०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बलात्कार रोक्न सामाजिक अनुसन्धान

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

नमिता पौडेल
कोरोना महामारीमा अबोध बालिकाहरू बलात्कृत भएका समाचार आइरहे । बलात्कारीले आजीवन काराबासको सजाय पाए भन्ने समाचारचाहिँ त्यति पढ्न पाइएको छैन ।

बालिकाहरू घरबाहिर हिँडडुल गर्दा सुरक्षित महसुस गर्न कहिले पाउँछन् र बालिकालाई सुरक्षा दिने समाज बनाउन के गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर अनुसन्धानबाट पाइएला तर यस्ता घटनासम्बन्धी अनुसन्धान गर्ने संस्था नेपालमा कम छन् । बलात्कारीहरूलाई राज्यले नै संरक्षण गरिरहेको छ ।

बलात्कार बढ्नुको पछाडि लैंगिक विभेद प्रमुख कारक तत्त्व हो । यहाँ महिला भएकै कारण हरेक कुरामा पुरुषको अधीनमा रहनुपर्छ । समाजका मूल्य–मान्यता र संस्कार महिलामैत्री छैनन् । फलस्वरूप महिला पुरुषको तुलनामा आर्थिक, राजनीतिक र भावनात्मक रूपमा कमजोर छन् । छोरी सानो छँदा बुबा, वयस्कमा श्रीमान् र वृद्धा हुँदा छोरोको अधीनमा रहनुपर्ने मान्यताले महिलालाई आश्रित बनाइरह्यो । घरबाहिर सकभर ननिस्किने, निस्के पनि ‘कसैले केही भन्दा मुख नफर्काउनू है’ भन्ने संस्कार पाएर हुर्केका महिला सधैं डरमा बाँचे । यसले अन्यायविरुद्ध लड्नुको सट्टा चुप रहन सिकायो । छोरीले थोरै खान्छन्, त्यसैले शारीरिक रूपले छोराभन्दा कमजोर हुन्छन् भन्ने सुन्दै छोरीहरू हुर्किए, जसले गर्दा शारीरिक रूपमा कमजोर भए पनि नभए पनि उनीहरूले आफू कमजोर भएको भ्रम पालेर बसे । भइपरिआउने घटनाका लागि तयार हुन सकेनन् ।

मानसिकता परिवर्तन गर्नुको सट्टा अझै पनि समाजले छोरीले लगाएको छोटो लुगा र रातो लिपस्टिक परिवर्तन गर्न खोज्छ । ‘मर्द’, ‘पुरुषार्थ’ जस्ता शब्दले महिला शोषणलाई उक्साइरहेका छन् । प्रेम प्रस्ताव स्वीकार नगर्ने महिलालाई ‘उठाएर ले, एसिड हान्दे, जबर्जस्ती गर्, पेट बोकाएर छोड्दे’ जस्ता संवाद कतिपय सिनेमामा प्रयोग भइरहेका छन्, जसले पुरुषहरूलाई दुरुत्साहन गरिरहेको छ । उता महिलालाई भने ‘तिमी सावधान हुनुपर्छ’ भनेर सिकाइएको छ । लैंगिक समानता नभएसम्म बलात्कारी जन्मिरहन्छन् ।

मानिसको आचरण उसकै वरिपरिको वातावरणले निर्माण गर्छ । व्यक्तिको सोच पनि समाजले बनाउँछ । बलात्कार कम गर्न परिवारले दिने अनौपचारिक ज्ञान र औपचारिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । विश्वव्यापीकरणसँगै हाम्रो समाज विश्वव्यापी प्रविधिसँग जोडियो । इन्टरनेट र स्मार्ट फोनको विस्तारसँगै पोर्नोग्राफी सर्वसुलभ भयो । अश्लील भिडियोहरूमार्फत पुरुषले आफ्नो शारीरिक आवश्यकता जसरी पनि पूरा गर्नुपर्छ भन्ने सिकिरहेका छन् । समाजले त्यस्ता पुरुषहरूलाई ‘शारीरिक आवश्यकता आपसी सहमतिमा पूरा गर्नुपर्छ, जबरजस्तीमा हैन’ भन्ने ज्ञान दिन सकेको छैन । अश्लील भिडियोमा रोक लगाउनु समाधान हैन, पुरुषहरूको सोचाइलाई सुधार्नुपर्छ । पश्चिमीकरणले निम्ताएको पोर्नोग्राफी मात्रै सायद बलात्कारको कारक होइन । यौनसम्बन्धमा सहमति र स्वतन्त्रता चाहिन्छ भन्ने कुरा पनि हरेक व्यक्तिले बुझ्नु जरुरी छ ।

महिलामाथि हुने विभेदलाई श्रमका आधारमा पनि व्याख्या गर्न सकिन्छ । महिलाले बच्चा हुर्काउनु र भान्छाको काम गर्नुपर्छ भनिन्छ, हाम्रो समाजमा । साधारण मानिसको चेतनामा यो बसेको छ— घरमा पाहुना आए छोरा गफ गरेर बस्नुपर्छ, छोरी भान्छातिर लाग्नुपर्छ । धेरैजसो बलात्कार महिलाघरमा एक्लै परेको मौका छोपी हुने गरेका छन् । र, महिलाले त्यसको प्रतिकार गर्ने आँट गर्न सकेका छैनन् । बसाइँसराइ, वैवाहिक जीवनमा खटपट/डिभोर्स, सांस्कृतिक विभिन्नताजस्ता कारण बलात्कार बढिरहेका छन् ।

हालै बैतडीमा ५ वर्षीया बालिकाको बलात्कार भयो । उनलाई काखीमा च्यापेर घरबाट बोकेर हिँड्ने व्यक्ति ‘डिभोर्सी’ थिए । यद्यपि उनी नै बलात्कारी रहेको प्रमाणित भइसकेको छैन । पीडित परिवार कारबाहीको माग राखी सरकारी निकाय चहारिरहेको छ । बलात्कारी पक्राउ परे पनि सजाय पाउँछन् कि पाउँदैनन्, भविष्यले बताउला । तर, अलिक दिनमा यो घटना सबैले बिर्सिन्छन् । घटनालाई पछ्याउँदै समाचार आउन छोड्छ । फेरि अर्को घटना दोहोरिन्छ अनि सामाजिक सञ्जालमा ‘बलात्कारीलाई फाँसी दे’ भन्दै आक्रोश पोखिन्छ ।

गत साउनदेखि मंसिरसम्म १० वर्षमुनिका १३४ बालिका बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । तर, बलात्कारीले सजाय पाएको तथ्यांक बाहिरिएको छैन । किन बलात्कारीले सजाय पाउँदैनन्, यसमा कसको कमजोरी छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । कुन मनसायले पुरुषलाई बलात्कारजस्तो जघन्य अपराध गर्न प्रेरित गर्छ र त्यसका सामाजिक कारण के–के हुन् भन्नेबारे पनि खोजी हुनुपर्छ । यस्ता प्रश्नको उत्तर प्रहरी अनुसन्धानले मात्र दिँदैन, त्यसका लागि घटनाको प्रकृतिअनुसार बृहत् सामाजिक अनुसन्धानको खाँचो पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]