०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

प्रभु हस्पिटलको ठगिधन्दा : उपचारको नाममा बिरामीसंग रकम ठग्दै

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ ।

प्रभु हस्पिटल नाम मात्रैको प्रभु भएको छ । स्थापनाकालदेखि नै कामको आधारमा ज्यानमारा हस्पिटलको नामले चर्चित प्रभु हस्पिटलले महामारीको मौकामा चौका हान्दै ठगी धन्दा शुरु गरेको पाइएको छ । वीरगञ्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरले विरामीसँग मनपरी शुल्क लिएको पोल खुलेको छ । अस्पतालले विरामीसँग अक्सिजन वापत ८ गुणा बढीसम्म रकम असुल गरेको खुलेको हो ।

अस्पतालमा भर्ना भएकी एकजना विरामीको परिवारसँग अस्पतालले ८ दिनमा अक्सिजनका लागि मात्र १ लाख १ हजार रुपैयाँ असुल गरेको छ । उक्त रकम सामान्यको तुलनामा ८ गुणाभन्दा पनि बढी हो । चिकित्सकका अनुसार विरामीको उपचारका लागि एकदिनमा अधिकतम ५ वटासम्म ठूलो अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । एउटा अक्सिजनको ठूलो सिलिण्डर भराउन बढीमा ५ सय ३० रुपैयाँसम्म लाग्छ । अस्पतालको ढुवानीलगायत खर्चहरु जोड्दा पनि अक्सिजन वापत लिएको रकम जायज नभएको ति चिकित्सकले बताए ।

‘हाईफ्लो अक्सिजनमा विरामीलाई राख्दा बढीमा ४ वटासम्म ठूलो सिलिण्डर खपत हुने गरेको छ । तर त्यो हिसाबले जोड्दा पनि ८ दिनको ३०÷४० हजार रुपैयाँ भन्दाबढी शुल्कलाई स्वभाविक भन्न सकिंदैन ।’ कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित बैशाख २७ गते अस्पताल भर्ना भएकी सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ९ की ६५ वर्षीय उर्मिला देवीको परिवारसँग पानिट्याङ्किस्थित प्रभु अस्पतालले ८ दिनको २ लाख १ हजार ४ सय ५० रुपैयाँ असुलेको पाइएको छ । जसमध्ये अक्सिजनका लागि मात्र अस्पतालले १ लाख १ हजार रुपैयाँ लिएको बिलमा उल्लेख गरिएको छ ।

जेठ ४ गते उर्मिला देवी डिस्चार्ज हुँदा अस्पतालले अक्सिजनका लागि १ लाख १ हजार, नर्सिङ्ग केयरका लागि ९ हजार, नेबूलाईजेसनका लागि ५ हजार २ सय, डाक्टर भिजिटका लागि १८ हजार ५ सय, कोभिड किटका लागि १३ हजार ५ सय, बेड चार्जका लागि ५४ हजार र अन्य शुल्क २ सय ५० रुपैयाँगरी २ लाख १ हजार ४ सय ५० रुपैयाँ असुल गरेको पाइएको छ । यस बाहेक अस्पतालले औषधी र अन्य जाँचका लागि थप ५० हजार रुपैयाँ लिएको उर्मिलाका छोरा सञ्जय रस्तोगीले बताए । अर्कोतर्फ, अस्पतालले बिलमा कुन सामग्री कति लागेको भन्ने विवरण पनि खुलाएको छैन ।

अस्पतालसँग के सामग्री कती लागेको भनेर प्रश्न गर्दा त्यसको विवरण खुलाउन नमिल्ने भन्ने जवाफ आएको रस्तोगी बताउँछन् । रस्तोगीका अनुसार अस्पतालले उनिसँग अक्सिजन वापत प्रतिघण्टा ५ सय रुपैयाँको दरले पैसा लिएको छ । आमालाई भर्ना गर्ने समयमा अस्पतालले सेवाहरुको शुल्क दर अर्कै बताएर डिस्चार्ज गर्ने दिन त्योभन्दा बढी रकम लिएको उनको आरोप छ । आमालाई सन्चो नै नभई अस्पतालले डिस्चार्ज गरेको उनले बताए । ‘सुरुमा भर्ना गर्न त ग¥यो तर पछि कोरोना जस्तो लक्षण देखिएपछि यहाँ उपचार गर्न मिल्दैन, अन्तै लानुहोस् भनेर आमालाई सन्चै नभइ अस्पतालले डिस्चार्ज ग¥यो,’ रस्तोगीले भने ।

अस्पतालले कोरोना महामारीको समयमा समेत उपचार गराउन भर्ना भएका सङ्क्रमितका परिवारसँग यसरी चर्को शुल्क असुल गरेको बिल सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा गएरातिदेखिनै विलको तस्विर राखेर स्थानीयले कोरोना सङ्क्रमितको उपचारको नाममा अस्पतालले ब्रहमलुट मच्चाएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा अस्पताललाई कारवाही गर्नुपर्ने माग समेत उठेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अस्पताललाई कारवाही गरिने बताए । यस विषयमा बुझेर अस्पतालमा अनुगमन गर्ने पौडेलको भनाई छ । ‘अक्सिजनको नाममा अस्पतालले त्यत्रो रकम असुल गर्न मिल्दैन । हामीलाई जानकारी आएको छ, अनुगमन गरेर आवश्यक कारवाही गर्छौँ,’ पौडेलले भने ।

प्रभु अस्पतालका सञ्चालक वरिष्ठ सर्जन डा. मनोज गुप्ता र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता हुन् । उनीहरु श्रीमान् श्रीमती हुन् । डा. गुप्ताले बिलमा त्रुटी भएको कारण भ्रम सृजना भएको बताए । विरामीलाई सीप्याप र भेन्टीलेटरमा राखीएपनि बिलमा त्रुटीबस अक्सिजन मात्र लेखिंदा भ्रम सृजना भएको डा. गुप्ताको कथन छ । उनले अस्पतालले विरामीसँग कुनै अनावश्यक शुल्क नलिएको दावी गरे ।

यसअघि पनि अस्पताल विभिन्न कारणहरुले विवादमा तानिदै आएको थियो । २०७६ पुष ९ गते प्रसुती गराउन अस्पताल गएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ भगवती टोल बस्ने ३० वर्षीय अमृता श्रेष्ठको मृत्यु भएको थियो । त्यस्तै बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती पंचरौता निवासी २५ वर्षीय सुनिता देवीको पनि मृत्यु भएको थियो ।

एकैदिन अस्पतालकी डा. लक्ष्मी थापाले शल्यक्रिया गरेका दुई जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकको लाइसेन्स खारेज गर्न भन्दै डा. थापाविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए । त्यसपछि पनि अस्पताल विभिन्न कारणवश विवादमा तानिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]