०३ मंसिर २०८२, बुधबार
19-11-2025 , Wed
×

सडक विस्तारले उठिवासको जोखिममा डोम समुदाय

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

सुरेन्द्र कुमार कामती, सिरहा।चहलपहल भइरहने बरियारपट्टी चोक हुलाकी सडक विस्तारको क्रममा छ । सडक विस्तारले उठिवासको जोखिममा छन्, जिल्लास्थित बरियारपट्टी–३ का डोम (मल्लिक) समुदाय । सात घरपरिवारका ४० जना जातीय विभेद र छुवाछुतसँगै आवश्यक आधारभूत आवश्यकतादेखि कोसौँ टाढा छन् ।

शुद्ध खानेपानी र शौचालय अभावजस्ता समस्यासँग जुझ्दै आएका छन् उनीहरू । संघ, प्रदेश र स्थानीय सरकारले खानेपानी, सडकको नाममा करोडौँ खर्चिएका छन् । तर, यो समुदायका आधारभूत आवश्यकता पूर्ति गर्न ध्यान नदिएको उनीहरूको गुनासो छ ।

•उठिवासको खतरा
हुलाकी सडक निर्माण भइरहेको छ । सडकछेउमा उनीहरूको बस्ती छ । सडकको वारिपारि १५–१५ मिटर सडक विस्तार गर्दा कसैको पनि घर बच्दैन । दुई वर्षअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरियारपट्टी चोकमा हुलाकी सडकको शिलान्यास गरेका थिए । उनीहरूका लागि सरकारी आवासको पहल अझै हुन सकेको छैन ।

• एउटा मात्रै हातेकल
डोम समुदायका लागि सडकछेउमा रहेको एउटा हातेकल खानेपानीको सहारा बनेको छ । नुहाउने, लुगा धुने, खाना पकाउन र पानी खानसमेत त्यही एउटा हातेकलको भर पर्नुपरेको भोगी मल्लिकले बताए । ‘स–साना बालबालिका पानी लिन जान्छन्,’ भोगी भन्छन्, ‘कतिखेर गाडीमा ठोक्किने हो ठेगान छैन ।’
हातेकल बिग्रियो भने मर्मत नहुन्जेल उनीहरूले अर्को धाराबाट पानी ल्याउन पाउँदैनन् । चन्द्रिका मल्लिक भन्छिन्, ‘अरूको धारामा गए पानी छोइस् भनेर गाली गर्छन् ।’

• शौचालय छैन
सात परिवारको बसोवास छ । तर, घरमा शौचालय छैन । सिरहा जिल्ला खुला दिसामुक्त घोषणा भएको दुई वर्ष भइसकेको छ । तैपनि, डोम समुदायले शौचालय प्रयोग गर्न सकेका छैनन् । चन्द्रिका भन्छिन्, ‘आफ्नो जग्गा छैन, सडकछेउ ऐलानीमा बस्दै आएका छौँ, कहाँ शौचालय बनाउनु ?’

• सुंगुरपालन गर्न छाडे

परम्परागत रूपमा सुंगुर पाल्दै आएका भए पनि अहिले उनीहरूले त्यो पेसा छाड्न थालेका छन् । आफ्नो जग्गा नहुनु तथा अरूको घरखेतमा सुंगुर पुगेपछि गाउँलेले कुटपिट र गाली–गलौज गर्न थालेपछि पाल्न छाडिएको राजकुमार मल्लिकले बताए । ‘पुँजी पनि छैन । जग्गा पनि छैन,’ उनले प्रतिप्रश्न गरे, ‘कसरी सुंगुरपालन गर्न सक्छौँ र ?’

• विद्यालय जाँदैनन् बालबालिका

डोम समुदायमा विद्यालय जाने उमेरका २० बालबालिका छन् । तीमध्ये १२ जनाको करिब एक किमि टाढा रहेको जनता माविमा कक्षा १ देखि ५ सम्म नाम लेखाइएको छ । नाम लेखिए पनि उनीहरू विद्यालय गएर नियमित पठनपाठनमा सहभागी हुँदैनन् । विद्यालयमा नियमित रूपमा नआउँदा पनि प्रध्यानाध्यापकदेखि लिएर जनप्रतिनिधिलाई यसप्रति चासो नभएको स्थानीय बताउँछन् । प्रध्यानाध्यापक वीरबल यादवले भने डोम समुदायका केही बालबालिका नियमित रूपमा विद्यालय आइरहेको बताए । उनले भने, ‘चाडपर्व आयो भने उनीहरू अनियमित हुन्छन् । हाम्रो कोसिस नियमित गराउनेमा छ ।’

• बाँसका सामग्री आम्दानीको स्रोत

सुंगुरपालनमा सहयोग नपाएका उनीहरूको आम्दानीको स्रोत बाँसले बुनेका विभिन्न सामग्री भएका छन् । बाँस किनेर त्यसबाट ढकिया, कोनिया, डगरी, डाला, भखारीजस्ता सामग्री बनाएर बेच्दै आएका छन् । त्यसैबाट हुने आम्दानीले आफूहरूले आवश्यकता पूर्ति गर्दै आएको राजकुमारले बताए । ‘जसोतसो परिवार चलाउँदै आएका छौँ,’ उनले भने ।

समस्या समाधान गर्छौँ : गाउँपालिका अध्यक्ष महतो
बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले डोम परिवारले भोग्दै आएको समस्या समाधान गर्ने बताए । चालू आवमा खानेपानीको व्यवस्था गर्ने भए पनि शौचालय बनाउन भने समस्या भएको उनले बताए । ‘डोम समुदायको आफ्नै जग्गा छैन, हुलाकी सडक विस्तार हुँदा घर नै भत्काइन्छ,’ अध्यक्ष महतोले भने ।

• अझै जातीय विभेद र छुवाछुत

बरियारपट्टी–३ मा मल्लिक टोल पर्छ । बरियारपट्टी चोकमा बजार पनि लाग्छ । तर, मल्लिक समुदायलाई जातीय विभेद र छुवाछुतको सामना गर्नुपर्छ । ५५ वर्षीया कैला मल्लिकले चोकका पसलमा चिया पनि सिसाको ग्लासमा खान नदिने गरेको बताइन् । उनले भनिन्, ‘आफैँले घरबाट ग्लास बोकेर जानुपर्छ ।’ होटेलमै बसेर चिया, नास्ता खान दिइँदैन ।’ साभार: नयाँपत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]