०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

निषेधित प्रेम (कथा)

Logo
प्रकाशित शनिबार, भाद्र ०६, २०७७

  • भावना लुइँटेल

जीवनको २५ औं बसन्तमा म आफ्नो पढाइको सिलसिलामा अष्टेलियाको सिड्नी शहर पुगेको थिएँ । २५ वर्षको उमे सम्म आइपुग्दा जीवन कसैका लागि रमाइलो हुन्छ भने कसैका लागि अनुभवहरूको संग्रह । मेरा लागि भने अनुभवहरूको संगालो थियो । २५ वर्षको अनुभवले मलाई ३५ वर्षको बनाएको थियो ।

मेरो आफ्नै जीवनका अनुभवहरूको अलिखित कथाहरूको शब्द शब्द खोज्दै अपरिचित शहरमा परिचितताको सानो अंश खोज्दै एक क्याफेमा कफी पिइरहेको थिएँ एक्लै । आफ्नै जीवनको इतिहास लेख्ने एउटा ठूलो सपना मनमा बोकेर ।

त्यतिकैमा पल्लो टेबलमा कालो जिन्स पाइन्ट र सेतो भेष्टमा कफी पिईरहेको परिचितझै देखिने एक गहुँगोरो देखिने अनुहारमा मेरो आँखा केन्द्रित भयो । लगभग मेरै उमेरको । त्यसै त कालो रङ मलाई मन पर्ने । मैले उसलाई हेरिरहें एकछिन ।

उ एक्लै टोलाइरहेको थियो, हातमा कफीको कप बोकी । नितान्त एक्लै । त्यो रङ्गगमञ्च शहरमा ऊ एक बेरङ्गझै देखिन्थ्यो । मैले उसलाई एकछिन हेरें । लाग्यो उभित्र मेरो कथा छ । लाग्यो ऊ आफैमा एक कथा हो । मलाई उ पढ्न मन लाग्यो । उसको आफ्नै कथा पानापाना पल्टाएर ।

म उसको नजिक गएर बोलाएँ । सायद उ अर्कै दुनियाँमा थियो । पुनः बोलाएपछि झस्किँदै मपट्टि फर्केर अन्काउँदै बोल्यो, “हे..हे..लो..! !’
मैले उसको असहजतालाई सजिलै चिर्दै भने, “मे आई जोइन यू (के म तिमीसँग कफी पिउन सक्छु) ?
“सिओर (हुन्छ)’ भन्यो उसले ।
“प्लिज सिट (कृपया बस्नुस्)’ उसले कुर्सीतर्फ इसारा गर्दै भन्यो ।
मैले वेटरलाई दुई कप कफीको मेनु गर्दै उसँगको गफगाफ शुरू गरें । मलाई थाहा भइसकेको थियो ऊ नेपाली हो भन्ने ।

सायद उसलाई थाहा भइसकेको थिएन रहेछ म नेपाली भन्ने । अपरिचितझै अंग्रेजीमा कुरा गरिरहेको थियो । हुन पनि मलाई देखेर उसले नेपाली जस्तो ठानेन होला । गोरो छाला, पातलो जिउ, कलर गरिएको खुल्ला कर्ली खैरो कपाल, कालो रङको वन पिस अनि कालै कलरको हिल स्याण्डलमा हल्का हल्का मात्र मेकअप गरिएको लाम्चो अनुहार देख्दा र फरर अङ्ग्रेजी सुन्दा जोकसैको आँखाले पनि धोका खान सक्थ्यो । उसले अनकनाउँदै अङ्ग्रेजी बोलेको सुनेर मैले मुसुक्क हाँस्दै भने, “म पनि नेपाली हुँ ।’ अब उसको अनुहारमा आश्चर्यको भाव म प्रष्ट देख्न सक्थें ।

अब भने हामीबीच अनौपचारिक वार्ता शुरू भयो । उसलाई पनि विरानो शहरमा कोही आफन्त भेटे जस्तो आभाष भयो होला सायद । अनुहारमा खुशीको चमक देखिन्थ्यो । उ हाँस्दै कुरा गर्दै थियो ।
म भने उसको अनुहार पढ्दै थिएँ, अनिदा जस्ता देखिने सुनिएका आँखा, जरखरिएको कपाल, पीडा र अनुभवका थोरैथोरै धर्सा देखिने निधार, केही भन्न आतुरझै देखिने ओठ अनि जबरजस्ती हाँसो ल्याउन खोजेकोझै गहुँगोरो वर्णको मुहार । हामीबीच चिनजान भइरहेको थियो, कसरी अनि के उद्देश्य लिएर अष्ट्रेलिया आइपुगियो भन्नेबारे ।

“म पढ्नका लागि आएको, स्टुडेन्ट भिसामा, यहीं सिड्नीमा पार्टटाइम जब पनि गर्दैछु । लेख्ने काम पनि गर्दछु समाजका अलिखित कहानी, भावनाहरूलाई त कहिले आफ्नै जीवनका कथाहरूलाई साहित्यमा उतारेर ।

मनको बेदना पोख्ने मान्छे नहुँदा साहित्यमा उतार्ने गर्छु –मैले भनें ।
सायद यो भन्नु जरूरी थिएन तर उसको कथाको उत्खनन् चाहन्थे उसैको मुखबाट । मैले त्यति भनेपछि उसको मुहारमा आशातित बिन्दु छायो केही भन्न खोजेझै तर उ हिचकिचाइरहेको थियो । उसको हिचकिचाहटलाई सरल मनाउन मैले फ्रेन्डसिपको प्रस्ताव राखें र भने, ‘मलाई तपाईं हैन तिमी भन, जहाँ आफ्नोपन छ, न्यानोपन छ ।’
उसले पनि स्वीकार्‍यो । त्यो बिरानो शहरमा हाम्रो फेन्डसिपको शुरूवात रोचक लागिरहेको थियो मलाई । एकछिन शुन्यता छायो ।

केही बेरपछि उसले केही सहज हुँदै भन्यो, “म वास्तवमा भौतारिदै अष्ट्रेलिया आइपुगेको एक असफल यात्री हुँ, असफल प्रेमी ।’
अब भने मलाई केही पाएझैं लाग्यो । म केही बोलिनँ ।
ऊसले झोलाबाट एउटा डायरी निकाल्यो। जसबाट केही पाना निकाल्यो र भन्यो “यही हो एक असफल प्रेमिल यात्रीको कथा।“

उसले उक्त पानाहरू मलाई दिँदै भन्यो, “मेरो वास्तविक कथालाई साहित्यमा उतारिदिन आग्रह गर्दै म तिमीलाई यी पाना दिँदैछु । आजसम्म यो कथा उनी र म बाहेक कसैलाई थाहा छैन । म तिम्रो शब्दमार्फत मेरो खबर उनीलाई दिन चाहन्छु, मेरो हाल बताउन चाहन्छु । आशा गर्छु तिमी एक साथीको आग्रह इन्कार गर्ने छैनौं ।’
मैले सहजै स्वीकारे र उसको आशा बालुवाको पानी नहुने कुरामा पनि प्रतिबद्ध गराएँ ।

साँझ पर्न लागेको थियो । हामी फेरि भेट्ने बाचा गर्दै छुट्टियौं । मलाई भने कतिबेला कोठा पुगेर पढ्नु जस्तो भइरहेको थियो । कहिले कहिले त समय पनि कति मन्द गतिमा बग्छ ? अरू बेला १५ मिनेटको जस्तो लाग्ने बाटो आज दुई घण्टाको जस्तो महसुस भयो । कोठा पुगेर खाना बनाएर खाएपछि झोलाबाट उक्त पानाहरू निकालें । शुरूको पानाको माथिल्लो भागमा लेखिएको थियो P-A_+P:-S_. भित्तामा सिरानी ठाडो पारेर राखें । सिरानीमा टाउको ढल्काएर पढ्न थाले ।

शुरूको वाक्य लेखिएको थियो :- “मेरो असफल प्रेमिल कथा यसरी शुरू हुन्छ’ :-
म “अनुप“ । अनुप परियार । घर तेह्रथुमको फेदाप गाउँपालिका । म जन्मेको वि.सं २०५० साल चैत १५ गते । मेरो बाबा कपडा सिलाउने काम गर्नुहुन्छ । कामअनुसार जात र वर्ग निर्धारण गर्ने नेपाली समाजमा म दलित समुदायमा जन्मिएँछु जसलाई समाजमा तल्लो जात भनिंदो रहेछ । तर जन्मकै आधारमा मेरा बाबाआमाले मेरा सपना तुहाउन सकेनन् । सङ्घर्ष गरेर भए पनि पढाए । म सानैबाट पढाइमा तेजिलो । गाउँमा कथित ठूला जात भनिएकाहरूको छोराछारीभन्दा म पढाइमा अब्बल थिएँ ।

वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद, चित्रकला, कविता लेखनमा भन्दा एक कदम अगाडि हुनुका साथै म कक्षामा पनि सँधै प्रथम हुन्थें । गुरूहरूले सँधै मेरो तारिफ गर्नुहुन्थ्यो । जीवनमा केही गर्ने हौसला दिनुहुन्थ्यो । मेरो अब्बलताका कारण मैले गाउँकै हाईस्कुलमा कक्षा १२ सम्मको पढाइ निःशुल्क पढ्न पाएँ । कक्षा १२ मा पनि ८० प्रतिशत माथि ल्याएपछि मेरो पछिको पढाइमा लागि मेरा बाआमाले शहर पठाउने निर्णय गर्नुभयो । मोरङको विराट चोकमा मेरो ठूलोममीको घर थियो । मलाई त्यही राखेर सुकुना बहुमुखी क्याम्पस पढाउने निर्णय गर्नुभयो ।

विराटचोक बसेर म व्यवस्थापन संकाय प्रथम बर्ष पढ्न थालें । कलेज जाने आउने भइरहेको थियो । मेरा साथीहरू पनि बनिंदैथे । केटा साथीहरू भए पनि केटी साथी भने नजिकबाट बनाएको थिइनँ । मेरो स्कुले जीवनमा पनि म कोहीप्रति आकर्षित भइनँ । पछि थाहा भयो मेरो भाग्यमा अरू नै केही लेखेको रहेछ । कलेज जाने मेरा लुगाहरू अरू केटाको तुलनामा सामान्य हुन्थे । मलाई मेरो लुगाभन्दा सपना प्यारो थियो । सत्र अठार बर्षे अल्लारे जीवन, मनले एक सुन्दर केटी साथीको साथ खोज्दै थियो ।

साथीहरूले डेटिङ गएको सुनाउँदा मन कता कता रोमाञ्चित हुन थालेको थियो । मनले कताकता कल्पिन थालेको थियो ।
क्याम्पस जान थालेको नि एक हप्ता बितिसकेछ । दोस्रो हप्ताको आइतबार म सधैँझै बिहानै उठी एउटा कापी हातमा च्यापेर कलेज पुगे । आज कलेजको माहोल अरू दिनभन्दा अलिक फरक लाग्यो । सबै केटाहरू एक ठाउँमा झुरूप्प भएका थिए, होहल्ला गर्दै । म उनीहरूको छेउमा पुगें ।

“क्या राम्री यार..गर्लफ्रेन्ड बनाउन पाए त…’ एउटा भन्दैथ्यो ।
“बनाइस् गर्लफ्रेन्ड ? भाउजू भन् भाउजू….’

मलाई थाहा भयो अल्लारे साथीहरू केटीको कुरा गर्दैथे । पछि थाहा भयो उनी हाम्रो क्लासमा नयाँ आएकी केटी रहिछन् । पातलो जिउ, छिनेको कम्मर, लामो खुल्ला कपाल, बाटुलो अनुहार, लामो नाक, पातलो ओठ र निस्फिक्री हाँसो, साँच्चै नै राम्री थिइन् उनी । कक्षाका सारा केटाहरू कमिलाको ताँतीझैँ उनको पछि लागेर जिस्काइरहेका थिए । मसँग भने उनीसँग बोल्ने पनि हिम्मत आएको थिएन । उनी भने रिसाउँदै रातोपिरो भइरहेकी थिइन् । बेलाबेला याचनाको भावले मेरो मुखमा पुलुक–पुलुक हेरे जस्तो पनि गर्थिन् तर मैले पनि गर्नसक्ने केही थिएन केटाहरू त्यस्तै थिए ।

दुईटा विषय पढाइ भएपछि अरू नहुने भयो । मलाई भने यहिँ बसेर उनीलाई हेरिरहुँझै भएको थियो । सायद यसैलाई भन्छन् होला “पहिलो नजरमै बस्यो माया ।’
हामी सबै घर गयौँ । मेरो दिमागमा भने हरपल उनको याद आउन थालेको थियो ।

मंसिरको महिना विराट चोकलाई विहानीपख बाक्लो तुँवालोले छोप्न थालिसकेको थियो त्यसैले बिहान बेलुका निकै जाडो हुन्थ्यो । दिउँसो भने गर्मी नै हुने गर्दथ्यो । मेरो मनमा एकखालको हुडहुडी चल्यो विहान कलेजमा बोलेको केटीको नाम के होला ? त्यसै टहल्लिने बाहानामा म बाहिर घुम्न निस्के । मन शान्त पार्नु त के थियो र उनलाई देख्ने आँखाको तिर्खा थियो ।

म बिस्तारै बाटोमा हिंडिरहेको थिएँ । मात्र उनको एक झलकको आश थियो । त्यतिकैमा अकस्मात पछाडिबाट आवाज आयो “हेलो, ओ हेलो ! कस्तो नसुनेको होला ?’
मैले नजर देब्रेनिर मोडें । आँखालाई विश्वास भएन ।त्यहाँ उनी थिइन् सेतो कुर्ता र कालो सलवारमा स्वर्गकै अप्सराझैं ।
म निःशब्द भएँ केवल उनलाई हेरिरहें ।
उनले ठट्यौली मुडमा भनिन्, “के हेरेको लाटाले पापा हेरे जस्तो ?’ मिलेको दाँत देखाउँदै जिस्काउने मुडामा उनले भनिन् ।
म अकनकाएँ ।

“ओहो तिमी त बोल्न नि जान्दैनौं । छोड यो कुरा । बिहान मलाई किन हेल्प नगरेको केटाहरूले जिस्काउँदा ? तर तिमी मलाई राम्रो लाग्यो रियल्ली ।’
उनी एक्लै बोल्दै थिइन् म भने नाजवाफ ।

चञ्चल स्वभावले फेरि भनिन्, “ओहो म पागल, परिचय गर्न बिर्सेछु । म सेजल उपाध्याय उदयपुरबाट । उदयपुर गाईघाट । यही छेउमा डेरा बस्छु ।’ “अनि तिमी ?’
अनि पो थाहा भयो उनी डेरा बस्ने घर मेरो ठूलोमामुको घरबाट पल्लो घर रहेछ ।
मैले पनि हाम्रो बारेमा भनें ।

जसलाई एक झलक हेर्न हिंडेको थिएँ उसलाई बाटोमै भेटेपछि म अगाडि गइन । हामी सँगै घर फर्कियौ । घर आइपुगेपछि बाईबाई भन्दै बिहान आफूलाई कलेज जान डर लाग्ने हुँदा सँगै जाने प्रस्ताव राखिन् । मैले चाहेको पनि त्यही थियो मैले नि स्वीकारें । त्यो रात त बिहान हुने आशा र छटपटिमै बित्यो । उनलाई कस्तो भो कुन्नि ?

यसरी समय बित्दै गयो । हामी कलेज, घर जहाँ पनि सँगै हुन थाल्यौ ।पढ्न पनि सँगै भेला भएर पढ्ने गर्थियौ ।उ नी पनि पढाईमा तेज थिइन् । साहित्य लेख्ने, भाषण दिने, नाच्ने गाउने पनि गर्थिन् । समय बित्दै थियो । हामी भने झन् झन् नजिक हुँदै थियौं । उनी मेरो ठूलोममीको घरमा आउँथिन् भने म पनि उनको डेरामा जान्थे । हामी एकान्तमा बसेर घण्टौ कुरा गथ्र्यो।

एकअर्कालाई हेरेर अघाउँथिएनौं । कलेजमा साथीहरूले उनको नाम जोडेर जिस्काउँदा रमाइलो लाग्थ्यो उनी भने लजाउँथिइन् । मेरो मनमा उनी थिइन् मात्र उनी तर म डराउँथे । उनी एउटा कथित उपल्लो मानिने ब्राह्मण जातकी छोरी थिइन् । म समाजमा तल्लो मानिने दलित जातको । हाम्रो सम्बन्ध कसरी अगाडि बढ्न सक्छ ? के हाम्रो प्रेम समाजले स्वीकार्ला ? यस्ता कुराहरूले मन विचलित हुन थालेको थियो ।

मेरो पढाइ खर्च बा आमाले धान्दै हुनुहुन्थ्यो । परिवारको आर्थिक अवस्थामा कारण मैले आफैले कमाउनु पर्ने आभाष पनि हुँदै थियो । तर सेजलको अगाडि भने जबरजस्ती हाँसो ल्याउँथे । मेरो मन उदासीनताले भरिँदा पनि हाँसो छर्न सक्ने क्षमता थियो उनमा । म उनको हाँसोमा हराउँथे, उनको कुरामा हराउँथे, उनको चञ्चलता र पागलपनमा रमाउथे ।

यसरी नै फाल्गुन लाग्यो । निभ्न लागेको दियोमा तेल थपेझै एउटा गैर सरककारी संस्थामा जागिरको आवेदन खुल्यो । संस्थाको नाम थियो ग्रिन नेपाल, केन्द्रीय कार्यालय विराटनगर । प्रोजेक्टको नाम थियो “बालअधिकारका लागि हालेमालो’ पोष्ट फिल्ड एक्टिभिस्ट । शैक्षिक योग्यता कक्षा १२ उतीर्ण ।

म विराटनगर गएर जागिरको लागि आवेदन दिए सर्ट लिस्टमा नाम निस्कियो । जागिरको लागि एक्जाम लेखे लिखित परीक्षा पास भएँ । अन्तरवार्ता पनि पास गरें । ग्रीन नेपाल संस्थाले आधिकारिक रूपमा आफ्नो कर्मचारी हो भनेर नियुक्ति पत्र दियो । फागुनको १५ गतेबाट हाजिर शुरू गर्नु पर्ने भयो । मेरो कार्य क्षेत्र दक्षिणी मोरङको नौं वटा गाविसहरू थियो ।

फेब्रुअरी १४ अर्थात प्रेम दिवस, हरेक प्रेमिल जोडीहरूका लागि उत्सव । मेरो मनले सेजललाई प्रस्ताव राख्न भन्दै थियो तर उसको मनमा के छ ?मेरो बारेमा के सोचेकी छिन कुन्नि ? स्वीकारिनन् भने ?
म उसलाई गुमाउन चाहन्नथे । त्यसैले मनको कुरा मनमै दबाएर राखें । फेब्रुअरी १४ पनि आयो । हामी कलेज पनि गएनौं । म छटपटिँटै घरमा बसिरहेको थिएँ । मनमा आगोको झिल्का उठ्दै थियो । सेजलले फोन गरिन् जरूरी काम छ भनी कोठामा बोलाइन् । उनको स्वरमा उदासीनता थियो ।

मेरो मन अतालियो के पो भएछ कि भनी। म तत्कालै घरबाट निस्केर उनको कोठातर्फ गएँ । गएर अत्तालिदै सोधे के भयो भनी । उनको आँखामा आज चञ्चलता हैन हल्का लज्जा थियो, डराए जस्ती पनि देखिन्थिन् । हाँस्न हाँस्न खोजेझै उनले मलाई आँखा चिम्लन भनिन् । म छक्क पर्दै आँखा चिम्ले । अनि केही बेरपछि आँखा खोल्न भनिन् ।

आँखा खोल्दा म छक्क परेँ उनी हातमा रातो गुलाफको फूल लिएर उभिएकी थिइन् अनि भनिन् “आइ लभ यू अनुप, आई लभ यू सो मच ।’
मेरो त खुशीको सीमा रहेन ।जुन कुरा मैले भन्न डराएको थिएँ ।त्यो उनले भनिन् आज ।
मैले उनको हात समाउँदै भने “आइ लभ यू टू सेजल’ मेरा आँखाबाट आँशुका धारा बग्न थाले । उनले मेरो नजिक आई आँशु पुछिदिँदै भनिन्, “किन रून्छौ अनुप म छु त ।’ उनको सामिप्तामा म होस गुमाउँदै थिए ।सायद उनले पनि । त्यसपछि हामीले आफूलाई बिर्सियौ, समर्पित भयौं एकअर्कामा । बिर्सियौ आफूलाई ।

बिउँझदा साँझ परेको रहेछ । मैले उनलाई हेरें उनी लजाइन् । मलाई उनको लज्जा मनपर्‍यो । म मुसुक्क हाँसिदिएँ ।उनी झन् लजाइन् । त्यसपछि म भोलि भेट्ने बाचाका साथ घर गएँ । अनि यसरी शुरू भयो हाम्रो प्रेम कहानी ।

समय बित्दै गयो । म बिहान पढ्थें । दिउँसो अफिस जान्थे । सेजलले नोटहरू बनाएर हेल्प गर्थिन् । हामी फोनमा रातिराति घण्टौ कुरा गथ्र्यो । एसएमएस र च्याटमा पनि कुरा गथ्र्यो । एकपल पनि छुट्टिन गाह्रो भइसकेको थियो ।

हामी एकअर्का बिना बाँच्न नसक्ने भइसकेको थियौ । सेजल कुनै पनि जात, वर्ग हाम्रो मायाको बाधक बन्न सक्दैन भन्थिन् । संघर्ष गर्ने हिम्मत देखाउँथिन्, बरू म डराउँथे । उनी नै मेरो हिम्मत थिइन् । म उनीसँगै बाँच्न र मर्न चाहन्थेँ र उनी पनि । हाम्रो मायाको फूल फुल्दै थियो ।
यसरी नै बर्षा लाग्यो । कलेजमा बर्षे विदा भयो । म अफिसको काममा व्यस्त थिएँ ।

सेजल भने इटहरी फूपूको घर जाने भइन् । फुपुको घर इटहरी, सुनसरी । फूपूको श्रीमान मलेसिया जानुभएको नौ वर्ष भइसकेको थियो रे । अहिलेसम्म अत्तोपत्तो थिएन रे कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ ।फर्केर नै आउनु भएन छ । दिदी कुनै संस्थामा काम गर्नु हुन्छ भन्थिन् सेजल ।
फोन, म्यासेज र च्याटमा कुरा गरिहने बाचाका साथ उनी गइन् इटहरी ।

गएको दुई–तीन दिनसम्म त फोन, म्यासेज, च्याटमा कुरा भइराको थियो । तर केहि दिनपछि फोन गर्न छाडिन । न त फोन उठाउँथिन् । न त म्यासेज न त च्याट । अधिकांश समय मोबाइल स्विच अफमा हुन्थ्यो । अनलाइन पनि आएको थिइनन् । म अत्तालिन थालें । म डिप्रेसनमा जान थालें । उनमा अकस्मात आएको बदलावको कारण कैले बुझ्न सकिन । यसैगरी दिन बिते । मलाई अहिले नै इटहरी जाऊँ जस्तो हुन्थ्यो एक मनले ।

मेरो मन काममा जान छोड्यो न त पढाईमा । यसैगरी सात दिन बित्यो । म उसको फोनको पर्खाइमा हुन्थेँ तर फोन आएन । मिनेट मिनेटमा फेसबुक खोलेर म्यासेज हेर्थे तर म्यासेज आएको हुन्नथ्यो । न त कुनै फोटोहरू नै हालेकी थिइन् । मलाई राति निन्द्रा लाग्न छाड्यो । आँखाबाट आँशु मात्र बगिरहन थाले । हरबखत छटपटिन थालें ।मेरो हिम्मत र हौसला पलपल टुट्दै थियो ।
यसैगरी महिना दिन बित्यो । कलेज पनि लाग्न थाल्यो तर उनको अत्तोपत्तो भएन । मलाई कलेज पनि जान मन लाग्न छाड्यो ।

एक दिन अचानक फोनमा उनको म्यासेज आयो । खुशी हुँदै हेरे । म्यासेज थियो “डियर अनुप मलाई बिर्सिदेऊ । म अर्कैकी भइसकें ।’
मेरा आँखामा रिसको भावना पैदा भयो । त्यहि रिस घृणामा पैदा भई आँशु बनेर बग्न थाल्यो ।
कोठामा गएर म ह्वाँह्वाँ रोएँ । मन सम्हाल्न गाह्राे भएको थियो । अतीत आँशुमा बग्दै थियो निरन्तर । धोकेबाज धोका दिनु थियो भने किन मायाको नाटक गर्‍यौं ? तिम्रो जस्तो मन त मेरो थिएन । मेरो भावनासँग किन खेल्यौ ? किन ? आखिर किन ?के पायौ मलाई पीडा दिएर ? बरबराउन थालेछु ।

भदौमा फाइनल परीक्षा थियो तर मेरो पढाइ बिग्रँदै थियो ।
भदौको पहिलो हप्ता सिमसिम पानी परिरहको थियो । म त्यसै पानी झरीमा भौतारिँदै थिएँ । कसैले पछाडिबाट बोलाएको आवाज आयो । मलाई फेरि उही धोकेबाजको याद आयो । पल्लो घरको भाइ रहेछ ।उसले मेरो नामको एउटा चिट्ठी दिएर गयो । यो प्रविधिको युगमा चिट्ठी कसले पठाउला ? को हुन सक्ला ?सोच्दै नाम हेरें ।
उनको नामको चिट्ठी थियो । मेरो मुटु ढुकढुक भयो । आखिर धोका दिएर गएपछि चिट्ठी पठाउन के जरूरी ? एक्लै बरबराएँ । हतारसँग घर गएर चिट्ठी खोलेर पढ्न थालें ।

२०७५–०४–२८
इटहरी, सुनसरी

डियर अनुप,

तिम्रो याद आइरहेछ । हरपल सम्झिन्छु तिमीलाई तर कसैसँग भन्न सक्दिन । रून्छु एक्लै एकान्तमा । तिम्रो यादले सिरानी भिज्छ । तिमीले त मलाई धोका दिएँ भन्ने सोच्यौ होला तर वास्विकता त्यस्तो हैन । मलाई फसाइयो, मलाई लुटियो । बाध्य बनाइयो अर्काको बन्न । रहरले हैन करले अर्कैकी भएँ म ।

जसलाई मैले आफ्नो सोचें उहाँ नै मेरो दुस्मन हुनु हुँदोरहेछ चिन्न सकिन । थाहा छ अनुप म यहाँ आएपछि के के भयो मेरो साथ ? आज म भन्छु सुन । यहाँ आएपछि तीन दिनसम्म तिमीसँग सधैझै कुरा भइरहेको थियो । मेरो फूपूदिदीलाई पहिले नै हाम्रो बारेमा थाहा रहेछ । मलाई फोनमा बोलेको देखेपछि केरकार गर्नुभयो ।

मैले पनि हाम्रो बारेमा सबै भने तर दिदीले बाहुनको छोरीले दलितको छोरासँग प्रेम गर्न मिल्दैन । बिहे गर्न पनि मिल्दैन । हाम्रो संस्कार मिल्दैन । स्तर मिल्दैन । जात मिल्दैन । कुरा बाहिर गयो भने घरको इज्जत जान्छ भनेर मान्नु भएन । मैले पनि जिद्दी गरिरहें । हाम्रो धेरै भनाभन भयो । दिदीले त धम्कि पनि दिनुभयो । अनि मेरो मोबाइल पनि खोसिदिनु भयो । तिमीसँग कुरा गर्नसक्ने मेरो माध्यम हरायो ।

त्यसपछि एक दिन दिदीले राम्रो घरको खान्दानी केटा हो मसँगै संस्थामा काम गर्छन् भनी एक जना मान्छे घरमा ल्याउनु भयो । कुरा मिले बिहे गरिदिने कुरा दिदीको थियो । म मनमनै रूदै बाहिर हाँस्न खोज्दै थिए । त्यो मान्छेसँग दिदीले चिनजान गराउनु भयो । उसको नाम बिनय सापकोटा । मसँग परिचय भएपछि त्यो मान्छे दिनहुँ दिदीको घरमा आउने, घण्टौं बस्ने, मसँग नजिकिन खोज्ने गर्दथ्यो ।

यत्तिकैमा एक दिन दिदीले मलाई संस्थाको पार्टी छ । नानी आज हामी पार्टीमा जानू पर्छ है भन्नु भयो । मैलै नाईं भन्न सकिन । दिदीको कुरा स्वीकार गरें । हामी साँझको ५ बजेतिर दिदीकोबाट हिंड्यौ । केही पर पुगेपछि दिदीले मलाई बिहे गर्नुपर्छ भनेर प्रस्ताव राखेको केटा बिनयसँग भेट भयो । हामी सँगै गयौं । म त्यहाँ बिल्कुल नयाँ थिएँ । दिदीले सबैसँग चिनजान गराउनु भयो ।

सबै हार्डबाट लियौ भन्न थाले । म भने नाजवाफ ! दिदीले मेरो बिहेको लागि प्रस्ताव राखेको मान्छे मेरो दाहिने साइडमा थियो र दिदी देब्रे साइडमा । त्यस मान्छेले भन्यो “तपाईं पनि सफ्टबाट एक प्याक लिनुहोस् । “मैले अस्वीकार गरेर जुस खाने निधो गरें । सबै मदिरापानमा मस्त म भने एकातिर छुट्टै संसारमा । बिनयले एक हातमा आफूलाई र एक हातमा मलाई मदिरा लिएर आयो । मैले खान्न भनेर कोशिस गरे तर दिदीले पनि जिद्धी गरेर मलाई खान बाध्य गराइयो । खाएपछि मलाई चक्कर आउन थाल्यो । टाउको दुख्न थाल्यो ।

त्यसपछि के भो मलाई थाहा भएन । बिहान उठ्दा म नग्न सुतिरहेको थिएँ । मलाई आफू लुटिएको थाहा भयो । म रोएँ, चिच्याएँ तर कसैल सुनेन । म पूरा योजनाबद्ध रूपमा फसाइँए । तिमीलाई पत्याउन गाह«ो होला तर मेरै फूपूदिदीले मलाई बेचेकी रहिछिन् बिनयले भन्यो । त्यो केटा दिदीको सेक्स पार्टनर रहेछ पहिले बाटै । अनुप ! मलाई पहिलो पटक आफन्त हुँदामा घृणा लाग्यो । दिदीले त्यहि बेला दिदी म रहेको कोठामा आउनु भयो र निर्धक्क भन्नु भयो नानी अब हामी जाऔं मलाइ अफिस जान ढिला हुन्छ । म केही बोल्न सकिन । हामी त्यहाँबाट हिंड्यौं ।

यति जान्दा पनि मैले हिम्मत हारिनँ । विराटचोक फर्किन आँटेको थिएँ । मलाई बिनयले भन्यो, “त्यस रातको भिडियो खिचेको छ ।’ यस कुरालाई लिएर कतै उजुरवाजुर गरे यूट्युबमा भिडियो हालिदिने धम्की दियो । तर पनि मलाई दुनियाँको लागि हैन तिम्रो लागि बाँच्नु थियो । दुनियाको सरोकार थिएन मलाई । सरोकार तिमीसँग थियो ।

मैले विराटचोक फर्कने अठोट गरिसकेको थिएँ । बिनयले मलाई धम्की दियो । पुलिस केस गरिस भने र सुनसरी छोडेर गइस् भने तँलाई एसिड खन्याएर मारिदिन्छु भनी । दिदीको आश थियो तर दिदी नाम मात्रको कलंक भएपछि मैले आफैसँग हारें । बिनयले मलाइ यस्तो धम्की दियो कि ऊ एचआइभी पोजिटिभ मान्छे हो र म पनि अब एचआइभी पोजिटिभ भइसकें भन्ने । मैले विश्वास गरिन । मेरो विराटचोक आउन उठेका पाइला रोक्न जाल बिछ्याए जस्तो लाग्यो । तर मलाई त्यहाँबाट एक पाइला पनि अगाडि बढ्न दिइएन । धम्की दिई बस्न बाध्य पारियो ।

उ दिदीकहाँ आएर मलाइ शारीरिक सम्पर्क गर्न जबरजस्ती बाध्य बनाउने गथ्र्यो । दिदीलाई भने यो सब कुराको वास्तै थिएन ।आफ्नी भदैनीको शारीरिक शोषण आँखै अगाडि भइरहँदा पनि उहाँलाई सरोकार थिएन । आत्महत्या गरौं भने नि दुनियाँले थुक्छ । जिउँदो लास भएर बिनयको विलासको साधन भएर म बाँचे । तर म कुहिरोको काग बनी सकेको थिएँ । एकातिर तिम्रो माया अर्काे तिरको नारकीय जीवन ।

१० औं दिनसम्म जिउँदो लास बनेर बाँचेको थिएँ । त्यसपछि अचानक मेरो टाउको दुख्न थाल्यो । अचानकसँग शरीर थाक्न थाल्यो । दिनहुँजस्तो हल्का ज्वरो आउन थाल्यो । बिनयले मलाई भन्यो, “हेर त पनि एचआइभी पोजिटिभ भइसकिस । यो कुरा कसैलाई नभन । हामी अब सँगै जीवन विताउनु पर्छ । मैले सोचे मलाई फसाउन यो मान्छेले यो सबै भनिरहेको छ भनेर । मलाई केही भएको छैन भन्नेमा म आफ्नो मनलाई बलियो बनाईरहेको थिएँ ।

म मा समस्या धेरै आउन थालेपछि दिदी र बिनयले मलाइ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल धरान लिएर गए । डाक्टरको सामु बिनयले मेरो श्रीमती भन्यो र मलाई पनि श्रीमान भन्न लगायो । त्यसो नभने भने हामीलाई रोगको बारेमा डाक्टरसँग परामर्श गर्न गाह्रो हुन्छ भन्यो । एक दिन पछि रिपोर्ट आयो । ममा एचआइभी पोजिटिभ देखायो ।

म छाँगाबाट खसे । मैले दिदी र बिनयलाई हेरें पालैपालो र मनमनै सोचे तिमीहरूले मेरो जीवन सकिदियौ । उनीहरूले मलाई डाक्टरको परामर्शको लागि लिएर गए । अनि पहिले बिनय एचआइभी पोजिटिभ भएको कुरा डाक्टरले भन्दै भने “बिनयजी तपाईंले बिहे गरेपछि तपाईं हाम्रो परामर्शमा आउनु भएको भए तपाईको श्रीमतीलाई एचआइभी नेगेटिभ नै राख्न सकिन्थ्यो । अब समय बितिसक्यो तर पनि केही छैन ।’

अनि मतर्फ फर्कदै भने, “सेजलजी तपाईले नियमित एआरटी लिनुपर्ने हुन्छ । तपाईको श्रीमानले पनि विगत दुई बर्षदेखि एआरटी हाम्रै परामर्शबाट लिँदै हुनुहुन्छ । अब तपाईं आफू सचेत हुनुपर्छ । यदि तपाईले अब अरूसँग सम्पर्क राख्नु भएमा तपाईको रगत र शारीरिक सम्पर्कबाट एचआइभीको भाइरस उसमा पनि सर्दछ र उसमा पनि पोजिटिभ देखिनेछ । त्यसैले अरूलाई बचाउन अब तपाईं आफै सचेत हुनुपर्छ ।’

डाक्टरसँगको लामो संवाद पछि जलेर खरानी भएको भारी मन लिएर हामी त्यहाँबाट इटहरी फर्कियौं । म मर्न मात्र सकेको थिइन । त्यतिबेला त लाग्यो कि म विष पिएर मर्छु कि त फ्यानमा झुन्डिएर । फेरि तिम्रो निर्दोष मुहार जति बेलै झलझली आँखामा आयो । फेरि मैले आत्महत्या गरेमा दुनियाँले र तिमीले पनि मलाई नै दोषी ठहर्‍याउने थियौं । जे सबै भयो त्यसमा तिम्रो मे दोष थियो र ? मसँग अब उसँग बिहे गर्नुको बिकल्प रहेन । मैले बिहेको लागि स्वीकारे । जुन अनुहारलाई म दुनियाँमा सबैभन्दा बढी घृणा गर्थे, उसैसँग जीवन बिताइरहेको छु । पलपल मरिरहेको छु म यहाँ एकएक क्षण मरिरहेको छु ।

मैले तिमीसँग गरेको बाचा पूरा गर्न सकिन अनुप । मलाई माफ गरिदेऊ । तिमीलाई मैले धोका दिएको छैन । जीवन यसरी बितिरहेछ कि शरीर एउटासँग मन अर्कैसँग । यो जूनी यसरी नै बित्ने भयो मेरो । साँच्चै भनौ भने म जिउँदै मरिरहेको छ, सास चलिरहेछ तर म आत्महत्या गरिरहेको छु दिनहुँ । मेरो जीवनमा आफ्नैले खुनको सम्बन्धमा स्वार्थ र धोकाको बिज छरेपछि पलपल आत्महत्या भयो मेरो भावनाको, मेरो इज्जतको, मेरो सम्मानको । मेरो शरीर त चलिरहेछ तर आत्मा मरेपछि आत्महत्या भयो ।
मेरो मनको सहारा अन्जु पन्तको एउटा गीत भएको छ ।यो गीत मेरै लागि गाईएको जस्तो लाग्छ । “माया एउटासँग बिहे एउटासँग, यस्तै रहेछ भाग्य लेख्ने नियम देउतासँग ।’

उही तिमीलाई माया गरिरहने
सेजल

चिट्ठी पढिसक्दा मेरा आँखाबाट आँशुको समुन्द्र बगिरहेको थियो । मैले कसरी मेरी सेजलको विश्वास गरिन ? किन धोकेबाज सम्झें ? आफूबाटै घृणा लाग्यो त्यसबेला । ।रातभरि रोएँ । एक हप्तापछि परीक्षा थियो । मुटु नराम्ररी टुक्राटुक्रा बनेको थियो । राम्रो गर्न सकिन परीक्षा । काममा पनि मन गएन । जागिर छोडें । अनि पढाई पनि छोडेर घर गएँ । बाआमाको सामु पुग्दा केही मन शान्त भए जस्तो भयो । आमाको काँधमा टाउको राखेर धेरै रोएँ ।

घरमा पनि काममा मन लागेन ।जहाँ पनि सेजलकै तस्बिर, सेजलकै छायाले पछ्याउँथ्यो । बा आमाको, गुरूहरूको मप्रतिको आस्था र मेरो सपना क्षण क्षणमा धराशयी हुँदै जाँदा मलाई केही गर्नु पर्छ भनेर मनले अह«ाउँथ्यो त्यसपछि केही गर्ने अठोटका साथ काठमाडौं गएँ । मलाई अतीतबाट टाढा भाग्नु थियो तर याद आइरहन्थ्यो । नेपालको माटोसम्मले उसँग जोडिएको यादको गन्ध दिन्थ्यो । मैले अष्ट्रेलिया जाने निधो गरें ।

गाउँको अलिकति जग्गा बेचेर अठार लाख तिरेर म अष्टेलिया आएँ उनीबाट टाढा भाग्दै तर शरीर टाढा भएर मात्र नहुँदो रहेछ । आज पनि हरपल उनको याद आउँछ । कहाँ छिन के गर्दैछिन् । उनको मायाले पाइला पाइलामा लखेटी रहन्छ । उनको पागलपन, नादानीपन, चञ्चलता याद आउँछ । मान्छेले कर्मले जीवन फेर्न सक्दो रहेछ तर अतीतका यादहरू फेर्न नसक्दो रहेछ ।

मैले अर्कोपट्टि पल्टाउन खोजें तर पाना सकिएछ । मेरा आँखाबाट त अविरल आँशुका धारा बगिरहेका रहेछन् ।

साँच्चै कोही आफन्त नामका मात्र हुन्छन् । भित्रभित्र आफ्नो स्वार्थसिद्धीका आफ्नैका गला घोट्छन् तर दुनियाँको आँखामा सम्बन्धको पर्खालले बाँधिदिन्छन् र आफ्नो कर्तुत सजिलै ढाकिदिन्छन् । रगतको साइनो, आफन्तपन कसैका लागि बरदान त कसैका लागि अभिशाप बनिदिन्छ । अनि कसैका लागि आफ्नै आफन्तलाई कुवामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने र अगाडि बढ्ने सजिलो बाटो । आफन्तको धोकालाई कति सजिलै ढाकिदिन्छ “सम्बन्ध“ नामको जंजालले दुनियाले देख्नै नसक्ने गरी र पत्याउनै नसक्ने गरी । ‘सम्बन्धहरू आजकल कर्तुत ढाकछोप गर्ने माध्यम बनेका छन् ।’

मलाई पनि मेरा आफ्नाले गरेको धोकाको याद आयो । आँशु केही गरे थामिएनन् । अनुप र सेजलको कथाले मनभित्रै छोयो ।

आँशुको साथमा नै मैले पुरै पाना पढिसकेछु । मलाई अझै पनि जान्न मन थियो यी दुईको कथा । मन त अहिल्यै नै भेट्न छटपटियो तर त्यो सम्भव थिएन । मसँग अनुपको फोन नम्बर त थियो तर यति राति फोन गरेर सोध्नु उसको घाउ कोट्याउनु हो जस्तो मात्र हुन्छ उसलाई पीडा हुन्छ भन्ने सोचें र फोन गरिनँ । तर उज्यालो कतिबेला हुन्छ भनी मन छटपटाईरहेको थियो । डायरी टेबलमा राखी एक गिलास पानी खाएँ । बत्ती निभाएँ । अनि सिरक तानी आँखा चिम्लिएँ । अँध्यारो कोठाले अर्को कथा पानामा लेख्दै थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]