०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

स्मृतिमा पत्रकार उमासिंह

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

• नित्यानन्द मण्डल
जनकपुरधामको गंगासागर पोखरीको दक्षिणी डिलमा रहेको स्वर्गद्वारी श्मसानघाटमा पत्रकार महासंघका तत्कालीन सभापति धर्मेन्द्र झा भकानो फुट्ने गरी रुदैं चिच्याउँदै थिए । मेरो नजिक आएर उनी रोइरहँदा मैले पनि मन थाम्न सकिन । मेरो एक दशकको पत्रकारिता र साहित्यिक यात्राको क्रममा सायद उनी आप्mनो जीवनमा पहिलोपटक यसरी रोएका होलान् ।

यसरी उनी रुनुको पछाडिको कारण भनेको २७ पुस, २०६५ मा रेडियो टुडेकी चर्चित समाचारवाचिका तथा स्वतन्त्र लेखिका उमा सिंहको हतियारधारी समूहद्धारा कायरतापूर्वक हत्याको वियोग थियो ।

धर्मेन्द्र दाई मात्रै कहाँ हो र ? उनीसँगै हिमाल खबर पत्रिकाका सम्पादक कनकमणि दीक्षित, नारायण वाग्ले, शिव गाउँले, संचारकर्मी प्रशान्त झा, यशोदा तिमिल्सिना, जनकपुर टुडेका सम्पादक वृजकुमार यादव, जनकपुर एक्सप्रेसका रामभरोष कापडी, वरिष्ठ पत्रकार राजेश्वर नेपाली सबैका आ“खा रसाएका थिए । यसरी संचारकर्मी मात्रै होइन उमाका सहकर्मी, शुभचिन्तक, परिवारजन सबै चिच्याउदै विलाप गर्दै थिए ।

उमाको अन्तिम संस्कारको दृश्य मेरो आँखाले कैद गरिराखेका थिए । म काम गर्ने रेडियो टुडे र जनकपुर टुडेमा कार्यरत थिईन्, उनी । त्यसैले उनीसँग बिताएका कतिपय स्मरणीय क्षणहरु छन् । तर ती सबैलाई उल्लेख गर्न मसँग सामथ्र्य छैन । यद्यपि, केही स्मरणहरुलाई उल्लेख गरिरहँदा मेरा आँखाबाट थोपाका थोपा आँशु किबोर्डमा अविरल झर्दै छन् । उनको हत्या भएको ११ वर्ष भयो । स्मृतिमा श्रद्धाञ्जलिका दुई पुष्प उमाप्रति समर्पित गर्न म विवश छु ।

उनीसँग बिताएका उल्लेखनीय धेरै क्षणहरु छन् । कुरा २०६५ पुस २७ गते आईतबारको हो । जुन साँझ उनको विभत्स हत्या गरियो । म सधैं ढिलो गरी ११–१२ बजेतिर कार्यालय पुग्थेँ । तर उमा म भन्दा अघि साढे ९ बजेदेखि नै अफिसमा समाचार वाचन गर्न र लेख्नमा व्यस्त हुन्थिन् । त्यो दिन अफिस पुग्दा व्यस्तताको कुनै परवाह नगरी उमा कुर्सीमा बसेर मज्जाले गीत सुन्दै थिईन् । गीत थियो– जीवला प्राण हम कतसँ बेसाही अर्थात बाँच्नलाई प्राण कहाँबाट किन्नु ।

मलाई हेर्ने बित्तिकै उनले सर नमस्कार, भनिन् मैले पनि नमस्कार फर्काए । उनको फुर्सदको कारण अरु केही नभएर लोडसेडिङ र नेटमा समस्या देखिएकोले हो । मैले यो मौकालाई सदुपयोग गर्दै कुराकानी अघि बढाए । उनले भनिन्, ‘सर तपाईहरुसँग (अंग्रेजी कार्यक्रम सञ्चालक सुदीप झा, सञ्चारकर्मी बटुक नाथ झा) हिजो साढे चार बजे तिर सामाजिक, सांस्कृतिक विषयमा जुन कुराकानी भो त्यसले मेरो मनलाई हलुंगो मात्रै बनाएन म आज बिहान ८ बजेसम्म मस्त निद्रामा निदाए ।’

सधैं रातिराति नसुत्ने र आफ्नो परिवार तथा बुवा र दाईको हत्याको पीडामा गल्दै गएकी उमाले हामीसँग कुरा गर्दा उनको मन हलुको हुन्थ्यो । जहिलेपनि समाचारका लागि बेचैन हुने र स्वस्थ, निर्भिक, साहसिक तथा जनहितमा समर्पित पत्रकारिता गर्ने उनी हामीसँग सुखदुःखका, हाँसो र रोदनका कुरा शेयर गर्थिन् । उनी म सँगै रेडियो टुडेको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘गरमागरम चाह’ पनि चलाउथिन् ।

केहि दिनअघि मात्र ‘गरमागरम चाह’ को नियमित संचालक बृजकुमार दाई जनकपुर भन्दा बाहिर रहनुभएकोले म र उमा नै कार्यक्रम चलाउदै थियौं ।

अहिले तीला संक्रान्तिको समय हो । मिथिलामा बहिनीकहाँ च्युरा, मुरही र तीलका लड्डु कोशेली लैजानु पर्ने परम्परा छ । मेरा पनि पाँच वटा बहिनी छन् । बहिनीकहाँ कोशेली पुर्‍याउन जान्छु । म भोलि आउदिन उमा तिमी एक्लै कार्यक्रम चलाउनू । मैले यति भनिनसक्दै बिचमै निश्छल र सहज स्वरमा उनले भनिन्,– सर हाम्रो लागि पनि च्युरा है । हस् हुन्छ । मैले जवाफ फर्र्काए । उनी कसैको भोज भतेर, चिया, नास्ता खाँदैन थिइन् ।

यसरी पत्रकारितामा संघर्ष, समर्पण, उच्च मनोबल तथा दृढ संकल्पका साथ अघि बढिरहेकी उमाका समाचार लेख्ने हात मात्रै होईन स्वर सुनाउने गलापनि ती क्रुर अपराधीहरुले साँझ सवा सात बजे रेटे । समाचार संकलन गर्ने उनको खुट्टापनि छिनालियो । क्षतविक्षत अवस्थामा रहेकी उमालाई स्थानीय केयर मेडिकल सेन्टरमा उपचार सम्भव नदेखिएपछि उनलाई चिकित्सकहरुको सुझाव अनुसार थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बर्दिबासमा राति सवा ११ बजे मृत्युवरण गरिन् ।

यस दुःखद सामाचारले म निकै स्तब्ध भए । तर पनि उमाले रोजेको साहासिक र निष्पक्ष पत्रकारिताको धर्म निर्वाह गर्दै पोष्टमार्टमका लागि उनको पार्थिव शरीरलाई राखिएको जनकपुर अञ्चल अस्पताल, शवलाई नगर परिक्रमा गराउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा गरिएको धर्ना तथा अन्त्येष्टि लगायतका सम्पूर्ण समाचार संकलन गर्ने क्रममा २९ पुस, २०६५ मा श्मसानघाटमा उपस्थित भएका सम्पूर्ण शुभचिन्तक, सञ्चारकर्मी, परिवारजन लगायतका व्यक्तिहरुको मुख अगाडि रेकर्डर राखेर आवाज लिए । यो गर्न मलाई असाध्यै गाह्रो भइरहेको थियो ।

म मात्र होइन सबै रोएका थिए । कति त छिन छिनमै बेहोस पनि हुने गर्थे । यसै क्रममा चिच्याँउदा चिच्याँउदै बेहोस हुने गरेकी उनकी आमालाई सोधे काकी अब तपाई के चाहनुहुन्छ ? उनले बेस्सरी चिच्याउदै भनिन्–मलाई मेरो उमा चाहिएको छ । म आफूलाई थाम्दै हृदयलाई कठोर बनाएर ती स्वर आफ्नो रेकर्डरमा कैद गरे तर केहि दूरीमा रहेको चितामा उनको शरीर जलिरहेको थियो । धुँवाका लप्काले आकाश छुन आँटेका थिए ।

सायद उनी हामी सबैलाई सधैंका लागि छोडेर परलोक जाँदै थिईन् । अब समाचार उमाले पढ्दिनन् भन्ने मलाई विश्वास लागेकै थिएन । तर सत्यको आभास हुनेबित्तिकै मर्माहत भए । उमाले त अब रेडियोबाट मात्रै होईन संसारबाटै बिदा लिईसकेकी थिइन् । यसरी निहत्थाको कलम र आवाजलाई नृशंसतापूर्वक सधैंका लागि बन्द गरियो ।

उनको मृत्यु भएदेखि नै एकचोटी फेरि उनीसँग भेट्ने मेरो प्रबल इच्छा छ । उनीसँग धेरै नै सामाजिक, राजनीतिक, सांस्कृतिक र महिला हकअधिकारको सम्बन्धमा कुरा गर्नु छ । मलाई लाग्छ उनले मेरो यो आग्रहलाई अस्वीकार गर्नेछैनन् ।

पत्रकारितामा मानसम्मान खोज्नु हुँदैन् सबैसँग सहज रुपमा कुरा गर्नुपर्छ भन्ने उनको मान्यता थियो । यस्तो स्थितिमा उनी कसरी आउन् सक्थिन् । पत्रपत्रिका, कार्यालय तथा धर्ना जुलुसमा राखिएको उनको तस्वीरतर्फ म हेर्दै थिएँ र उनी पनि हेर्दै थिइन् । धैर्य र शक्ति सञ्चय गर्दै उमाको पत्रकारिताको अभियान रथलाई अगाडि बढाउने वाचाका साथ स्मृतिका क्षणहरु संगाल्दै छु ।

यति मात्रै कहाँ हो र ? सत्य, अहिंसाको संस्कृति तथा सन्तको शहर जनकपुरधाममा जनकपुर टुडे सञ्चार समूहका सञ्चालक तथा सञ्चार उद्यमी अरुण सिंघानियाँको पनि हत्या भयो । एक पछि अर्को कलमबाहक तथा कलमका समर्थकहरुको हत्या गरिनुले हाम्रो संस्कृतिलाई गिज्याएको अनुभव हुँदैछ । राज्य सरकार, सुरक्षा संयन्त्रप्रति नै आक्रोश उत्पन्न हुन्छ । अब रोकिनुपर्छ जनकपुरमा हत्या, हिंसाका श्रृंखला । र, त अहिले नांगो तलबारमाथि जनकपुरधामको पत्रकारिता हिँडेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन् ।

यसरी उमा सिंहको हत्या भएको १२ वर्ष बिते पनि पत्रकार, पत्रकारिता, महिला पत्रकार, सञ्चार जगतका समस्या स्थानीय स्तरमा ज्यूँका त्यूँ छन् । भलै सञ्चार जगतमा भएको अकल्पनीय विद्युतीय माध्यमको प्रयोगले यसलाई विकसित तथा प्रभावकारी बनाइएपनि अझै यसका वस्तुगत समस्याको समाधान भने हुन सकेको छैन् । क्रियाशील सञ्चारकर्मीहरु अझै असुरक्षाको बोध गर्दैछन् । उनीहरुले आर्थिक असुरक्षादेखि लिएर रिपोर्टिङ गर्ने क्रममा पनि ज्यानमार्ने धम्की समेत खेप्दै आएका छन् ।

स्थानीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल आदिमा यिनै विषयवस्तुले प्राथमिकता पाएका छन् । सञ्चारमाध्यमको मुख थुन्नका लागि राज्यले अंकुश लगाउँदै छन् । धमाधम सञ्चार सम्बन्धी विधेयक, ऐन, नियमहरु संघदेखि प्रदेशसम्म पनि पास हुँदैछन् । तर पनि पत्रकारको आर्थिक समृद्धि, जीउधनको सुरक्षाका लागि अग्रसरता देखाईदैन् । सुचनाको हकको प्रत्याभूति जनताले त के पत्रकारले पनि गर्न सकेका छैनन् । उनीहरुले दिएका सूचनाको हकका निवेदनलाई जनप्रतिनिधीहरुले टेरपुच्छर लाउँदैनन् ।

जति महिलाहरु पत्रकारिता पेशामा प्रवेश गरेका छन् । ती मध्ये थोरै मात्र यो पेशामा टिकेका छन् र तीमध्ये थोरैले मात्रै राम्रो अवसर पाएका छन् । हरेक सञ्चार संघसंस्थामा नेतृत्वदायी तहमा उनीहरुको उपस्थिति न्यून छ । जब नीति निर्माण तहमा उनीहरुको सहभागिता नै छैन भने यसका अवयवहरु कसरी लैंगिकमैत्री बन्न सक्छन् । यिनै र यस्तै सवालका साथ उमा सिंहलाई सम्झिँदै मुलुकका विभिन्न स्थानहरुमा बहस जारी छ । यस्ता बहसहरुलाई तार्किक निष्कर्षमा पुर्‍याएर कार्यान्वयनको पक्षमा जोडदार वकालत गर्नु र कार्यान्वयन गर्नु, गराउनु आजको अपरिहार्य आवश्यकता देखिन्छ । यसरी उमा शहीद भएपनि यहाँ विभिन्न वहानामा हरेक क्षण सञ्चारको घाँटी निमोठ्दिैछ, बेलैमा सर्तक रहन जरुरी छ ।

सलाम उमा । हार्दिक श्रद्धाञ्जलि ।

(लेखक जनकपुरधामबाट प्रकाशन हुने न्यूजपेपर दैनिकका सम्पादक हुन् ।)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]