइरस संक्रमित र यसका कारण हुने मृत्युदर बढेको छ । कोरोना संक्रमण नघट्दै सरकारले जारी लकडाउन अन्त्य गरेपछि संक्रमणदर बढेको हो ।

संक्रमित बढेपछि गम्भीर बिरामी पनि बढ्दा अस्पतालमा भेन्टिलेटर र आइसीयुको अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबारसम्म १०४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये ८० प्रतिशत संक्रमितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बाँकी २० प्रतिशतको अस्पताल पुर्‍याउने क्रममा वा अन्य कारणले बाटोमा अथवा घर वा क्वारन्टीनमा मृत्यु भएको हो । पहिलो ५० जनामध्ये तीन जनाको क्वारन्टीनमा मृत्यु भएको भए पनि त्यसपछि क्वारन्टीनमा मृत्यु भएको छैन । घरमा मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । पहिलो ५० जनामा १० प्रतिशतको घरमै मृत्यु भएको थियो भने पछिल्लो ५० जनामा चार प्रतिशतको मात्रै घरमा मृत्यु भएको छ ।

तर हाल सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि अस्पतालमा शय्या नभएको एवम् घरमै आइसोलेशनमा राख्ने गरिएको छ । यसरी घरमै राख्दा उपचार नपाएर मृत्यु हुने हो कि भन्ने आशङ्का गर्न थलिएको छ ।

कुन उमेर समूह खतरामा ?
मृत्यु हुनेमा सबैभन्दा बढी ४० देखि ४९ वर्षसम्ममा व्यक्तिहरू रहेका छन् । सो समूहका २४ जनाको मृत्यु भएको छ । त्यसपछि ७० वा सोभन्दा माथि उमेरका २० जनाको, ६० देखि ६९ वर्षका १७ जनाको र ५० देखि ५९ वर्षका १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला रहेका छन् ।

मृत्यु हुनेहरूमा ३७ प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमण हुँदा पुरानो रोग नरहेको र सङ्क्रमणकै कारणले मात्रै मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । बाँकी ६३ प्रतिशतमा भने पहिलेदेखि कुनै पुरानो रोग रहेको देखिन्छ । पुरानो रोगमा सबैभन्दा बढी ३३ प्रतिशतमा श्वासप्रश्वास वा फोक्सोसम्बन्धी समस्या देखिएको थियो ।

त्यस्तै २० प्रतिशतमा मधुमेह, १७ प्रतिशतमा मुटुसम्बन्धी समस्या, १४ प्रतिशतमा मिर्गौलासम्बन्धी समस्या र १२ प्रतिशतमा अन्य समस्या रहेका थिए । धेरैजसो पुरानो रोग भएकाहरूमा दुई वा दुईभन्दा बढी समस्या रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख मरासिनी श्वासप्रश्वासको रोग भएकालाई बढी असर गर्ने बताउँछन् । ‘कोरोनाभाइरसले श्वासप्रश्वासमा नै असर गर्ने हो पुरानो श्वासप्रश्वासको रोग भएको मानिसमा रोगविरुद्ध लड्ने शरीरको प्रणाली बिग्रिएको हुने र त्यसले गर्दा चाँडै प्रभाव गर्छ र निमोनिया हुने तथा निको हुन गाह्रो हुने अवस्था आउने गर्छ,’ उनले भने ।

कहाँ कति मृत्यु ?
आइतबारसम्म मृत्यु भएका १०२ जना नेपालीमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा ४५ जनाको मृत्यु भएको छ । त्यसपछि वाग्मती प्रदेशमा १७ जना, प्रदेश १ मा ९ र सुदूरपश्चिम प्रदेशमा ८ जना, गण्डकी प्रदेशमा छजना र कर्णाली प्रदेशमा चार जनाको मृत्यु भएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै पर्सामा १९ जनाको मृत्यु भएको छ भने प्रदेश २ कै धनुषामा नौजना र बारामा सात जनाको मृत्यु भएको छ । मोरङ्गमा नौ जनाको मृत्यु भएको छ भने काठमाडौंमा सात जनाको र कैलालीमा चार जनाको मृत्यु भएको छ ।

यसैगरी सिन्धुपाल्चोक, कपिलवस्तु, बाँके, गुल्मी, सप्तरी र सिराहामा ३–३ जनाको मृत्यु भएको छ भने ललितपुर, सुर्खेत, स्याङ्जा, चितवन, रौतहट र अछाममा दुई–दुई जनाको मृत्यु भएको छ। अन्य १७ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । ७७ वटै जिल्लामा फैलिसकेको कोरोनाभाइरसबाट अहिलेसम्म ३५ जिल्लामा मृत्यु पुष्टि भएको छ ।

कति छन् आइसियु र भेन्टिलेटरमा उपचाररत
देशका विभिन्न अस्पतालमा १०६ जना कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०० जनाको आइसियुमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १, कर्णली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा ती संक्रमितको उपचार भइरहेको हो । आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । बागमतीमा ४७ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै प्रदेश २ मा ४१, प्रदेश ५ मा ११ र गण्डकी प्रदेशमा १ जना संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । तथ्याङ्क स्रोत : बीबीसी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, […]

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा […]