१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

कसको हितमा कृषिमा वैदेशिक लगानी ?

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

सञ्जय आचार्य
आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी नबनाईकनै हाम्रा बजारहरू खुला गरिए विदेशी उत्पादनहरू भरिन्छन्, जसले गर्दा घरेलु रोजगारीका अवसर र पुँजीको विस्तारमा धक्का लाग्छ ।

सरकारले हालै कृषिमा वैदेशिक लगानी खुला गरेपछि नेपालका कृषि र औद्योगिक क्षेत्र तरंगित बनेका छन् । कामचलाउ सरकारले संसद् नभएका बेला हतार गरेर यो निर्णय गर्नुका आशयहरू के–के हुन सक्छन्, चर्चाको विषय बनेको छ ।

विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन, २०७५ ले कृषि क्षेत्रमा वैदेशिक लगानीलाई बन्देज गरेको छ । ऐनको दफा ३ को उपदफा २ सँग सम्बन्धित अनुसूचीमा वैदेशिक लगानी ल्याउन नपाइने क्षेत्रहरूको लामो सूची नै छ । त्यसको सुरुमै पशुपन्छीपालन, माछापालन, मौरीपालन, तरकारी, फलफूल, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्र भनी प्रस्ट रूपमा उल्लेख गरिएको छ । तर सरकारले सोही ऐनको दफा ५० मा टेकेर यी व्यवसायहरूमा ५० करोड रुपैयाँभन्दा माथिको लगानी र तिनीहरूले आफ्नो उत्पादनको कम्तीमा ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राखेर कृषिमा वैदेशिक लगानीलाई खुला गरेको छ । जुन समयमा जसरी यो संशोधन गरेर नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरिएको छ, यसले प्रशस्त शंका जन्माएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७५ ले ५० करोड रुपैयाँभन्दा बढी लगानी भएका उद्योगहरूलाई ठूला उद्योगका रूपमा परिभाषित गरेको छ । यसले गर्दा साना व्यवसायीहरूलाई असर नपर्ने हो कि भन्ने भ्रम पैदा भएको छ । तर परिणति त्यस्तो हुँदैन । ठूलो स्तरको उत्पादनमा प्रतिएकाइ लागत खर्च कम हुन्छ, जसका कारण नेपाली साना व्यवसायीहरूले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसले गर्दा नेपाली साना व्यवसायीहरू आफ्ना व्यवसाय बन्द गरेर विदेशीले खोलेका कृषि उद्योगहरूमा श्रमिक बन्न जाने सम्भावना बढ्छ ।

इतिहासका विभिन्न कालखण्ड हेर्ने हो भने, बेलायतमा सत्रौं शताब्दीको मध्य र उन्नाइसौं शताब्दीको अन्त्यतिर भएको कृषि क्रान्तिको समयमा यस्तै परिणति भएको थियो । कृषिमा चक्लाबन्दी लागू गरिएपछि साना किसानहरूले आफ्नो जमिन बढाउन सकेनन् र भएका टुक्राटाक्री जमिन ठूला किसानहरूलाई बेचेर आफू औद्योगिक क्षेत्रका मजदुरमा रूपान्तरण भए । नेपालको कृषि क्षेत्र त्यसै पनि परम्परागत छ अनि कृषिमा लगानी भएको पुँजी र त्यसमा काम गर्ने श्रमिकहरूको उत्पादकत्व कम छ । यसमा वैदेशिक लगानी भित्र्याइदिने हो भने यिनीहरूले विदेशी प्रविधि र पुँजीसँग प्रतिस्पर्धा गर्न सक्ने कुरा आएन, बरु पलायनको दिशामा जाने सम्भावना बढी प्रबल हुन्छ ।

नेपालले विश्व व्यापार संगठनको सदस्यता लिने समयमा पनि केही उडन्ते तर्कहरू आउँथे । संगठनको सदस्यता लिएपछि नेपाली वस्तुहरूका लागि अन्तर्राष्ट्रिय बजार खुला हुनेछ । नेपालको वैदेशिक व्यापार फस्टाउनेछ । व्यापार घाटा घट्नेछ । तर सन् २००५ मा नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछिका पन्ध्र वर्षको वैदेशिक व्यापारको तथ्यांक हेर्ने हो भने स्थिति ठीक उल्टो छ । सन् २००४ मा नेपालको वैदेशिक व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशत थियो भने सन् २०१९ मा आइपुग्दासम्म यो २८ प्रतिशत पुगिसकेको छ । देशगत आधारमा हेर्ने हो भने पनि नेपालले व्यापार विविधीकरणमा पनि कुनै ठोस परिवर्तन गर्न सकेको छैन । सन् २००४ मा नेपालको वैदेशिक व्यापारमा भारतको अंश ६५ प्रतिशत थियो भने सन् २०१९ मा पनि यो ६५ प्रतिशत हाराहारीमै छ ।

यसको निष्कर्ष के हो भने, हामीले आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी नबनाईकनै आफ्ना बजारलाई खुला गर्‍यौं भने विदेशी बजारसम्म आफ्नो पहुँच विस्तार भए पनि हामीले फाइदा लिन सक्दैनौं तर विदेशी उत्पादनहरूले हाम्रा बजारहरू भरिन पुग्छन् जसले गर्दा घरेलु रोजगारीका अवसर र पुँजीको विस्तारमा धक्का लाग्छ । कमजोर कृषि क्षेत्रमा वैदेशिक लगानीले निम्त्याउने परिणति पनि त्यस्तै हो ।

सरकारले गरेको निर्णयसँगै नेपाल डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड र केन्द्रीय पशुपन्छीपालन सहकारी संघले यसको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पनि हतारको यस निर्णयको विरोध गरेका छन् । हाल नेपालमा मौरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, दाना तथा कुखुरापालनमा करिब ४० अर्ब रुपैयाँ गरी यी क्षेत्रहरूमा कुल ८५ अर्ब रुपैयाँको निजी लगानी देखिन्छ । १५ लाखभन्दा बढी किसान तथा श्रमिकको जीवन गुजाराका लागि यी गतिविधिले भरथेग गरेका छन् । यतातिर पर्ने सम्भावित असरहरूलाई बेवास्ता गरेर सरकारले हठात् यो निर्णय गरेको देखिन्छ।

नेपालको कुनै पनि क्षेत्र वैदेशिक लगानीका लागि खुला गर्नेबित्तिकै त्यसमा बढी चासो भारतीय लगानीकर्ताहरूको हुन्छ । निजी क्षेत्रका व्यवसायीहरूको आकलनमा भारतीय अमूल डेरी उद्योग र योगगुरु रामदेवको पतञ्जली आयुर्वेदले नेपाली बजारलाई लक्षित गरेर यहाँ पसेर फैलने जमर्को गरेका छन् । यसो भए नेपालमा फस्टाउँदै गएका डेरी सहकारीहरूलाई अस्तित्वको संकट पर्नेछ । यो संकट बिस्तारै अरू गतिविधिमा पनि सर्दै जानेछ ।

औद्योगिक व्यवसाय ऐनले ५ करोड रुपैयाँसम्म स्थिर पुँजी लगानी गरिएको उद्योगलाई साना उद्योगका रूपमा परिभाषित गरेको छ भने ५ देखि ५० करोडसम्म लगानीमा स्थापना भएका उद्योगहरूलाई मझौला उद्योग, त्यसैगरी ५० करोडभन्दा बढीका उद्योगहरूलाई ठूला उद्योगका रूपमा लिइएको छ । यस हिसाबले ठूला कृषि उद्योगहरूमा मात्रै वैदेशिक लगानी खुला गरिएको जस्तो देखिन्छ । तर, ठूला उद्योग मात्र नभईकन तिनको ७५ प्रतिशत उत्पादन विदेश निर्यात हुनुपर्ने प्रावधान पनि राखिएको छ । वैदेशिक लगानी खुला गर्ने सरकारी निर्णयमा असल नियत छैन भन्ने यहीँबाट प्रस्ट हुन्छ । यो ७५ प्रतिशत निर्यात भएको छ कि छैन भनी अनुगमन गर्ने निकाय कुन हो ? कृषि मन्त्रालय हो भने यो निर्णय कृषि मन्त्रालयसँगको समन्वयमा गरिएको छैन । निवर्तमान कृषिमन्त्रीले रोकिरहेको अवस्थामा उनको बहिर्गमनपछि तुरुन्तै यो संशोधन ल्याइएको छ भने, वर्तमान कृषिमन्त्री यसबारे आफू अनभिज्ञ रहेको भन्दै विवादबाट पन्छिन खोजेको आभास पाइन्छ ।

दोस्रो, मन्त्रालयमा अनुगमन, सुपरिवेक्षण र मूल्यांकन गर्ने चुस्त निकाय छैन । अनुगमन पद्धति कतिपय मन्त्रालयहरूमा शून्य स्तरमा छ । त्यहाँबाट कुनै अनुगमनको आशा गर्न सकिँदैन । त्यसैले यो सर्वसाधारणका आँखामा छारो हाल्ने प्रावधान मात्रै देखिन्छ । पर्याप्त अनुगमनको अभावमा वैदेशिक लगानीका उत्पादनहरूले बिस्तारै नेपाली बजारलाई नै लक्षित गर्नेछन् । यस हिसाबले साना, परम्परागत प्रविधिमा चलेका र कम दक्ष कामदारहरू भएका कृषि उद्यमहरू बिस्तारै अस्तित्वको संकटमा पर्नेछन् ।

विश्वव्यापी प्रवृत्ति

कृषिमा वैदेशिक लगानीको मुद्दा नेपालमा मात्रै पेचिलो बनेको होइन । विश्वव्यापी रूपमा हेर्ने हो भने कृषि र सम्बद्ध व्यवसायका लागि हतपती वैदेशिक लगानी भित्र्याइँदैन । किनकि यो व्यवसाय लाखौं गरिब किसानहरूको रोजीरोटीसँग जोडिएको हुन्छ । राष्ट्रसंघीय खाद्य र कृषि संगठनको तथ्यांक हेर्ने हो भने सन् १९९७ देखि २०११ सम्ममा वार्षिक रूपमा कृषिमा वैदेशिक लगानी १.४ अर्ब अमेरिकी डलरबाट १.७ अर्बसम्म मात्र वृद्धि भयो । यसभित्र पनि अनेकौं उतारचढाव थिए । कुल वैदेशिक लगानीमा कृषि क्षेत्रमा भएको लगानी कुनैकुनै वर्षमा २ प्रतिशतसम्म पुगे पनि सामान्यतया यो ०.५ प्रतिशतभन्दा कम छ । भित्र्याउने प्रमुख मुलुकहरू चीन, अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, उरुग्वे, मलेसिया, रुस, ग्वाटेमाला, अमेरिका र भियतनामले अत्यन्त संवेदनशील भएर रणनीतिक रूपले मात्रै भित्र्याएका छन् । चीनको सन्दर्भ हेरौं ।

सन् १९८५ देखि कृषिमा वैदेशिक लगानी प्रकट रूपमा आएको देखिए पनि चीनमा पर्याप्त होसियारी अपनाइएको थियो । पहिलो, कृषिमा आश्रित उद्योगहरूको विस्तारमा सेवा पुगोस् भन्ने अभिप्राय थियो । ती उद्योगहरूमा उन्नत प्रविधिको आगमन कसरी हुन्छ भन्नेमा चिनियाँ अधिकारीहरू प्रस्ट हुन चाहन्थे । दोस्रो, चिनियाँ कृषिमा आधुनिकीकरणका लागि चाहिने आवश्यक कच्चा पदार्थको आपूर्ति तिनै वैदेशिक लगानी गर्ने कम्पनीहरूबाट हुनुपथ्र्यो । तेस्रो, चिनियाँ लगानीकर्ताहरू कहिलेसम्म विदेशीहरूले गर्न सक्ने लगानी र उत्पादनको गुणस्तरमा पुग्न सक्छन्, त्यसको प्रस्ट योजना हुनुपथ्र्यो । साथै विदेशी कम्पनीहरूले चिनियाँ श्रम बजारबाट कति श्रमिकहरूलाई रोजगारी दिन सक्थे, त्यसको पनि एउटा खाका तयार हुनुपथ्र्यो । यसले गर्दा चिनियाँ कृषिमा वैदेशिक लगानीले सुरुआती दिनदेखि नै उच्च प्रतिफल दिन थाल्यो ।

हामीकहाँ यस्ता दृष्टिकोणहरूको सर्वथा खाँचो छ । हाम्रा सरकार र नीतिनिर्माताहरू वैदेशिक लगानीले हाम्रो लगानीको कमीलाई पूर्ति गर्छ, नेपालीहरूले रोजगारी पाउँछन्, उत्पादनको निर्यात हुन गई विदेशी मुद्राको सञ्चिति बढ्छ भन्ने सैद्धान्तिक ज्ञानकै स्तरमा खुम्चिएका छन् । यसका गतिशील पक्षहरूमा खासै ध्यान पुगेको देखिँदैन । यही स्थिति सन् १९९० को दशकमा ल्याइएको आर्थिक उदारीकरणको पनि थियो । त्यो दशकको पूर्वाद्र्धमा नयाँ औद्योगिक नीति, नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, श्रम ऐन, विदेशी लगानीमा एकद्वार प्रणाली, नेपाली मुद्राको चालु खातामा पूर्ण परिवर्तनीयता र पुँजी खातामा आंशिक परिवर्तनीयताजस्ता नीतिगत सुधारहरू गरिए ।

तर नेपाली अर्थतन्त्रको आन्तरिक र बाह्य स्वरूप, यसको प्रतिस्पर्धात्मक क्षमता, श्रम र पुँजीको उत्पादकत्व, प्राथमिक आर्थिक गतिविधिहरूमा प्रविधिको स्तरजस्ता पक्षहरूमा दशकौंसम्म पनि परिमाणात्मक र गुणात्मक सुधारहरू भएनन् । अर्थतन्त्र विभिन्न पक्षमा खुला गर्नुपूर्व यसलाई आन्तरिक रूपले सबल बनाइनुपर्छ भन्ने सोच नीतिनिर्माताहरूमा त्यतिखेर पनि भएन र अहिले पनि छैन ।- कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]