• अभि सुवेदी

नेपाल र दक्षिण एसियामा युवाहरू सिर्जनशील र ऊर्जावान छन् । ती विदेशमा पनि श्रम गर्छन् । तिनका कर्म विविध हुन्छन् । धेरै युवा गतिशील छन् । नेपालमा सन् २०११ को जनगणनाअनुसार, युवाहरू ४० प्रतिशतभन्दा अलिक बढी थिए ।

त्यसमा अहिले केही फरक परेको होला । नेपालको राजनीतिलाई युगअनुसार अगाडि लैजाने काम युवाहरूले नै गरेका हुन् । तर, अहिले फरक छ । सोध्छौं, नेपाली युवाले यहाँको राजनीतिमा के पाठ खेल्न सक्छन् र त्यो कसरी खेल्छन् ? यो बहस अहिल्यै किन धेरै उठ्यो र पहिले यसरी उठेका बहसभन्दा यो बहस कुन अर्थमा फरक छ भन्ने कुराले हामीलाई तानिरहेको छ । यो सीमित शब्दमा लेखिने लेखमा यी सबै बहसका सार, बहस गर्नेका विचार र छलफल राख्न सम्भव नभएकाले म यी उठेका छलफलले जन्माएका केही कुराका निचोडसहित आफ्ना विचार र अनुभव पनि राख्नेछु ।
मेरा प्रतिक्रिया दुईवटा कुराले बनिएका छन् । पहिलो त म एक लामो समयदेखि र अहिलेसम्म पनि अनेकौं तह र माध्यम प्रयोग गरेर पढाइआएको एक शिक्षक हुँ । मैले विश्वविद्यालयका राजनीतिमा चाख राख्ने, ‘पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु’ भन्ने कविताको उद्गारसँग मिल्ने युवाहरूलाई पढाइ आएको हुँ ।

दोस्रो, राजनीति गर्ने युवा र विद्यार्थीलाई हेर्ने मेरा सैद्धान्तिक दृष्टिकोण छन् । साथै तिनलाई हेर्ने मेरा आफ्ना स्मृतिमा आधारित विचार पनि छन् । युवा अवस्थाका सबै अराजक विद्रोही विचारले राजनीतिक ‘करियर’ बनाउन सकिँदैन । आफ्नै अनुभव भन्छु ।

विद्यार्थी हुँदा थोरै साथीहरूसँग मिलेर एक ट्राटस्की पन्थी भएको, राजा महेन्द्रका पालामा धरान महेन्द्र कलेजमा पढ्दा जोखिमको विद्यार्थी राजनीति गरेको, एकैसाथ ट्राटस्की, बीपी कोइराला, मार्क्स, जँ पोल सार्त्र र पुष्पलालका विचारको संगम बोकेर हिँड्ने, कुनै एउटा दलमा नेता भएर आउने उद्देश्य नभएको एक युवाको स्मृति लिएर आएको मानिस भएकाले म विद्यार्थी राजनीतिलाई अमुक दल र एउटा परिवेशमा बाँधेर हेर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।

यस्तो अराजकतावादी चिन्तन गर्ने हामी मात्र थिएनौं, तर, त्यो पनि राजनीतिक चेतना नै हो । पछि पश्चिमी अराजक युवा, हिप्पी र सन् १९६८ को प्यारिस आन्दोलन र त्यसमा आफ्नाजस्तै विचारहरूका उद्वेलनले प्रभावित हुने म एक्लो थिइनँ । साहित्य रचना गर्ने र विश्वविद्यालयमा शिक्षण गर्ने बाटो भयो मेरो । अहिले कुनै दलमा आबद्ध मानिस नभए पनि म राजनीतिक विचारसँग खेलिबस्छु, साहित्यिक र सांस्कृतिक सिद्धान्त ‘कल्चरल् स्टडिज्’ पढाउँछु र शोध गराउँछु । राजनीतिको अर्थ व्यापक छ । साथै ती माथि उल्लेख गरेका मानिसहरूमाथि र तिनका विचारमाथि पनि लेखिआएको छु । यो सबै कुरा लेख्नुको अर्थ यस्तो छ । म आन्दोलनमा निस्किने, ननिस्किने, विचारहरू लिएर सडकमा आउने वा अरू कुनै किसिमले आफ्ना कुरा राख्ने युवाहरूका कर्मलाई राजनीतिक चेतनाभित्रै राख्छु । तर, ती सधैं खास राजनीतिक एजेन्डा लिएर सडकमा, लेखनमा र प्रस्तुति कर्ममा आएका हुन्छन् भनी ठान्नु असत्य हो । जनआन्दोलनकालपछिको एउटा विद्यार्थी जुलुसलाई हेर्दै मैले ‘नयाँ पत्रिका’ (२० फागुन २०६५) मा लेखेका यी हरपहरू सम्झिन चाहन्छु । एक शिक्षक भएकाले आफूलाई नदी किनारको माझी ठान्छु :

… माझी न ठहरेॅ । लहर हेरेर बसेकै छु । मेरा हिजोको त्यो विद्यार्थीका सिर्जनात्मक अराजक कल्पनाको सार भनेको स्वतन्त्रता हो । त्यो स्वतन्त्रता विद्यार्थीले कसैको हतियार हुनबाट आफूलाई जोगाएर मात्र लिन सक्छन् । …मलाई विद्यार्थीभन्दा महान् कोही लाग्दैनन् ।’

मेरा यी विचारमा खासै परिवर्तन आएको छैन । तर, एकाध अलिक यथार्थिक कुराहरू समयअनुसारको छलफलका निम्ति यहाँ राख्न चाहन्छु । पहिलो कुरा युवाको राजनीतिक भूमिकाबारे अहिले किन छलफल भएका हुन् ? विद्यार्थीका विद्रोह र आन्दोलनको सोझो सम्बन्ध अहिले नेतृत्वका अकिञ्चन बहसमा किन ल्याउनुपरेको हो ? दलका नेताहरू बूढा भए, अब तिनको ठाउँमा युवा नेतृत्व आउनुपरेको छ भन्नु सार्थक बहस हो । तर, त्यसमा त, राजनीतिमा युवाको कुरा गर्दा उदाहरणका निम्ति भनौँ न, सीधै गगन थापा र रामकुमारी झाँक्री राजनीतिक नेतृत्वमा किन आउँदैनन्, तिनका व्यवधान के छन् भन्नेजस्ता कुराका छलफलको पो सार्थकता हुन्छ । तर, सिर्जनात्मक विद्रोही चेतना भएका सबै युवायुवतीका आन्दोलनका प्रकृति र तिनका भनाइ बुझ्दा अहिलेका राजनीतिक दलले प्रस्तुत गरिबस्ने नाटकसँग तिनको सोझो सम्बन्ध देखिँदैन । पुष्पकमल दाहाल र केपी ओली, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल अनि कतै नलागी बीचमा खडा बस्ने, सायद राजनीतिमा पनि योगिक सामर्थ्य भएका, वामदेव गौतमका, यो संकटको बेला पनि छिनोफानो नगरी नहुने कर्मका खेल परेको बेला किन युवाहरूको विषयमा छलफल उठेका हुन् ? यो त नाटक लेख्ने विषय हो ।

पर्दा उघ्रिन्छ । रङ्गमञ्चमा ठीक ठीक ठाउँमा टेबल मिलाएर बस्ने, कत्ति पनि सेट नबिगार्ने, त्यत्ति कुरा गर्ने अनि फेरि सेटमा आएर पस्ने र त्यत्ति पाठ दोहोर्‍याउने, घोकेको पाठ बोल्ने, प्रकट र नेपथ्यका शब्द प्रयोग गर्ने, बाहिर देशभरि हाहाकार होस्, कोरोनाको विपत्ति मडारिइरहोस्, पहिरोले घर र गाउँ बगाओस् त्यसले के फरक पार्‍यो र भन्नेहरूको देह, वचन र कर्मको यो अभिनय भइबस्छ । टमस बेकेटको विश्वप्रसिद्ध विसंगत नाटक ‘गदोको प्रतीक्षा’ जस्तो । प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि त्यस्तै विसंगत नाटक मञ्चन हुन्छन् ।

एकाध दृश्यहरू हेर्दा, अध्यक्ष देउवा रङ्गमञ्चमा उदास उदास केवल हिँडिरहन्छन् । उनका कर्म र निर्णयले बूढादेखि युवासम्म गनगन गर्छन् । त्यो स्टेजमा कुन पुस्ताको मानिसले के भन्दै हिँड्छ प्रस्ट हुँदैन । यी त भए नाटकीय दलहरूका अवस्था । युवा राजनीतिको अहिले किन बहस उठेको छ भन्ने प्रश्न अर्थपूर्ण छ ।

आफ्ना ट्राटस्केली र अराजक सपनाबाट निस्किँदै थिएँ । त्यही बेला मैले भियतनाम युद्धबाट निस्केका, शीतयुद्ध र पुँजीवादी अवस्थाले प्रताडित भएका, अमेरिका र अरू पश्चिमा देशका विभेदकारी संस्कृतिले आफ्ना सिर्जनशील सपना क्षतविक्षत गराइदिन लागेको बोध भएका हिप्पी भनिने युवाहरूलाई भेटें । त्यही बेला पाटन कलेजमा अंग्रेजी पढाउन पुगेको म एक युवा शिक्षक पठनपाठन र लेख्ने कर्मलाई जीवनमा वरण गर्ने अठोट गरेर कार्यशील थिएँ । त्यही बेला यी पुष्पकमल दाहाल, एक शान्त र मिलनसार विद्यार्थी अघिल्लो बेन्चमा बीचबीचमा जीउ हल्लाएर बसेका हुन्थे । यिनले पछि नेपालमा माओवादी आन्दोलनद्वारा उथलपुथल ल्याउनेछन् भन्ने कुराको के कल्पना हुन्थ्यो र ! यस भनाइको अर्थ हो समय निकै बितेछ र इतिहास पनि उथलपुथल भएछ ।

लाग्छ, पुष्पकमल र उनका अरू कामरेड, पूर्वएमाले, कांग्रेस र अरू दलका नेताहरू क्रियाशील नै भए पनि सबै पाकै उमेरका भए । तर, देवेन्द्रराज पाण्डेले भनेजस्तो रूख रोप्ने जोस र सपना भएको मानिस जस्तो भए पनि युवक हो, अनि त्यो रूखमा मात्रै चढिबस्ने सपना भएको मानिस युवा भए पनि वृद्ध चेतनायुक्त हो । सिद्धान्त हो, सबै बूढाले रूख रोप्दैनन्, तर जनताको मुक्तिका निम्ति यिनमध्ये कतिले दुःख भने झेलेका छन् । नेपालमा अमेरिकामा जस्तो ‘जेरन्टोक्रेसी’ वा वृद्धतन्त्र आइसकेको छैन । युवा वृद्धसँग सम्झौता गरेर आएका उदाहरण छन् । गिरिजाबाबु र माओवादीको युगान्तकारी सम्झौता एउटा हो ।

तर केही विरोधाभास छन् । युवाहरूलाई राजनीतिमा आउने बाटा बन्द गर्नु अनि तिनले नेतृत्व लिएनन् भनेर कोक्किनु असंगत कुरा हो । इतिहाससँग संवाद गर्नुपर्छ । सन् ६० को दशकमा विश्वमा युवाहरूको तरङ्ग उठ्यो । अमेरिका, युरोप, चीन, दक्षिण एसिया सबैतिर त्यो लहर अनेकौं रूपले उठ्यो । सन् १९६८ को प्यारिस क्रान्ति वाचाल उदाहरण हो । प्यारिस क्रान्तिले विश्वव्यापी परिवर्तन ल्याइदियो । युगै परिवर्तन भयो । युवाहरूका आन्दोलनको अभीष्ट राजनीतिक अवश्य थियो, तर त्यो गम्भीर, सिर्जनशील र दूरगामी चिन्तनको उद्गमविन्दु भयो । नेपालमा पनि त्यही हो । मूलधारसँग मोहभंग भएपछि युवा विद्रोही हुन्छन्, जसका एकल चरित्र हुँदैनन् । सबैतिर युवाका विद्रोह प्रदर्शनकारी चरित्रका हुन्छन् । नेपालका सबै आन्दोलनमा देहमा पेन्टिङ् गरेर, लतिका र फूल बोकेर, संगीत बजाएर, नृत्य गरेर, प्रहरी दमन भोगेर युवाहरूले प्रस्तुति गरेका उदाहरण ताजै छन् ।

नेपालमा बूढाहरू ढिम्री कसेर नेतृत्वमा बसिरहे, युवाले मौका पाएनन् भन्नु सत्य हो । तर त्यो परिवर्तन गर्ने जिम्मा मूल रूपमा दलभित्र रहेका युवा जमातको नै हो । आफ्ना दलभित्र युवाहरूलाई बोलीहीन बनाउने अनि बाहिर युवाका शक्ति कहिले उठेर मद्दत गर्लान् भन्ने आशामा बस्नुमा समस्या छन् । बाहिर प्रदर्शन गर्ने युवाहरू सिर्जनशील हुन्छन्, युगका वाणी बोल्छन्, शाश्वत हुन्छन् अनि ती समाजका ऊर्जा शक्ति हुन् । त्यसमाथि बहस गर्नु मात्र सिर्जनात्मक अभ्यास हो ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh