रासिन्द्र यादव
सप्तरी, ८ असार । दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको गाउँपालिका भवन निर्माणले गति पाएको छ ।स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसकेको छ तर, बलानबिहुल गाउँपालिका भने कार्यपालिका भवन अभावमै सेवा प्रवाह गरिरहेका छन् ।
चालू आर्थिक वर्षमा यस पालिकाले कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा भवन निर्माणका लागि ४० मिटर लम्बाई तथा ११ मिटर चौडाई भएको एलानी जग्गामा पालिकाले १ करोड २१ लाख बजेट विनियोजनसमेत गरेको बलानबिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गोईतले बताए । हाल सम्म गाउँपालिकाले भवनको अभावमा भाडा घर लिएर केहि सेवा प्रवाह गरिरहेका छन भने केही अस्थायी टहरा बनाएर कार्यालय सञ्चालन गरिरहेका छन् ।
भवन निर्माण कार्य विधिवत आवस्यक कानुनी प्रक्रिया पुर्याएर हुँदै गरेको भएता पनि यस पालिका बाहिरका केहि उछृङ्ग्खल तत्वले घुसपैठ गरि अनावश्यक रुपमा कर्मचारी र जनप्रतिनिधिको मनोबल कम गर्न समाजिक संजाल फेसबुकमा अनाप सनाप लेखेको प्रति अध्यक्ष गोईतले चिन्ता जाहेर गरेका छन ।