१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

तेस्रो मधेश आन्दोलनको ४ वर्ष पूरा, निकु यादव,दिलिप यादव ,संजय चौधरीले आजकै दिन सहिद भए

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

जनकपुरधाम।तेस्रो मधेस आन्दोलनको आज चार बर्ष पुरा भएको छ । २०७२ साल भदौ २५ गते आजकै दिन जनकपुरधाममा तीन जनाले सहादत प्राप्त गरेका थिए ।

२०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव,जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमा गोली हानी हत्या गरेको थियो ।

स्थानीय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै “चलु जनकपुर भरु जनकपुर” कार्यक्रमको दौरान आजकै दिन गाउँ–गाउँबाट आएका हजारौंको व्यक्तिले सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका थिए । आन्दोलन र प्रदर्शनको क्रममा निकु यादव,दिलीप यादव र संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा गोली हानेको थियो ।

झण्डै ६ महिनासम्म चलेको मधेस आन्दोलनको क्रममा कैयौँले आफ्ना छोरा र भाई गुमाए भने कैयौँ मधेसी महिलाले आफ्नो सिन्दूर समेत पुछिन । त्यस बेला मोर्चाका नेता समेत रहेका राजेन्द्र महतोले मधेस आन्दोलनको क्रममा बलिदानी दिनेलाई ५० लाख रुपैैयाँ दिने घोषणा गरेका थिए । उनीहरु मधेस आन्दोलनमा नेताहरुकै उक्साहटमा ज्यानको आहुति दिएपनि नेताहरु सत्तालिप्सामा लागेर उनीहरुको परिवारलाई अहिलेसम्म हेर्न समेत गएका छैनन् ।

आन्दोलनको सेन्टिमेन्टमा अहिले उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्य मन्त्री बनेका छन् भने बाँकी राजपाका नेताहरु समेत संघीय साँसद छन् । त्यसअघि २०६३ माघ १ गते संघीयता र समावेशीताविनाको नेपालको अन्तरिम संविधान जारी भयो । त्यसको विरोधमा मधेशीहरुले माइतिघर मण्डलामा २ गते संविधान जलाए । संविधान जलाउने मधेशीहरु पक्राउ परे । त्यसैको निहुँमा माघ ३ गतेबाट मधेश बन्द भयो । ५ गते प्रदर्शनका क्रममा सिरहाको लहानमा विद्यार्थी रमेश महतोको प्रहरीको गोलीले मृत्यु भयो । त्यसपछि मधेशका सबै जिल्ला आन्दोलित भयो । २१ दिनसम्म चलेको मधेश विद्रोहमा ३४ जना शहीद भए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई पटक जनताको नाममा सम्बोधन गरेपछि विद्रोह रोकियो । प्रदर्शन रोकिएको महिनौंपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता गर्यो ।
नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम र तत्कालै गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा दोस्रो मधेश आन्दोलन पनि सुरु भयो । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेश आन्दोलन भयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा तयारीका साथ तेस्रो मधेश आन्दोलन भएको थियो । प्रदर्शनकारीहरु ठूलो संख्यामा मारिन थालेपछि प्रदर्शनकारीहरु ‘नो म्यानस ल्याण्ड’ अर्थात् नेपाल–भारतको सीमा क्षेत्रमा बसेर नाका अवरुद्ध गरे । नाका अवरुद्धका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिने प्रदर्शनकारीको संख्या कम भएको थियो । यसलाई भारतीय नाकाबन्दीका रुपमा पनि चिनिन्छ ।

मधेशीहरुले के गुमाए त?

मधेश विद्रोहमा मधेशमा बसोबास गर्ने सम्पूर्ण जात,समुदाय आन्दोलनमा होमिएका थिए । तर, १२ वर्षको बीचमा मधेशमा जातीय ध्रुबीकरण बढेको छ भने मधेशभित्रको समुदायमा खटास पसेको छ । मधेश विद्रोहपछि नेकपा एमालेसहितको राष्ट्रिय पार्टीको प्रत्यक्ष डिजाइनमा गराइएको ‘थरुहट आन्दोलन’ले मधेश आन्दोलनको शक्तिलाई कमजोर बनाएको छ । यहाँसम्म कि माओवादी र एमाले–कांग्रेस थरुहट आन्दोलनमा बाडिँदा अहिलेसम्म पनि थारुहरुले थरुहट आन्दोलनका लागि दुईवटा शब्द प्रयोग गर्छन् । कांग्रेस–एमाले निकटहरुले ‘थरुहट आन्दोलन’ र माओवादी निकटहरुले ‘थारुवान आन्दोलन’ ।

मधेश आन्दोलनमा होमिएका थारुहरु पुनः थरुहट आन्दोलनमा होमिए । थारुहरुको पहिचान संकटमा पर्न लागेको वक्तव्य तत्कालिन एमाले र माओवादीका नेताहरुले दिएका थिए । त्यसपछि घनिभूत रुपमा थारुहरुले आन्दोलन अगाडि बढाए । आफू ‘मधेशी’ नभइ ‘थारु’ हुँ भन्दै विवादमा उत्रिए । मधेशभित्रको थारु र गैरथारु बीच तनाव उत्पन्न हुँदा राज्यले न त थारुको माग सम्बोधन गर्यो न त मधेशीको ।
त्यस्तै, धार्मिक अल्पसंख्यक मुस्लिमलाई पनि राज्यले अलग्यायो । जबकि पहिलो मधेश विद्रोहमा चार जना सुरक्षाकर्मीबाट मारिएका थिए । तेस्रो मधेश आन्दोलनमा पनि तीन जना मारिएका थिए । अहिले थारु र मुस्लिमका केही नेतृत्व मधेश आन्दोलनको भावनाभन्दा पनि एक्लै संघर्ष गर्न रुचाएका छन् ।

प्रथम मधेश विद्रोहपश्चात मधेशी बाहुल्यको भूगोल खुम्चिएको छ । पहिलो मधेश विद्रोहको नारा ‘एक मधेश एक प्रदेश’ थियो । तर, हाल मधेशको भू–भाग ७ वटा प्रदेशमा रहेको छ । जसमा एउटा प्रदेश बाहेक अन्य कुनै प्रदेशमा मधेश विद्रोह पक्षधरको शासन छैन । तत्कालीन २२ र हालको २३ जिल्लामा रहेको मधेशलाई आठ जिल्लामा खुम्च्याइएको छ ।
मधेश विद्रोहपछि बनेको नेपालको अन्तरिम संविधान २०६३ ले दिएको अधिकांश अधिकार कटौती भएको छ । नागरिकतामाथि झन् कडाइ भएको छ भने समावेशी मर्मलाई समाप्त पार्नेगरी सबैलाई समावेशी कोटामा ल्याइएको छ । अर्थात् ‘सबैका लागि आरक्षण, कसैका लागि पनि होइन’ भन्ने सिद्धान्त ।

मधेशको आधुनिक राजनीति संघीयताको मागबाटै सुरु भएको हो । तर संघीयता आएपनि अधिकांश अधिकार केन्द्रमै राखिएको छ । स्रोतसाधन पनि केन्द्रकै नियन्त्रणमा छ ।
प्रथम मधेश विद्रोह हुँदा आत्मनिर्णयसहितको मधेश प्रदेश माग गर्ने पक्षधर निकै बलियो भएर आएका थिए । सोहीअनुसार राजनीतिक दल सक्रिय भए र प्रथम संविधानसभामा ठूलो संख्यामा मधेशी समुदायको प्रतिनिधित्व भएको थियो । तर, अहिले संख्या घटेको छ ।
२०६१ सालमा सशस्त्र संघर्षबाट मधेश स्वतन्त्र देश बनाउन जयकृष्ण गोइतले आन्दोलन सुरु गरेका थिए । मधेश विद्रोहताका त्यो शक्ति बलियो थिएन । तर, १२ वर्षको अन्तरालमा शान्तिपूर्ण मार्गबाट मधेशलाई स्वतन्त्र देश बनाउने पक्षधर बढ्दै गएको छ । मधेश राजनीतिबाट विक्षिप्त भएका नेता र मधेश विद्रोहलाई उपयोग गरेर मुलधारको राजनीतिमा फर्किने क्रम पनि बढेको छ । विजय गच्छदारसहितका नेताहरु पुनः पुरानै पार्टीमा फर्केका छन् भने मधेशको राजनीतिबाट उदाएका मधेशी पार्टीहरु राष्ट्रिय पार्टी बन्ने दौडमा लागेका छन ।
तर यति गुमाउँदा पनि मधेश विद्रोहपछि मधेशीहरुले केही उपलब्धि पनि हासिल गरेका छन ।
सन् १८१६ र १८३६ को सन्धिको आधारमा मधेशको भू–भाग नेपालमा गाभियो । केही महिनाअघिसम्म गोर्खा साम्राज्यका सैनिकविरुद्ध लडेका मधेशीहरुलाई इस्ट इन्डिया कम्पनीले गोर्खाली शासकको जिम्मा लगाए । हुन त सन्धिमा मधेशीसँग नेपाली शासकले बदला नलिने वा विभेद नगर्ने उल्लेख भएको थियो । तर, गोर्खा शासकले मधेशी सैनिक बल समाप्त पारे भने गोर्खा सैनिकमा प्रवेशमा रोक लगाए । मधेशबाट ठूलो संख्यामा कर उठाउन थाले । इतिहास र पहिचान मेटाउन थाले । त्यसबेलादेखि मधेशमा संघर्ष सुरु भयो ।
मधेशमा गोर्खा शासकको ठूलो संख्यामा कर उठाउने विरुद्ध भकारी फोर आन्दोलन, नेपाली सैनिक लगाएर मधेशीलाई दबाउने प्रबृतिका विरुद्ध मोछ उखाड आन्दोलन भयो । त्यसपछि किसान आन्दोलन र स्वतन्त्र मधेश आन्दोलन पनि भए । तर, ती सबै आन्दोलनहरु कुनै निष्कर्षमा पुगेनन् । संघर्ष जारी रह्यो ।

२०१० सालताका तराई कांग्रेसको स्थपना मधेश राजनीतिको मध्यकालीन समय मान्न सकिन्छ । त्यसपछि २०४७ बाट मधेश आधुनिक राजनीतिमा प्रवेश गर्यो । जसले निरन्तर र संशक्त संघर्ष गर्न सिकाएको छ ।
मधेश विद्रोहको १३ वर्षमा मधेशीहरुले आफ्नो अधिकार र राज्यका विभेदका विरुद्ध संघर्ष गर्न सिकेका छन् । सामान्य अधिकार पाउन पनि आन्दोलन चाहिन्छ भन्ने मानोविज्ञान मधेशीमा बसेको छ ।
मधेश विद्रोहको यस १३ वर्षमा मधेशीमा राजनीतिक सचेतना बढेको छ । राजनीतिक विषयबस्तु बुझ्न थालेका छन । सत्ताका आयामहरुलाई पनि पहिचान गरेका छन् । त्यस्तै राजनीतिकर्मीहरुले पनि सत्ताको स्वाद भोग गरेका छन । जसकारण उसले सत्ता साझेदारीमा जोड दिँदैछन् ।
युवावर्गमा पनि राजनीतिक सचेतना बढेकोले अहिले गाउँघर टोलमा कुनै पनि घटनामाथि बहस हुने गरेको छ । राज्यलाई शंकाको दृष्टिले हेर्ने बढेका छन् ।
नेपाल राज्यको स्थापनाभन्दा हजारौं वर्ष पुरानो मधेशको पहिचान रहेको छ । मझिमधेश, मध्यदेश लगायतका कयौं शब्दहरु मधेशका लागि प्रयोग हुँदै आएको छ । नेपाल राज्यको स्थापना पछि राज्य संचालनका लागि मधेशबाट कर उठाउन बनेको मधेश मालको सवाल जस्ता दस्ताबेजमा पनि मधेशको चर्चा गरिएको छ ।
मधेश विद्रोहअघि कतिपयले आफुलाई मधेशी भन्न रुचाउँदैन थिए । काठमाडौंमा मधेशी भाषा बोल्न पनि डराउँथे । तर, आज मधेशीहरुले गर्वका साथ भन्छन् म मधेशी हुँ । खुलेर आफ्ना भाषा बोल्छन । नेपालले गौण गर्न खोजेको मधेशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पनि चिनिएको छ ।
मधेश विद्रोहले नेपालको पहिचान फेरेको छ । माउन्ट एभरेस्टको देश मात्र होइन, प्लेन ल्यान्ड मधेशको देश भनेर पनि नेपाल चिनिएको छ ।

ब्रिटिस र भारतको लाइब्रेरीमा धुलोमैलो खाएर बसेका मधेशका दस्तावेजहरु अब विश्वका अधिकांश ठूलो लाइब्रेरीमा पाउन थालिएको छ । अन्तर्राष्ट्रिय संघ संस्थाले पहिचान खोज अनुसन्धान गर्न थालेका छन ।
मधेश विद्रोहपश्चात आधुनिक र बैकल्पिक राजनीति एकसाथ हिँड्न थालेको छ । दोस्रो मधेश आन्दोलनताका मधेशी मुलधारका राजनीतिक दलले मधेशका सशस्त्र समूहलाई देखाएर बार्गेनिङ शक्ति बढाएका थिए । आफूहरुले भनेको जति कुरा नमाने सशस्त्र समूहले मधेश कब्जा गर्ने तर्क उनीहरुले गर्थे । जसको आडमा केही हदसम्म मधेशी राजनीतिक दलले ठूलै भाग पाए ।
मधेशमा राजनीतिक दलहरु संगठित एवं सशक्त भएका छन् । लोकतन्त्र तथा संवैधानिक प्रक्रियालाई अपनाएका छन । सामाजिक परिवर्तनहरु पनि आएका छन् । अपूरो भएपनि समावेशी र संघीयता कार्यन्वयन भएको छ । यही नै मधेशीका लागि १३ वर्षमा भएको मूल उपलब्धी हो ।

के भन्छन शहिद परिवारहरु ?

मधेश आन्दोलनका शहिद दिलिप यादवका पिता रामनरेश यादवका अनुसार आफु विदेशमै कार्यरत छँदा आफ्नो १६ वर्षको छोरालाई गुमाएको थाहा पाएपछि आफु नेपाल फर्के । आफ्नो पाँच सन्तान मध्ये एक्लो सहाराको रुपमा रहेको छोराले मधेश आन्दोलनमा वलिदानी दिएपनि अहिलेसम्म कुनै मधेशी नेताले सोध्न समेत आएका छैनन् ।

शहिद दिलिप यादवका पिता रामनरेश यादव

उनका अनुसार मधेश आन्दोलनको समयमा शहिद हुनेलाई पचास लाख दिने घोषणा गरिएपनि नेपाल सरकारले दिएको दस लाख पछि अरु एक रुपैयाँको सहयोग नपाएको उनि बताउँछन । शहिदहरुकै कारण मधेश सरकार गठन भएपनि मधेश सरकारले आफुहरु प्रति नसोचेको यादवको गुनासो छ ।

शहिद नितु यादवकी आमा राजकुमारी देवी

यसैगरी अर्का शहिद नितु यादवकी आमा राजकुमारी देवी यादवका अनुसार मधेश आन्दोेलनमा आफ्नो सन्तानलाई गुमाउँदा पनि सरकारले कुनै किसीमको सहयोग गरेको छैन । उनले आफुहरुलाई कुनै किसीमको आर्थिक सहयोग नचाहिएको बताउँदै आफ्नो जिवीत रहेका एक सन्तान र वुुहारीलाई जागीर लगाईदिए आफ्नो वुढेसकाल राम्रोसंग कटने थियो ।

के भन्छन मुख्यमन्त्री ?
यता प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसंग मधेश आन्दोलनमा शहिद भएका परिवारलाई घोषणा गरिए अनुरुप पचास लाख किन दिनुभएन भन्ने प्रश्न गर्दा उनले केहि कथित मिडियाले पचास लाख दिने भन्ने हल्ला फिजाएको प्रतिक्रिया दिए ।उनले मधेश आन्दोलनमा शहिद भएका ४६ जनालाई वलिदानी दिवसको अवसरमा जागीरको घोषणा गरिने बताए । यद्यपी प्रदेश नं २ मधेश आन्दोलनको क्रममा ५७ जना शहिद भएको तथ्यांक रहेको र जागीर पाउने शहिद परिवारको नामावली माग्दा दिनवाट अस्विकार गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउत

मुख्यमन्त्री लालबाबु राउत
मधेश आन्दोलन २०६३ देखिको इतिहास हेर्ने हो भने जनकपुरधामबाट अहिलेसम्म ७ जनाले आफ्नो ज्यानको आहुति दिएको तथ्यांक रहेको छ । जस अन्तर्गत २०६३ सालको मधेश विद्रोहको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१४ का कारी ठाकुर,गणेशमान चारनाथ नगरपालिकाका व्रम्हदेव ठाकुर,जनकपुरधाम–४ का राजेश ठाकुर र धनुषाधाम नगरपालिकाका बाबु नारायण यादव रहेको छ भने २०७२ सालको मधेश विद्रोहको क्रममा लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव,जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीले सहादत दिएका थिए ।:साभार:टुडेपाटि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]