
मनोज बनैता
सिरहा, ८ भदौ । महिनैपिच्छे विवादमा तानिने सिरहा मुसहर्निया स्थित आरके मेडिसिटी अस्पताल फेरि एक पटक चर्को विवादमा मुछिएको छ । अस्पतालमा डाक्टर लगायत अन्य कर्मचारीहरुको ब्यवहार ले दिनानुदिन बिरामीको संख्यामा कमी आएको एक मुसहर्नियाका स्थानीय बताउँछन् ।
केही दिन अगाडि बिरामीको कुरुवा लगायत उनका परिवारजन संग त्यहाँका डाक्टरले गरेको अभद्र ब्यवहारको घटनाले उग्र रुप लिन थालेको छ । एक बिरामीका परिवारजन यसो भन्छन “चार-पाँच दिनअघि मेरो घरका एकजना ५ वर्षीय बच्चालाई ज्वरो आउँछ । स्थानीय स्तरको क्लिनिकमा ज्वरोको उपचार हुन्छ । तत्काल क्रमशः केहि सुधार देखिन्छ । तर, शुक्रबार राती ११ बजेतिर फेरि अत्यधिक ज्वरोसहित चम्की जस्तो लक्षण देखिन्छ । घरबाट मलाई फोन आउँछ । तर, कामको थकाईले त्यो दिन म मोबाइल साइलेन्ट मोडमै बिर्सेर सुतिरहेको हुन्छु । फोन आएको पत्तै पाइनँ । बिहान ५ बजे उठ्दा लगभग ३५ चोटि फोन आएको देख्छु । म हत्तारहत्तार फोन लगाएँ । बाबुको अवस्था गम्भीर बनेपछि राती पौने १२ बजे नै लहान नजिकै मुसहर्नियाँमा अवस्थित आरके मेडिसिटीमा भर्ना गरिएको जानकारी आउँछ ।
सुरुमा त कोरोनाको लक्षण भन्दै भर्ना गर्न नै मानिरहेको थिएन, धेरै आग्रह गरेपछि भर्ना गरेको थियो । रातिदेखि बिहानसम्ममा कुनैबेला सुधार कुनैबेला उस्तै अवस्था देखिँदै थियो । म तुरुन्तै अस्पतालको व्यवस्थापन हेर्ने स्टाफलाई फोन गरेँ । उनले विस्तारै सुधार हुने र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । त्यसपछि निरन्तर फोन सम्पर्कमा बसी ११ बजेतिर म हस्पिटल पुगेँ । हस्पिटल पुगेर बच्चालाई हेर्दा खासै सुधार जस्तो देखिएन । व्यवस्थापन हेर्ने ती व्यक्तिसँग भेटेँ । उनले फेरि अवस्था सुधारोन्मुख छ भनेर सुनाए । त्यसपछि उनले डाक्टरसँग भेेटाइदिए । मैले ‘अवस्था क्रिटिकल नै देखिँदैछ सर, यहाँ हुँदैन भने भन्नुस्’ भन्दा डाक्टरले पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको र औषधि बिस्तारै काम गर्ने जवाफ दिए । डाक्टरले यसो भन्दा अलिक आश्वस्त भएँ ।
म बेलुकी ५ बजेतिर त्यहाँबाट पैसा लिन घर गएँ । बेलुकी ७ बज्दै थियो, म घरमा खाना खान बसेकै थिएँ । अस्पतालबाट फोन आयो, ‘अस्पतालले बाबुलाई बाहिर लैजान जवाफ दिइदियो, अवस्था निकै गम्भीर छ ।’ म हात धोएर घरबाट निस्केँ । बच्चाको अवस्था एकदमै क्रिटिकल बनेका कारण म बाटोबाटै फोन गरेर एम्बुलेन्समा निस्किन भनेँ । तर, डिस्चार्ज हुनका लागि अस्पतालको बाँकी रहेका रकम तिर्न पैसा उहाँहरुसँग सकिसकेको थियो । एकहजार जति मात्रै उहाँहरुको साथमा बाँकी बसेको थियो । उहाँहरुले हामीलाई पठाइदिनुस्, मेरो मान्छे पैसा लिएर आउँदैछ भनेर भन्दा त्यसो गर्न नसक्ने जवाफ दियो ।
बच्चाको अवस्था बिग्रिदैछ, हामी यहीँ जिल्लाका हौं, तपाईको पैसा राख्दैनौं भनेर पटकौं आग्रह गर्दा पनि अस्पतालले पीडा बुझेन । म अस्पताल पुगेँ, आक्रोशले मेरो मन जलिरहेको थियो । तैपनि मैले आफूलाई नियन्त्रणमा राख्ने प्रयास गरेँ । सबै पैसा तिरेँ । त्यसपछि अस्पतालको व्यवस्थापन हेर्ने व्यक्तिसहित अस्पतालका ५-६ जनालाई ग्राउन्ड फ्लोरमा देखेँ । मैले उनीहरूलाई ‘दिनमा यतै ठीक भइहाल्छ भनेर भन्नुभयो, अहिले एकदमै नाजुक अवस्थामा पुर्याएर लैजान जवाफ दिनुभयो, यो ज्यानसँग खेलवाड गर्ने काम भएन ?’ भनेर भने ।
मसँगै गएका मेरा दुईजना साथीहरुले पनि ‘मान्छेको ज्यानको मूल्य छैन, अस्पताल सेवा गर्न खोल्नुभएको हो कि मान्छे मार्न, हाम्रो बिरामीलाई केहि भयो भने हेर्नुहोला’ भने । हाम्रो त्यो आक्रोश स्वाभाविक नै थियो । तर, उनीहरुले गैरजिम्मेवार तरिकाले ‘जाउ जे गर्नुछ गर्नु’ भनेर जवाफ दिए । भनाभन हुँदैगर्दा अस्पतालका स्टाफ समूहका एकजनाले मेरा साथीको कालर समात्छ, र मुक्का बर्साउन थाल्छ । उनको हातमा भएको हेलमेट खोसी फालेर फोड्दिन्छ । त्यहाँ जम्मा भएका अन्य बिरामीका आफन्तहरुले रोक्ने प्रयास गरेपनि अझ सबै स्टाफहरु जाइलाग्छ । म विवाद साम्य पार्न उनीहरूलाई सम्झाउन खोज्दा उनीहरू मलाई ‘महिलाको मृत्युबाला न्यूज लेख्ने तैँ हैनस्’ भन्दै धक्का हान्छन् ।
तर, म बच्चाको नाजुक अवस्था हेरेर त्यतिबेला निशब्द झैँ हुन्छु । मेरा आफन्त, साथी र त्यहाँ भएका बिरामीका मान्छेहरुले मलाई घेरा हालेर जोगाउँदै एम्बुलेन्समा बसाइदिन्छ । मैले ड्राइभरलाई पटकपटक बिरामीको अवस्था गम्भीर छ, छिट्टो निस्कौं भनेर गुहार गर्दा पनि अस्पतालका स्टाफहरुले पटकपटक अपशब्द गाली गर्दै एम्बुलेन्स अवरोध गर्न खोज्छन् । बच्चाको अवस्था झन बिग्रिदै थियो ।
त्यहाँका सबैले केहि भयो भने त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्छ भन्दै स्टाफलाई दुरछियाँ गरेपछि उनीहरूले बाटो छोडे । तर, गाली भने छाडेनन् । खैर म अर्कै तनाबमा थिए । उनीहरुले मेरो त्यो मौनता र विवशताको मौका छोप्दै समाचारको निहुँ साध्न भ्याएका छन् ।
यसअघि केहि महिना अगाडी आरके मेडिसिटीमा शल्यक्रियाकै क्रममा एकजना महिलाको ज्यान गएको थियो । तर, अस्पतालले परिवारजनलाई झुक्याएर आफू बँच्न मरेको लाशलाई रिफर गरेको थियो । मलाई थाहा भएपछि सबैभन्दा पहिले मैले नै त्यो समाचार ब्रेक गरेँ । त्यससँगै मृतकको न्यायको लागि पहल पनि गरेको थिएँ । अन्त्यमा परिवारजनलाई अस्पतालले गुपचुप रुपमा झण्डै करिब १२ लाख रुपैयाँ दिएर घटना सामसुम पार्यो ।
यो एउटा प्रतिनिधि घटना मात्रै हो, अचेल अधिकांश अस्पतालमा यस्तै लिला हुन्छन् । मानवरुपी सैतान र केहि मेडिकल माफियाहरुको गुन्डागर्दीका कारण बिरामीले अकालमै प्राण त्याग्छन् । धेरैजसो घटना बाहिर आउन नसकेका मात्रै हुन् ।
यतिबेला बच्चाको बिराटनगरस्थित एक हस्पिटलको पीआइसीयुमा राखेर उपचार हुँदैछ । बच्चाको अवस्था गम्भीर बन्दै गएको कारण नजिक हुने भन्दै सुरुमा जनकपुर पुग्यौं, तर त्यहाँ डाक्टरले राख्न नमानेपछि राती नै बिराटनगर आयौं । आरके मेडिसिटीले चलाएको अनावश्यक मेडिसिनका कारण बच्चाको अवस्था झन खराब स्थितिमा पुगेको यहाँका चिकित्सकको निष्कर्ष छ ।”
घटनाको सहि तथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा सजाय दिन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले जोडदार माग गरेका छन । यादवले यस्तो संक्रमणकालिन अवस्थामा अग्र मोर्चामा खटिएका स्वास्थकर्मीहरुको मान सम्मान माथी समेत ठेस पुर्याउने दुस्साहस गर्ने केही भौतिकवादी मेडिकल माफियालाई कानुनी उपचार गरिनुपर्ने बताए ।