
बिरेन्द्र यादव (बिरु)
सिरहा, ३० जेठ । बिकास योजनाहरुमा पारदर्शिता नगरि मनमानी ढंगले काम भईरहेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका – ५ का स्थानिय समाजसेवी तथा नेताकार्यकर्ताले पत्रकार सम्मेलन गरेका छन ।
आ.ब. २०७५/०७६ र ०७६/०७७ मा संचालित केहि योजनाहरुमा खर्च सार्वजनिक नगरी आफुखुसी काम सम्पन्न गरेको भन्दै स्थानिय राम उमेश यादब, जसपाका जिल्ला सदस्य एवं स्थानिय प्रदिप कुमार दनुवार लगायतले कडा बिरोध गरेका छन । समाजसेवी उमेश यादवको अनुसार वडा ५ का वडा अध्यक्ष रामजतन कामत र वडा सदस्य महाबती मण्डलले सो वडाको सार्बजनिक जग्गामा गैरकानुनी रुपले दलित दलान निर्माण गर्न लागेको हो । सडकको बिचमै निर्माण गरिएको उक्त भवनमा नगरपालिकाले २ लाख बजेट विनियोजन गरेको यादव बताउँछन् । उनले थपे ‘ गैरकानुनी रुपमा बन्दै गरेको उक्त भवनको काम अहिले हामीले रोकेका छौं ।’
त्यसैगरी वडा ५ मै स्वास्थ्य चौकी निमाणका लागी ५ लाख रुपैया बजेट विनियोजन पश्चात् रातारात उपभोक्ता समिति निर्माण गरिएको यादवको भनाई छ । उनले सो कार्य को लागि वडा अध्यक्ष कामत र नगरपालिका ले मिलिजुली रकम कुमल्याउन लागेको आरोप लगाए । उनले लगत्तै नगरपालिकामा निवेदन दर्ता गराएपनी मेयर हरिनारायण चौधरीको तर्फबाट कुनै पहल नभएको गुनासो पोखे ।
पत्रकार सम्मेलनमा बोल्दै समाजसेवी यादवले भने कि वडा ५ मा माननिय सांसद सुरेशचन्द्र दासको संसदीय बिकास कोषबाट कृषि सडकका लागी १० लाख बजेट बिनियोजन भएको छ तर त्यसमा पनि समाजसङ्ग सल्लाहै नगरी काम गरिएको छ । संबिधानमा सुचनाको हक सम्बन्धी कानुनको ब्यबस्था रहेपनी आज सम्म हामीलाई कुनै किसिमको सुचना नगरपालिकाले नदिनु संकास्पद रहेको यादवको तर्क रहेको छ ।
उता, जसपाका नेता प्रदीप दनुवारले सर्बदलीय छलफलको आधारमा नगरपालिकाले कुनै पनि बिकासका गतिबिधिहरु समुदाय स्तरमा संचालन नगरेको आरोप लगाएका छन । बहुमतको आडमा धनगढीमाई नगरपालिका नगरप्रमुखले गतिबिधी गरिरहेको भन्दै दनुवारले आक्रोश पोखेका छन ।