२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

मिथिलाक्षेत्रका शिवालयमा साउने मेला समापन हुँदै

Logo
न्यूजमधेश प्रकाशित सोमबार, भाद्र ०२, २०८१

महोत्तरी, ३ भदौ । शिव आराधना र भक्तिको साउने मेला आज सकिँदैछ । साउनको अन्तिम सोमबारको अवसरमा आज महोत्तरीसहितका मधेशका मिथिलाक्षेत्रका शिवालय श्रद्धालु भक्तजनले भरिभराउ छन् । सौरमास गणनाले गत शुक्रबार साउन सकिए पनि चन्द्रमास गणनाले आज साउन पूर्णिमा भएको हुँदा आज साउने मेला समापन गरिन्छ ।

चन्द्रमास गणनामा साउनको अन्तिम सोमबारका अवसरमा आज महोत्तरीको सुदूर उत्तरीक्षेत्रको चुरेस्थित टुटेश्वरनाथ मन्दिरमा दर्शनार्थी भरिभराउ छन् । जयशम्भो र बोलबमको पुकाराले शिवालय परिसर गुञ्जदो छ । जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, मगरथानास्थित मङ्गलनाथ, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथ र बर्दिवास–३ चुरेकै राइमण्डलधामस्थित इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजन शिवको पूजा आराधना गरेर साउने व्रतको समापन गर्दैछन् । महोत्तरीका यी शिवालय अनादी कालदेखिका मानिन्छन् ।

महोत्तरीका जलेश्वरनाथ शिवलिङ्ग शिव आफैँले स्थापना गर्नुभएको मिथिला माहात्म्यमा वर्णित छ । यसैगरी टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ र इन्द्रेश्वर शिवलिङ्ग हजारौँ वर्ष पहिले स्थापित मानिन्छन् । राइमण्डलधामस्थित इन्द्रेश्वर शिवलिङ्ग स्वर्गका राजा इन्द्रले स्थापित गरी दानवसँगको युद्धमा विजयको अभिलाषा राखेर तपस्या गरेको ठाउँ भएको जनविश्वास छ ।

पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमिटर वनक्षेत्र छिचोलेर पुगिने बर्दिवास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिर महाभारतकालीन रहेको यस क्षेत्रका संस्कृतिविद् बताउँछन् । चुरे शृङ्खलाको पहाडी थुम्कोमा अवस्थित हुँदा अचेल यसलाई मधेसको कैलाश पनि भन्ने गरिएको छ । यस्तै ‘बाबाधाम’ पनि भनिने टुटेश्वरधाममा यसपाली साउन महिनाभरिमा पाँच लाख बढी श्रद्धालुले दर्शन र पूजा आराधना गरेको टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष हितबहादुर पौडेल बताउनुहुन्छ ।

टुटेश्वरधाममा मधेसका जिल्लाका अतिरिक्त भारतको बिहार प्रान्तका विभिन्न ठाउँबाट श्रद्धालु आउने गरेका छन् । माण्डवीगङ्गा (मडाहा) नदी किनारमै चुरे पहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित टुटेश्वर मन्दिर वरीपरी आज हजारौँ भक्तजनको घुइँचो छ ।

यसपालि सौरमास र चन्द्रमास दुवै गणनामा साउन सात (७) गते पहिलो सोमबार परेको थियो । त्यसैगरी साउन १४ गते दोस्रो, साउन २१ तेस्रो र साउन २८ गते चौथो सोमबार परेको थियो । त्यसयता सौरमास गणनामा सोमबार नपरे पनि चन्द्रमास गणनामा आज अन्तिम सोमबार परेको हो । सौरमास र चन्द्रमास गणनाभित्र परेका चारका अतिरिक्त चन्द्रमासअनुसार आजसहित यसपाली पाँच सोमबार परेका छन् । हिन्दू मैथिल परम्परामा साउन शिवभक्तिको महिना र त्यसभित्रको सोमबार खास मानिने चलन छ ।

टुटेश्वरनाथ अनादिकालको शिवलिङ्ग मानिन्छ । विसं २००२ मा वन फडानी गरेर बस्ती बसाउने क्रममा यहाँ फेला परेका शिवलिङ्ग, बसाहा र अन्य धातुका सामानको अध्ययनले यो महाभारतकालीन हुनसक्ने संस्कृतिविद्को भनाइ छ । यद्यपि टुटेश्वरनाथसँग जोडेर अहिले रामायणकालीन जनश्रुति सुनिन्छन् । मिथिला माहात्म्यमा वर्णित माण्डवीगङ्गा, वरुणवती र स्वर्णमती नदीका माझमा टुटेश्वर मन्दिर अवस्थित रहेको र माण्डवीगङ्गा राजा जनकका भाइ कुशध्वजकी छोरी भएकी हुँदा यसलाई रामायणकालसँग जोड्न सकिने टुटेश्वर बस्तीका बासिन्दा मिथिला संस्कृतिका अध्येता ७५ वर्षीय मोतीलाल गौतम बताउनुहुन्छ । द्वापर युगमा अर्जुनले यसै ठाउँमा शिवको तपस्या गरेर पाशुुपतास्त्र प्राप्त गरी दिव्यास्त्रका लागि स्वर्ग गएका कथा बाक्लै सुनिने गरिएको गौतमले बताउनुभयो ।

हिन्दू परम्परामा साउनको सोमबारका दिन शिवलिङ्गमा जलपूmल चढाएर व्रत उपवास बसे पुण्य प्राप्त हुने जनविश्वास छ । शिवालयमा हुने भक्तको जमघटलाई पर्यटन प्रवर्द्धनमा जोड्ने काम नभएको जिल्लाका वुद्धिजीवीले टिप्पणी गरेका छन् । यद्यपि यसपालि चालु आर्थिक वर्ष २०८१/८२ मा केन्द्र र मधेस प्रदेश सरकारले टुटेश्वरनाथको विकासका लागि रु एक करोड बढी बजेट विनियोजन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]