सिरहा, २६ भदौ । मिर्चैया नगरपालिकाविरुद्ध विभिन्न राजनीतिक दल सम्मिलित गठित सर्वदलीय संयुक्त संघर्ष समितिले शुक्रबार मिर्चैयामा प्रदर्शन गरेको छ । नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् ।
हजारौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले मिर्चैयाको विभिन्न भागमा र्याली प्रदर्शन गरेका छन् । मिर्चैयाको संस्था चोकबाट निस्केको र्याली विभिन्न भागको परिक्रमा गर्दै कटारी चोकमा कोणसभामा परिणत भयो ।
निषेधाज्ञाका कारण प्रहरीले बढी समयसम्म कोणसभा गर्न नदिएपछि २० मिनेट जतिमै कोणसभा सकाइएको थियो । कोणसभामा वक्ताहरुले सार्वजनिक सम्पत्तिमा अनियमितता तथा लोकतन्त्रमा राजतन्त्रको दृश्य सह्य नरहेको र नगरपालिकामा यसले सीमा नाघिरहेको भन्दै लकडाउनका बीच पनि सडकमा आउन बाध्य हुनुपरेको बताए ।
नगरपालिकाका मेयर श्रवण यादवले भ्रष्टाचारमा लिप्त भएर नगरपालिकाको भविष्य धरापमा पार्दै गएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय साहले आरोप लगाए । खराब प्रवृत्तिको विरुद्धमा बोल्दा मेयरले विपक्षीलाई सताउने काम गरिरहेको समेत उनको आरोप छ । अब चुप नबस्ने भन्दै उनले मेयर सच्चिनुपर्ने धारणा राखे ।
नगरप्रमुखद्धारा भइरहेको पदको दुरुपयोग र गैर जिम्मेवार कार्यले लोकतन्त्रको बद्नामी भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहको आरोप छ । मिर्चैया नगरपालिकाका मेयर यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको कांग्रेसका नगर सभापति रमेश न्यौपानेको भनाइ छ ।
पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको भक्ताहरुको भनाइ थियो । संघर्ष समितिले आउँदो भदौ २८ गते राघोपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दैछ भने असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जनाइएको छ ।