
मनोज बनैता, सिरहा, १० बैशाख । सकुवानन्कारकट्टी गा. पा. ले हिजो मंगलवार देखि राहत बितरण प्रक्रिया शुरु गरेको छ । सोमबार रातिदेखि नै शुरुभएको वर्षा ले प्रभावित बनेको बितरण कार्य वर्षा रोकेपछि संचालनमा आएको हो ।
स्रोतअनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्याकेजमा चामल १५ किलो, दाल २ किलो, नुन १ किलो, चिनी २ किलो, तेल १ लिटर, २५० ग्राम मिक्स मसाला, १ हयान्डवास, नुहाउने र लुगाधुने साबुन १/१ थान रहेको बताईएको छ ।
केही प्राविधिक त्रुटि र समयमा नामावली संकलन नभएको हुँदा राहत वितरण कार्यमा ढिलाइ भएको सखुवानन्कारकट्टी गा. पा. अध्यक्ष केदारनाथ यादवले जानकारी गराएका छन । गरिब बिपन्न परिवारको डाटा संकलन गरि राहतको लागि जम्मा रकम ७५ लाख विनियोजन गरिएको हो ।
यता प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपालगायत का नेता एवं कार्यकर्ताको असन्तुष्टि कायमै रहेको छ । राजपाका युवा नेता मनोज यादव (मन्जे) ले न्युज मधेश संग कुरा गर्दै भने ‘राहत बितरणका लागि हामीलाई एक पटक पनि सोधिएको छैन । सर्वदलिय समितिमा पनि आफू नजिक हुनेहरुलाई राखिएको छ । ‘ अध्यक्षले हरेक कार्यमा आफुहरुलाई नसमेटी काखापाखा गरेको आरोप मन्जेको छ । उनको अनुसार झण्डा महोत्सव देखिनै अध्यक्ष मनमौजी ढंगले कामगर्ने गरेको छ ।
उता, अध्यक्ष केदार यादवले आफू माथी लगाईएका आरोपहरु निराधार रहेका दावी गरे । उनले प्रतिपक्षीलाई समेटिएको जानकारी गराउदै कोभिड -१९ जस्तो महामारीको बेला राजनीति गर्नु भन्दा सबै दलका नेता एवं कार्यकर्तालाई राहत बितरण जस्तो शुभ कार्यमा सबैलाई सहयोग गर्न अपिल गरेका छन ।