२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

रेशम चौधरीकी पत्नी भन्छिन्– उहाँ जनताको मनमा बस्नुभएको छ, संसदीय चुनावमा म लड्छु !

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

न्यूजमधेश डेस्क
टीकापुर,९ जेष्ठ । स्थानीय तह निर्वाचन परिणामअनुसार कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको छ । यहाँ गठबन्धन गरेर पनि कुनै पार्टीले तीनभन्दा बढी पालिका जित्न सकेनन् । तर चौधरीको पार्टी नागरिक उन्मुक्तिले एक्लै गठबन्धनलाई समेत पराजित गरी चार पालिका जितेको छ । कैलालीमा १३ स्थानीय तह छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले हराएका चौधरीको पार्टीले अहिले उनको निर्वाचन क्षेत्रका स्थानीय तहमा एकलौटी जित्न सफल भएको हो ।

निर्वाचन आयोगमा दर्ता भएको पाँच महिना नपुग्दै कैलालीमा ठूलो शक्तिका रूपमा उदाएको पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा पनि धेरै सिट जित्ने दाबी गरेको छ ।

२०७२ भदौ ७ गते टीकापुर घटनामा दोषी ठहरिया चौधरी अहिले कारागारमा छन् । उनकी श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष बनेर खोलेको नागरिक उन्मुक्ति पार्टीले रेशमलगायत बन्दीहरूको रिहाइका लागि पहल गर्ने बताएको छ ।

रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यसपटक उनकी श्रीमती निर्वाचनमा होमिने तयारीमा छिन् । स्थानीय तहमा पाएको सफलतालाई नागरिक उन्मुक्ति पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निरन्तरता दिन सक्ला त ? प्रस्तुत छ, स्थानीय तहको उपलब्धि र आगामी रणनीतिका विषयमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीसँग गरिएको कुराकानी मधेश विषेशमा–

• स्थानीय तह निर्वाचनको परिणामलाई कसरी लिनुभएको छ ?

हामी धेरै सफल भएका छौं । हाम्रो पार्टी दर्ता भएको चार महिना पनि भएको थिएन । पार्टीको प्रमाणपत्र पाएको तीन महिनाभित्रै स्थानीय तहको निर्वाचनमा होमिनु हाम्रो लागि निकै ठूलो चुनौती थियो । यसका बाबजुत पनि जुन परिणाम आयो, यो हाम्रो उपलब्धी हो ।

• कैलाली, कञ्चनपुर मात्रै नभइ अन्य जिल्लामा पनि उम्मेदवारी दिनु भएको थियो । तर, कैलालीका चार पालिमा मात्रै जित्नु भयो । अनि कसरी सफल भन्नुहुन्छ ?

धेरै ठाउँमा जित हासिल गर्छौं भनेर हामी लागेका थियौं । तर, रेशम जीको आफ्नो क्षेत्रमा हामीले जित्न सफल भयौं । त्योसँगै कैलाली क्षेत्र नम्बर ३ को भजनीमा पनि हामीले जित हासिल गरेका छौं ।

बर्दगोरिया, लम्की चुहा, बर्दिया, दाङमा पनि हामीले उम्मेदवारी दिएका थियौं । त्यहाँ पनि मत परिणाम त राम्रै आएको थियो । तर, जितसम्म पुग्न सकेनौं । त्यहाँबाट राम्रो मत आएका कारणले पनि हामी सफल भएको मान्छौं ।

आमनागरिकले हामीलाई गरेको विश्वासकै परिणाम हो यो । जनता जनार्दन हुन् । जनताले हामीलाई नै रोज्नु भयो । त्यहीं भएर पनि हामीले यो उपलब्धी पाएका हौँ ।

• कुनै दलसँग चुनावी तालमेल गरेको भए बढी ठाउँमा जितिने रहेछ जस्तो लागेको छ कि छैन ?

त्यस्तो हामीलाई लागेको छैन । हामीले सुरुबाटै एक्लै निर्वाचनमा होमिने भन्दै हिँडिरहेका थियौं । विभिन्न पार्टीहरूले तालमेल गर्ने कुरा गर्दा पनि हामी एक्लै नै अगाडि बढेका थियौं र एक्लै नै सफल पनि भयौं ।

• अब जिल्ला समन्वय समिति बनाउनेबारे के सोच्नु भएको छ ?

त्यसका लागि हामीले छलफल गरिरहेका छौं । कुन दलसँग मिलेर जाने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन ।

• यसअघि कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरी उम्मेदवार बन्नु भएको थियो । अहिले उहाँ कारागारमा हुनुहुन्छ । अब त्यो क्षेत्रबाट तपाईं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै छ । अबको केही महिनापछि निर्वाचन हुनेछ । त्यसको पनि हामी तयारीमा छौं । र उक्त क्षेत्रमा मेरो उम्मेदवारी हुन्छ ।

• स्थानीय तह निर्वाचनको लागि प्रचारमा जाँदा रेशम चौधरीप्रति आमनागरिकको बुझाइ कस्तो पाउनु भयो ?

उहाँ नागरिकको मन मनमा बस्न सफल हुनुभएको छ । अहिले मात्र होइन, २०७४ सालमा पनि यहाँका मतदाताहरूको मनमा बस्न सफल रेशम भएका कारण चुनाव जित्नुभयो ।

अहिले पनि रेशम चौधरीको पार्टी भन्नेबित्तिकै सबै नागरिकहरूले विश्वास गर्नुभएको छ । हामी भर्खरै खुलेका हौं, तर पनि सबै नागरिकहरूले हामीलाई धेरै विश्वास गर्नुभएको छ । यो रेशम जीका लागि आएको मत पनि हो ।

चुनाव जिते उहाँको रिहा हुन्छ भन्ने प्रचारका कारण जितेको भन्ने आरोप छ नि !

होइन, हामीले यो एजेण्डा बनाएका छैनौं । हामी जुन–जुन ठाउँमा भोट माग्न गएका थियौं, उहाँहरूले नै भन्नुहुन्थ्यो– हामीले रेशम चौधरीलाई भोट दिए उहाँ हाम्रो गाउँमा फर्किएर आउनु हुन्छ । हामीले भोट दिएर हाम्रो रेशम चौधरीलाई रिहा गराउन सक्छौं ।

भोट दिएपछि रेशम चौधरी रिहा हुनुहुन्छ भनेर हामीले भनेका थिएनौं ।

• उहाँको रिहाइ त यो जनमतबाट सम्भव छैन । थप के पहल गर्नुहुन्छ ?

हाम्रो क्षेत्रबाट उहाँको रिहाइको लागि पहल नगर्ने कुरा छैन । हामी निरन्तर लागिरहेका छौ । अझै पनि लागिरहने छौं ।

रेशम चौधरीको मात्र कुरा पनि होइन, २०७२ सालमा अरू पनि राजबन्दीहरू हुनुहुन्छ, उहाँहरूको पनि रिहाइको कुरा हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न कारागारहरूमा कयौं राजबन्दीहरू राखिएका छन् । उहाँहरूको रिहाइको लागि हामी पहल गर्नेछौं ।

• अदालतले दोषी ठहर गरेका चौधरीलगायत नेताहरूको रिहाइ सम्भव होला त ?

सम्भव छ । यो कुनै आपराधिक घटना होइन, राजनैतिक घटना हो । त्यसैले सम्भव छ ।

अहिले चौधरी बाहुल्यता भएको क्षेत्रमा मात्रै तपाईंहरूको पार्टी केन्द्रित छ नि !

होइन, यो पार्टी हरेक क्षेत्रमा अगाडि बढ्छ । अहिले पनि हाम्रो उम्मेदवारी इटहरीबाट पनि भएको थियो । मोरङबाट पनि भएको थियो । रेशम जीको क्षेत्र कैलाली भएको हुँदा मात्रै अरूलाई यस्तो लागेको हो ।

• रेशम चौधरीकाे साख जोगाउन तपाईं सफल हुनुहोला त ?

अवश्य पनि त्यो मत पाउँछु । त्यसमा ढुक्क छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]