
मनोज बनैता
लाहान, ७ भदौ । चिया पिउने, पान गुटका खाने, राजनैतिक गफगाफ गर्ने लगायतको भिड भईराख्ने शहीद चौकको तरकारी बजारमा लाहान प्रहरीले उच्च निगरानी राखेको छ । सामाजिक दुरीलाई धज्जी उडाउने गरि बिहान र बेलुका हजारौंको भिड लाग्ने सहिद चौकको दक्षिणपट्टीको तरकारी बजार दुई दिन देखि सुनसान बनेको छ ।
दैनिक उपभोग्य वस्तु लगायत खाधान्न खरिद गर्नेहरुको लागि तोकिएको समय बिहान ७ देखि ९ बजे भन्ने लकडाउन खुकुलो गरिएपनी अन्य समयमा लाहान प्रहरीले निगरानी बढाएको हो । ईप्रका (क) लाहानका डिएसपी शरत थापा ले माईकिङ्ग गर्दै स्थानीयलाई लकडाउन सफल पार्नुको साथै अनावश्यक भिडभाड नगर्न अनुरोध गरेका छन । शुक्रवार लहानको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सहित २२ प्रहरी, ८ थुनुवा र २ स र्वसाधारण गरी ३२ जना कोरोना संक्रमित थपिएपछि शनिबार बिहानदेखि इलाका प्रहरी कार्यालय लहानले लहान क्षेत्रमा लकडाउन थप कडा बनाएको हो ।
ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानको संयुक्त टोलीले लहान १ स्थित तरकारी बजार, पूर्व–पश्चिम लोकमार्गको सहिद चोक तथा बजारका भित्री भागमा अत्यावश्यक बाहेकका सवारी साधनको आवतजावत रोकेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइ गरेपछि लहानका सडक तथा बजार क्षेत्र सुनसान बनेका छन् ।
पूर्वपश्चिम लोकमार्ग अन्तरगतको सडक तथा भित्री सडकमा जरुरी काम बाहेकका सवारी साधन चलेका छैनन् । लहान क्षेत्रमा रहेका सबै बजार पसल पनि बन्द रहेका छन् । सिरहाको प्रमुख व्यापारिक केन्द्र मानिने लहान क्षेत्रमा नगरपालिकाले लकडाउन शुरु गरेको आज १६ दिन पुगेको छ ।