०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

चुनौती र जिम्मेवारी दुवै थपिएको छ : डा.सीके राउत (अन्तर्वार्ता)

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतसंग स्थानीय तह निर्वाचन २०७९ को समिक्षाको विषयमा मधेश विषेशका लागि संचारकर्मी रामसुकुल मण्डलले गरेका कुराकानीको सम्पादित अंश ।  
० स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको समीक्षा कसरी गर्नुभएको छ ?

— जनमत पार्टीले अपेक्षा गरे जस्तो परिणाम आउन सकेन । हामीले ४० भन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्ने अपेक्षा गरेका थियौँ । त्यसअनुसारको परिणाम आएको छैन । यसका विविध कारणहरू छन् । निर्वाचन यतिको धाँधलीपूर्ण होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ । पैसाको दुरूपयोग, चलखेल र खरिद बिक्री होला भन्ने अपेक्षा पनि थिएन । त्यो आधारमा निर्वाचन बढी नै धाँधलीपूर्ण रह्यो । कर्मचारीहरूसँग मिलेमतो, प्रहरी प्रशासनसँग मिलेमतो र नगर प्रहरीहरूसँग मिलेमतो भएको हामीले पाएका छौँ ।

० भनेपछि स्थानीय तहको निर्वाचनमा धाँधली भयो ?

— हो, यो कुनै एउटा ठाउँ वा एउटा जिल्लामा मात्र नभएर धैरै ठाउँमा एकै प्रकृतिका घटनाहरू दोहोरिएका छन् । मचुल्कामा भन्दा बढी मतपत्र मतपेटिकामा भेटिनु, मतगणनामा धाँधली हुनु, कतिपय ठाउँमा बुथ नै कब्जा गरिनुलगायत घटनाहरू भएका छन् । त्यति मात्र होइन मृत्यु भइसकेका र वैदेशिक रोजगारमा गएकाहरूको पनि मत खसेको अवस्था छ । सत्ता पक्षले आचारसंहिताको व्यापक उल्लंघन ग¥यो । यस विषयमा भिडियो प्रमाणसहित हामीले खबर गर्दासमेत प्रहरी प्रशासनले वास्ता गरेन । चुनाव धाँधलीपूर्ण भयो भनेर हाम्रो पार्टीले आधिकारिक रूपमा प्रेस विज्ञप्ति निकालेर नै विरोध गरेको छ ।

० पैसाको चलखेल र सत्ताको दुरूपयोग भएको तपाईँको आरोप हो ?

— हो, जनमत पार्टीलाई परास्त गर्न सबै पार्टी एकजुट भएर जानुपर्छ भनेर मन्त्रिपरिषद्भित्र छलफल नै भएको कुरा मैले सुनेको थिएँ । गठबन्धन हाम्रो पार्टीप्रति लक्षित देखिएको अवस्था हो । हाम्रो मेयरकै उम्मेदवार कुटिँदासमेत प्रहरी प्रशासनले एक्सन लिएन । मतदाताहरूलाई धम्क्याउने काम भयो । मतदाताहरूलाई अवरोध श्रृजना गर्ने कामसमेत गरियो । हामीले जित्ने सम्भावना भएका ठाउँमा बुथ कब्जा भएको छ । त्यो ठाउँमा मतपेटिका लुटिएको छ । दर्जनौँ ठाउँमा मतदान स्थगित गर्न लगाएर फेरि पैसाको चलखेल गरी सत्ताको दुरूपयोग गरिएको अवस्था छ ।

० तर, काठमाडौँमा स्वतन्त्र उम्मेदवार नै अगाडि आएका छन् नि ? खोइ त त्यहाँ सत्ताको दुरूपयोगको कुरा ?

— काठमाडौँलाई अन्य ठाउँसँग तुलना गर्न मिल्दैन । त्यहाँको साक्षरता दर, जनचेतनाको स्तर, मिडियाको पहुँचलगायतका कुरा फरक छन् । तर, मधेशका गाउँमा कुनै मानिसको हत्या हुँदासमेत कुनै मिडिया आउँदैन । धनुषामै भोट नदिएको भन्दै एक बालकको बलात्कारको घटना सार्वजनिक भएको छ । गाउँघरमा फरक अवस्था छ । मत नदिएकै आधारमा त्यहाँ ठूलो विभेद हुन्छ । गाउँबाट निष्कासित गर्ने अवस्था आउँछ । गाउँमा नाकाबन्दी लगाइदिने, खोत जोत्न नदिने, विभिन्न यातना दिने, कुटपिट गर्नेलगायत कुरा सामान्य नै छन् । त्यसैले सत्ता शक्ति र पैसा भएकाहरूले नै प्रायः जित्नुको कारण पनि यही हो ।

० जनकपुरधाममा पनि त स्वतन्त्र उम्मेदवार जितेको अवस्था छ नि ?

— होइन, दिग्भ्रमित हुनुपर्दैन । जनकपुरधाममा विजयी भएका उम्मेदवार स्वतन्त्र होइनन् । कांग्रेस भनेरै उनलाई कांग्रेसजनले जिताएका हुन् । त्यसैले उनी स्वतन्त्र भएर उठेको भन्नै मिल्दैन । उनी प्राविधिक रूपमा मात्र स्वतन्त्र हुन् ।

० तपाईँहरू चुनावमा असफल हुनुभएको हो कि पैसाको चलखेल गरी असफल बनाइएको हो ?

— यो चुनाव जनतालाई र बाहिरी शक्तिहरूलाई देखाउने एउटा षड्यन्त्र मात्रै हो । यसको प्रतिकार पनि हुनेछ । विस्तारै जनता सचेत हुँदैछन् । यसपटक काठमाडौँका जनता सचेत भए । त्यसको प्रभाव पर्छ । मिडियाहरूले पनि यसमा आफ्नो सक्रिया भूमिका निर्वाह गर्छन् भन्ने हामीलाई लागेको छ । जनता नजागेसम्म र जनता आफै सचेत नभएसम्म यो प्रक्रिया दोहोरिइरहनेछ ।

० जनता सचेत भएका छैनन् ?

— कसरी भन्ने सचेत ? हजार रूपैयाँमा मत बेचिराखेका छन् । त्यो जनतालाई कसरी सचेत भन्ने ? पाँच वर्ष हाम्रो पार्टीमा बस्छन्, जहिले पनि सत्ताधारीलाई गाली गर्छन् । अनि ठयाक्कै भोट दिने बेलामा ती दललाई भोट दिन्छन् । त्यो जनतालाई कसरी सचेत भन्ने ?

० तर, तपाईँहरूले जनता जागिसकेका छन् भनेर भन्दै आउनुभएको थियो नि ?

— खोइ, जाग्यो भन्ने कि के भन्ने ? मौन अवधिमा पैसा समात्छन्, रक्सी समात्छन्, सुत्छन् अनि भोट त्यही दललाई हाल्छन्, जसलाई पाँच वर्षदेखि गाली गरिरहेका हुन्छन् ।

० अपेक्षाकृत नतिजा ल्याउन नसकेको अवस्थामा आगामी दिन कत्तिको चुनौतीपूर्ण छ तपाईँहरूका लागि ?

— व्यापक चुनौती छ । किन भने हामी नयाँ पार्टी हौँ । हामीसँग आर्थिक कुनै श्रोत र साधन छैन । हामी निष्पक्ष रूपमा एजेन्डाको राजनीति गर्ने हो । जनतामा चेतना अभिवृद्धि गरेर राजनीति गर्ने हो । तर, यसको सम्भावना विस्तारै कम हुँदै गएको छ । सम्भावना छोडेको अवस्था देखिँदैछ । यसलाई राज्यले नियन्त्रण गर्न सकेन भने केही हदसम्म क्रान्ति नै हुने सम्भावना म देख्दैछु । काठमाडौँमा यसपटक एउटा उभार त देखियो । ३० वर्षदेखि राज्य सत्तामा रहेका पार्टीहरू भ्रष्ट भए, अनियन्त्रित भए, मनपरी गरे भन्ने जनचेतना देखियो । भोलिका दिनमा स्वतन्त्र उम्मेदवार जितेर पनि काठमाडौँमा काम गर्न पाएनन् भने क्रान्ति नै हुन सक्ने सम्भावना पनि रहेको छ । पार्टीहरूको विरूद्धमा आन्दोलन हुन सक्छ ।

० तपाईँले अन्य दलसँग गठबन्धन गरेको भए परिणाम फरक आउँथ्यो कि ?

— निश्चित रूपमा परिणाम फरक आउँथ्यो । पहिलो चुनाव भएकाले पनि हामीले पहल गरेनौँ । आगामी चुनावमा गठबन्धनका लागि पहल हुन सक्छ । गठबन्धनले निश्चय नै फरक पार्छ ।

० एमालेबाट परिचालितको आरोप पनि लाग्ने गरेको छ नि ?

— एमालेसँग सत्तामा बस्ने अरू पार्टी, एमालेसँग १८ महिना सत्तामा अरू पार्टी, मन्त्री बन्ने तिनीहरू अनि दोष चाहिँ हामीलाई लगाएर भएन । यो भन्ने कुरा मात्र हो । स्थानीय चुनावका बेला पनि जनमत पार्टीले गठबन्धन ग¥यो भनेर समाचारहरू आउने गरेका थिए । तर, के हामीले कतै गठबन्धन ग¥यौँ त ? सबै ठाउँमा हामीले उम्मेदवार उठायौँ । कतिपय ठाउँमा टक्कर नै एमालेसँग भएको थियो ।

० अबको चुनावमा गठबन्धन हुन सक्ने भन्नुहुन्छ । अब हुने गठबन्धन सिद्धान्तका लागि हुन्छ कि चुनाव जित्न ?

— दुइटै कुरा छन् । नीति सिद्धान्त पनि अलिअलि मिल्नुप¥यो । जित्नका लागि उपयुक्त के हुन्छ त्यो पनि हेर्नुप¥यो ।

० प्रदेश र संघको चुनावको तयारी कसरी गरिरहनुभएको छ ?

— तयारी अहिले हामीले थालेका छैनौँ । विस्तारै उम्मेदवार छनौट प्रक्रियामा जान्छौँ । जनताबीचमा हामी गएकै छौँ । हामी गाउँगाउँसम्म पुगेका छौँ । यसपालि सशक्त उम्मेदवारहरू चयन गर्छौँ । स्थानीय चुनावमा हामी भावनात्मक रूपमा गयौँ । आदर्शवादी रूपमा गयौँ । कसले जित्न सक्छ भन्दा पनि कत्ति वर्षदेखि संगठनमा लागेका छन् भन्ने विषयलाई प्राथमिकतामा राख्यौँ । योगदान, त्याग र तपस्यालाई आधार बनाएर हामीले टिकट वितरण गर्यौँ । त्यो पनि हारको एउटा कारण हो । हामीले आर्थिक रूपले सबल उम्मेदवारलाई टिकट दिएनौँ । हामीसँग बाध्यता पनि थियो । कम्तिमा एकपटक त उहाँहरूलाई टिकट दिनुपर्छ । अब यसपाली यो बाध्यता हुने छैन । जित्ने सशक्त उम्मेदवार खडा गर्छौँ ।

० प्रदेश र संघको चुनावमा उम्मेदवार छनोट कसरी गर्नुहुन्छ ?

— सम्बन्धित क्षेत्रमा व्यक्तिगत रूपमा उनको पकड कस्तो छ त्यो कुरालाई प्राथमिकतामा राख्छौँ । साथै, आर्थिक रूपमा कत्तिको सबल छ भन्ने कुरा पनि हेर्छौँ । आर्थिक रूपमा सबल छ÷छैन भन्ने कुरा पनि हेर्नै पर्छ । बदनाम नभएका र भ्रष्टाचारमा नलागेका उम्मेदवारहरू छनौटमा पर्ने छन् । हाम्रो भिजनलाई अगाडि बढाउन सक्ने उम्मेदवार छनोट गर्छौँ ।

० मधेशकेन्द्रित दलहरू विस्तारै ओरालो लाग्दै छन् । यो चुनावले पनि यसलाई प्रमाणित गरेको छ । मधेश आन्दोलनको रापताप सकिँदै गएको हो ?

— मधेशकेन्द्रित दलहरूले आफूहरू मधेशी दल होइन भनेर भन्दै आएका छन् । राष्ट्रिय पार्टीका रूपमा स्थापित हुने चाहना यी दलहरूमा देखियो । यो स्वभाविक नै थियो एक हिसाबले । जनताले पनि के सोचे भन्दाखेरि यी दलहरूलाई छनोट गर्नुभन्दा कांंग्रेस र एमालेमा नै किन भोट नदिने ? यो सोच जनतामा देखियो । आफ्नो काम कांग्रेस एमालेबाटै गराउने हो भने सिधै यही दलहरूलाई चयन गरे भइहाल्यो नि भन्ने सोच जनतामा देखियो ।

० यो अवस्थाले तपाईँलाई चुनौती बढाएको छैन ?

— चुनौती हामीलाई पनि छ । राज्य पक्ष चाहिँ सबैसँग समान व्यवहार गरोस् । निष्पक्ष निर्वाचन गराओस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

महोत्तरी । देशका अन्य भागको तुलनामा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरूले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरूको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । मधेसी आयोग नेपालले प्लान […]